• ८ मंसिर २०८१, शनिबार

जलविद्युत्मा बढ्यो चासो

blog

काठमाडौँ, साउन २९ गते । पछिल्लो समय जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको चासो बढेको छ । वित्तीय क्षेत्रमा तरलता अभाव र विदेशी मुद्रा सञ्चति दबाबमा परेको भए पनि लगानीकर्ता नयाँ आयोजना बनाउन अध्ययन सम्पन्न गरी निर्माण अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएका हुन् । 

विभागमा २०६८ असोजदेखि परेका ६१ यस्ता आवेदनको सूची छ तर २०७९ पछि मात्रै २४ ठूला साना आयोजना निर्माणका लागि अनुमति माग गरिएको छ । विभागमा निर्माण अनुमति माग्नेमा नेपाल विद्युत् प्राधिकरणदेखि साना प्रवद्र्धकसम्म छन् । कुल पाँच हजार ७०१ मेगावाट क्षमताका आयोजना निर्माण अनुमतिको प्रतीक्षा सूचीमा छन् । यसमध्ये वैशाखयता मात्रै एक हजार १५६ मेगावाट क्षमताका आयोजनाका लागि आवेदन परेको हो ।

हालसम्म सात हजार दुई सय मेगावाटभन्दा ठूला आयोजनाले विद्युत् उत्पादन अनुमति पाइसकेको छन् । नेपालको विद्युत् भारतीय बजारमा उच्च माग देखेपछि बजार थप सुनिश्चित महसुस गर्दै प्रवद्र्धक लगानी गर्न उत्साहित भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष कृष्ण आचार्यले बताउनुभयो । “नेपालको बिजुली खेर जान पाउँदैन भन्ने मनोबलले लगानीकर्तामा उत्साह छ, बजार पहुँचमा एकाधिकार अन्त्य भयो भने यो उत्साह अझै बढ्छ,” उहाँले भन्नुभयो । आचार्यका अनुसार विद्युत्काे आन्तरिक र निर्यात व्यापारमा निजी क्षेत्रलाई अनुमति दिने हो भने आयोजना निर्माणमा अझै तीव्रता आउनेछ । निजी क्षेत्रले नै विद्युत् खरिद बिक्री गर्ने वातावरण बने निर्यात अझै मौलाउने अपेक्षा उहाँको छ । अहिले नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्जमा खुला बजारमा ३६४ मेगावाट विद्युत् नियमित निर्यात गरिरहेको छ । यसबाहेक अन्य समझदारीका आधारमा पनि विद्युत् निर्यात भइरहेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार गत वर्षजस्तो यस पटक विद्युत् खेर जाने अवस्था आएको छैन । “उत्पादित सबै बिजुली मुलुकभित्र खपत र त्यसपछि भारत निर्यात भएकाले खेर गएको छैन । स्वदेशी खपत विस्तार र निर्यात पनि बढ्दै जाने भएकाले लामो भविष्य आकलन गरेर नयाँ आयोजना पनि थप्दै जानुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।

यसै वर्ष आवेदन दिनेमा निजी प्रवद्र्धकका अतिरिक्त नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनीजस्ता सरकारी कम्पनीको पनि पनि छन् । विद्युत् उत्पादन कम्पनीले यसै वर्ष मात्रै ५३ मेगावाटको किमाथाङ्का अरुण र ५० मेगावाटको फुकोट कर्णाली आयोजना छन् । प्राधिकरणले पनि ५१ मेगावाटको चैनपुर सेती जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेका छन् । आवेदन दिने निजी कम्पनीमा मन्दाकिनी हाइड्रो, सुपर घलेम्दी, युनियन हाइड्रो, बुटवल पावर कम्पनीजस्ता प्रवद्र्धक छन् । 

कतिपय ऊर्जा उद्यमी भने अहिले वित्तीय क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव र विदेशी मुद्रा सञ्चतिको अभाव बढ्दो रहेकाले नयाँ आयोजना निर्माण गर्न ठूलो सकस छ । ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले भन्नुभयो, “लगानीयोग्य रकम नभएर निर्माणमा प्रवेश गरेका आयोजनाले सम्झौताअनुरूप ऋण नपाएको अवस्था छ । आर्थिक अवस्था सामान्य अवस्थामा नआएसम्म नयाँ आयोजना निर्माण लैजान सकिँदैन ।”