• १२ असार २०८१, बुधबार

द्वन्द्वको समयमा विस्थापित शिक्षकको पुनर्बहाली

blog

पुनर्बहालीको पत्र बुझ्ने शिक्षक लगायत । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङमा द्वन्द्वको समयमा विस्थापित भएका पाँचजना शिक्षकको पुनर्बहाली भएको छ । १० वर्षे जनयुद्ध (माओवादी द्वन्द्व) का कारण विस्थापित हुन पुगेका शिक्षकहरुलाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले पुनर्बहालीको पत्र दिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार द्वन्द्वको समयमा बिस्थापित हुँदा उहाँहरु रहेकै विद्यालयका लागि हालको गाउँपालिकालाई बोधार्थ दिएर शिक्षकलाई पुनर्बहालीको पत्र दिइएको छ । पुनर्बहाली हुनेमा एकजना माध्यमिक तह र चारजना प्राथमिक तहका शिक्षक रहेका इकाइ प्रमुख भट्टराईले बताउनुभयो । उहाँकाअनुसार पुनर्बहाली हुनेमा नन्दकुमार भण्डारी (माध्यमिक तह) लाई मिक्वाखोला गाउँपालिका अन्तर्गत पदस्थापनका लाागि सिफारिस गरिएको छ । 

यस्तै प्राथमिक तह (आधारभूत तह) अन्तर्गत पदमबहादुर येङ्देनलाई मिक्वाखोला, कमलप्रसाद मैनाली आठराई त्रिबेणी गाउँपालिकाका लागि सिफारिस हुनुभएको छ । त्यस्तै दीपक भण्डारी र जगतबहादुर दाहाललाई सिरिजङ्घा गाउँपालिकामा पदस्थापनका लागि पत्र दिएर पठाएको इकाइले जनाएको छ ।

सम्भव भएसम्म सिफारिस गरिएकै स्थानमा पदस्थापनका लागि सम्बन्धित गाउँपालिकालाई अनुरोध गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भट्टराईले जानकारी दिनुभयो । सरकारले गत फागुनमा सशस्त्र द्वन्द्वका समयमा पेशाबाट बिस्थापित भएका स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गर्दै द्वन्द्वकै कारण सेवाबिहीन बनेका शिक्षकको नामावली प्रकाशित गरेको थियो । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।