• १२ असार २०८१, बुधबार

ताप्लेजुङका मतदाता नब्बे हजार

blog

ताप्लेजुङ, भदौ ९ गते । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा मतदाताको सङ्ख्या साढे नब्बे हजार बढी हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा कूल मतदाताको सङ्ख्या ९० हजार ६४०  हुने भएको हो । 

सदरमुकाम फुङ्लिङमा बुधबार आयोजित अन्तरक्रियामा ताप्लेजुङमा गत साउन १९ गतेसम्म दर्ता भएको फोटोसहितको मतदाता नामावली अनुसार उक्त सङ्ख्या कायम रहेको छ । यद्यपि, दावी विरोधसहित अद्यावधिकको कार्य हुन बाँकी रहेकाले मतदाताको सङ्ख्या केही घट्नसक्ने जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी खनालले पछिल्लो तथ्याङ्कमा महिलाभन्दा पुरुष मतदाताको सङ्ख्या छ हजार बढी रहेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार कुल मतदातामध्ये ४८ हजार २१८ पुरुष छन् भने ४२ हजार ४२२ महिला मतदाता रहेका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा ८९ हजार ६८० मतदाता रहेका थिए । 

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनपछि गत असार १ गतेदेखि साउन १९ गतेसम्म मतदाता नामावली दर्ता तथा सङ्कलन गरेको थियो । करिव डेढ महिनाको अवधिमा एक हजार ८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । पछि नयाँ दर्ता भएकासमेत जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा ४९ हजार ७८९ र क्षेत्र नं. १ (ख) मा ४० हजार ८५१ मतदाता भएका छन् । 

यता जिल्ला निर्वाचन कार्यालयले हाल दर्ता कायम रहेको मतदाता विवरण र दावी बिरोधसहित अद्यावधिक कार्य गर्ने विषयमा जानकारी गराउने उद्देश्यले बुधबार आयोजित अन्तक्र्रियामा अद्यावधिक कार्यमा सघाउन राजनीतिक दल तथा स्थानीय तहका पदाधिकारीलाई जिल्ला निर्वाचन अधिकारी खनालले आग्रह गर्नुभयो । नामावली अद्यावधिकअन्तर्गत त्रुटी सच्याउन र मृत्यु भएकाहरुको नाम हटाउने हटाउने कार्यमा सहयोग गर्नुपर्ने उहाँले भनाइ छ ।

यस अवधिमा नयाँ नाम दर्ता र स्थानान्तरण गर्न भने पाइने छैन । जिल्ला निर्वाचन अधिकारी खनालले नामावलीमा नाम दर्ता रहेको र मङ्सिर ३ गतेसम्म उमेर १८ वर्ष पूरा हुने मतदाताले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन पाउने पनि जानकारी दिनुभयो । यसअघि २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा ७८ हजार ३९७ मतदाता रहेका थिए । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।