• १४ चैत २०८२, शनिबार

सप्तरीमा हावाहुरीसहितको वर्षाले गहुँबालीमा क्षति

blog

खेतमा लगाइएको गहुँबाली ।तस्बिरः विनय कर्ण ।

विनय कर्ण

राजविराज (सप्तरी), चैत १४ गते । शुक्रबार राति भएको वर्षाका कारण सप्तरीमा गहुँबालीमा क्षति पुगेको छ । किसानले गहुँबाली भित्र्याउने मुख्य समयमा हावाहुरी र वर्षा भएपछि बालीमा नोक्सानी पुगेको हो । एक साताको अवधिमा दुई पटकसम्म भएको हावाहुरी र वर्षाले बाली भित्र्याउने तयारीमा रहेका किसान चिन्तित बनेका छन् ।

सप्तरीमा धानपछि सबैभन्दा बढी उत्पादन हुने दोस्रो बाली गहुँ हो । भित्र्याउने बेलामा पानी परेकाले गहुँबाली खेतमै नोक्सान भएको विष्णुपुर गाउँपालिका–१ का किसान इन्द्रदेव ठाकुरले बताउनुभयो । उहाँका अनुसार कात्तिकमा भएको वर्षाका कारण ढिलो गरी बिउ छरिएकाले यस पटक चैत अन्त्यतिर मात्र बाली भित्र्याउने समय भएको थियो । “अहिलेको वर्षाले बालीमा क्षति पुर्‍यायो, अब सोचे जस्तो उब्जनी हुँदैन । लागत खर्च मात्र उठ्यो भने पनि ठुलो कुरा हो,” उहाँले भन्नुभयो ।

चैत र वैशाख हावाहुरी, असिना र वर्षा हुने समय भएकाले थप क्षति हुने चिन्ताले रूपनी गाउँपालिका–४ का किसान धनिचन्द मण्डललाई सताएको छ । उहाँले भन्नुभयो, “गहुँ पाक्ने बेलामा हावाहुरी र पानी पर्दा बालाका दाना पुष्ट हुँदैनन्, जसका कारण तौल कम हुन्छ र बाली खेतमै बिग्रिन्छ ।”

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतका अनुसार यस वर्ष जिल्लामा ३५ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको छ । उत्पादन राम्रो हुने अपेक्षा गरिए पनि प्राकृतिक प्रकोपका कारण किसानलाई मर्का परेको केन्द्रले जनाएको छ ।