माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि शिक्षा लिन चाहने विद्यार्थीका लागि सामान्य धारपछि प्राविधिक धारको शिक्षा राम्रो विकल्प बन्ने गरेको छ । मुलुकमा बेरोजगार नागरिकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै जाँदा गरिखाने शिक्षाका रूपमा प्राविधिक धारको शिक्षालाई लिने गरिएको छ । पढाइ सकिएपछि तत्काल रोजगारीमा जान सकिने हुनाले यस क्षेत्रतर्फ विद्यार्थी आकर्षण बढ्दो क्रममा छ ।
ज्ञानलाई सीपसँग, सीपलाई श्रम, उत्पादन, रोजगारी र बजारसँग जोडी जीवनलाई आर्थिक समृद्धिसँग तथा आर्थिक समृद्धिलाई जीवनको गुणस्तरसम्म जोडने शिक्षाको रूपमा प्राविधिक शिक्षालाई अथ्र्याउने गरिएको छ । रोजगारीको खोजी मात्रै नगरी आफैँ सिर्जना गर्न सिकाउने हुनाले प्राविधिक शिक्षाको शिक्षण सिकाइ प्रक्रिया अन्यभन्दा पनि विशिष्ट प्रकारको रहेको यस क्षेत्रका जानकारको भनाइ छ ।
मुलुकमा सञ्चालित शैक्षिक संस्थामा अहिले प्राविधिक उच्च शिक्षाअन्तर्गत चिकित्सा, इञ्जिनियरिङ, कृषि तथा वन, खाद्यप्रविधि, सूचना तथा सञ्चार विज्ञान तथा प्रविधिजस्ता विषयको पढाइ भइरहेको छ । मुलुकमा अहिले कृषि तथा वन विश्वविद्यालयबाहेक अरू प्राविधिक उच्च शिक्षाका लागि विशिष्टीकृत प्राविधिक विश्वविद्यालय छैनन् । ११ वटा विश्वविद्यालयले प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले प्राविधिक शिक्षामा आकर्षण र अवसर रहेको बताउनुभयो ।
विश्वविद्यालयबाहेक मुलुकमा छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेर स्वास्थ्य शिक्षाका जनशक्ति उत्पादन गरिरहेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का अनुसार समग्र उच्च शिक्षाको २० दशमलव तीन प्रतिशत विद्यार्थीले प्राविधिक उच्च शिक्षा अध्ययन गरिरहेका छन् । सीटीईभीटी अन्तर्गत ६३ वटा आङ्गिक शिक्षालय, ४२ वटा साझेदारी शिक्षालय, ५७२ वटा सामुदायिक विद्यालय तथा ४२९ वटा सम्बन्धन प्राप्त निजी संस्थाहरू सञ्चालनमा छन् । यसबाहेक एक हजार ३७० वटा छोटो अवधिको सीपमूलक तालिमप्रदायक संस्थाहरू पनि सीटीईभीटीअन्तर्गत सञ्चालनमा छन् ।
प्राविधिक शिक्षामार्फत सीपलाई जीवनको गुणस्तरसँग जोडन विशेष रुचियुक्त विद्यार्थी, सीप शिक्षणमा निपुण र दक्ष प्रशिक्षक आवश्यक पर्छ । शिक्षण सिकाइका लागि उपयुक्त प्रविधिमैत्री कक्षाकोठा, सीप सिक्न आवश्यक सामग्रीसहितको प्रयोगशाला, वास्तविक जीवनमा आवश्यक पर्ने व्यावसायिक सीप आर्जनका लागि वास्तविक अभ्यास, विद्यार्थी तथा प्रशिक्षकको सन्तुलित अनुपात, निश्चित कोटामा विद्यार्थी भर्ना गर्ने स्वीकृति आदि प्राविधिक शिक्षाका विशिष्ट पक्ष हुन् । यिनै विविध पक्षका कारण प्राविधिक शिक्षा सामान्य धारका शिक्षाभन्दा फरक र बढी लागतयुक्त पनि हुन्छ ।
कुन विषय ?
प्राविधिक धारका शिक्षामध्ये धेरै जसको आकर्षण स्टाफ नर्स, मेडिकल ल्याब टेक्निसियन लगायत स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा रहेको देखिन्छ । त्यसपछि इन्जिनियरिङ लगायतका विषयमा विद्यार्थीको रुचि रहेको सीटीईभीटीको तथ्याङ्कले देखाएको छ ।
सीटीईभीटीअन्तर्गत प्रि डिप्लोमा तह र डिप्लोमा तह गरेर दुईथरी कार्यक्रम सञ्चालन भरहेको छ । डिप्लोमा तह अन्तर्गत नर्सिङ, जनरल मेडिसिन (एचए), फार्मेसी, अप्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, फिजियोथेरापी, जियोमेटिक्स इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, होटल म्यानेज्मेन्ट, हाइड्रोपावर इन्जिनियरिङ, फुड एण्ड डेरी टेक्नोलोजी लगायतका विषयको पढाइ हुन्छ ।
प्रि डिप्लोमा अन्तर्गत १८ महिने कोर्स रहन्छ । जसअन्तर्गत २२ वटा कार्यक्रम सञ्चालन हुने गरेको छ । जसअनुसार कुलिनरी आर्टस, सोसिअल मोबिलाइजर, होटल म्यानेज्मेन्ट, एग्रिकल्चर प्लान्ट साइन्स, वाटर सप्लाइ एण्ड स्यानिटरी इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, भेटेनरिसाइन्स, कम्प्युटर साइन्स एप्लिकेसन एण्ड सेक्रेटरिएल म्यानेज्मेन्ट, लाइभस्टक प्रोडक्सन/एनिमल हेल्थ, कम्प्युटर इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सर्भे इन्जिनियरिङ लगायत पर्छन् ।
शुल्क कति ?
२०७१ सालमा समायोजन गरिएको शुल्कअनुसार अहिले नर्सिङ विषयको पढाइ पूरा गर्न चार लाख ७५ हजार रुपियाँ लागछ । त्यस्तै पीसीएल जनरल मेडिसिनको अध्ययन पूरा गर्न चार लाख चार हजार तथा डिप्लोमा इन फार्मेसीका लागि तीन लाख ३७ हजार पाँच सय रुपियाँ तोकिएको छ । गरिब र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको समेत व्यवस्था छ । सीटीईभीटीले निर्धारण गरेको कुल विद्यार्थी भर्ना कोटाको दश प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउनुपर्ने हुन्छ ।