• १२ असार २०८१, बुधबार

ताप्लेजुङमा दुईवटा मतदानस्थल थप गर्न सिफारिस

blog

ताप्लेजुङ, साउन १९ गते । ताप्लेजुङमा दुईवटा नयाँ मतदानस्थल थप गर्न सिफारिस गरिने भएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिकामा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय भएको हो । 

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार फुङ्लिङ नगरपालिका–९ र मिक्वाखोला गाउँपालिका–५ पापुङमा मतदानस्थल थप गर्नका लागि सिफारिस गर्ने निर्णय भएको हो । हाङ्देवाको शिव आधारभूत विद्यालयमा नौ सय ७१ मतदाता हुनेगरी नयाँ मतदानस्थल कायम गर्नका लागि सिफारिस गरिने भएको जिल्ला निर्वाचन अधिकारी खनालले जानकारी दिनुभयो । 

आयोगसमक्ष सिफारिस गरिएको मतदानस्थल स्वीकृत भएमा हाङ्देवामा दुईवटा मतदानस्थल कायम हुने खनालले बताउनुभयो । यसअघि एउटा मात्र मतदानस्थल जनता माध्यमिक विद्यालयमा कायम रहेको थियो । जनता मावि मतदान स्थलमा तीनवटा मतदान केन्द्र थिए । हालको मतदाता सङ्ख्याअनुसार जनता माविमा एकहजार ७१२ मतदाता रहनेछन् । 

यस्तै मिक्वाखोला गाउँपालिकाको पापुङमा सिम्बुक आधारभूत विद्यालयमा नयाँ मतदानस्थल कायम गर्नका लागि सिफारिस गरिने भएको छ । हालको मतदाता सङ्ख्याअनुसार सिम्बुक आधारभूत विद्यालय मतदानस्थल कायम भएमा दुईसय ५३ मतदाता रहनेछन् । यसअधिदेखि कायम रहेको राजेश्वरी आधारभूत विद्यालय पापुङमा नौसय ६५ मतदाता रहनेछन् । पापुङ जिल्लाकै एक विकट तथा दुर्गम गाउँ पर्दछ ।

त्यस्तै फक्ताङ्लुङ गाउँपालिकाभित्रका चारवटा मतदानस्थलको नाममा भएको त्रुटी सच्याउनसमेत सिफारिस गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयलका अनुसार हाल कायम रहेका मतदानस्थल आधारभूत विद्यालय हुनुपर्नेमा माध्यमिक र माध्यमिक विद्यालय हुनुपर्नेमा आधारभूत विद्यालय भएकाले सो त्रुटि सच्याउनका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

हिमाली जिल्ला ताप्लेजुङमा हाल ७३ मतदानस्थल र एकसय २२ मतदान केन्द्र छन् । बुधबार बसेको सर्वदलीय संयन्त्रको बैठकले मतदानस्थल टाढा भएको, मतदातालाई अपायक रहेको, जनसङ्ख्या र भूगोलका कारण मतदानस्थल थप गर्नुपर्नेजस्ता आवश्यकता औंल्याई मतदानस्थल थप गर्न सिफारिस गर्ने निर्णय गरेको हो । मतदानस्थल थप गर्ने र त्रुटि सच्याउने कार्यको सिफारिस साउन २० गतेसम्म गरिसक्नुपर्ने निर्वाचन कार्यालयले जनाएको छ ।


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।