• २१ कात्तिक २०८२, शुक्रबार

‘उपत्यका बाहिर जलन उपचार केन्द्र नहुँदा अकालमै ज्यान गुमाउन बाध्य जलन पीडित’

blog

दोस्रो विश्व जलन सप्ताहको अवसरमा आयोजित कार्यक्रम सहभागीमा सहभागी ।

 काठमाडौँ, कात्तिक २१ गते । उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित  काठमाडौँ केन्द्रित हुनु परेको कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्रा‍.डा.शंकरमान राई बताउनुहुन्छ ।

दोस्रो विश्व जलन सप्ताहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले उपत्यका बाहिर जलन उपचार केन्द्र उपलब्ध नहुँदा जलन पीडित काठमाडौँ केन्द्रित हुनु परेको बताउनुभएको हो । 

सरकारले सातै प्रदेशमा जलन पीडितको निःशुल्क उपचार गर्ने घोषण गरे पनि जलनको उपचारमा आवश्यक पर्ने प्लास्टिक  सर्जन र उपचार सामग्रीको अभावले देशभरका जलन पीडित काठमाडौँ केन्द्रित हुनुपरेको उहाँको भनाइ छ ।  

उहाँले उपत्यका बाहिर राम्रो उपचार केन्द्रको अभावले जलन पीडितको ज्यान जाने गरेकाे बताउनुभयो । 

उहाँ भन्नुहुन्छ,“ राज्यले उपत्यकाका बाहिर जलन उपचार केन्द्रको स्तरोन्नति गर्नुका साथै उपचारमा आवश्यक पर्ने जनशक्ति उपलब्ध गराउने हो भने जलनका धेरै बिरामीको अकालमै मृत्यु हुने थिएन ।” 

सरकारले उपत्यकामा त्रिवि शिक्षण, कीर्तिपुर, पाटन  र वीर गरी चार अस्पताललाई डेडिकेटेड जलनको उपचार केन्द्रका रुपमा तोकेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ प्लास्टिक सर्जन प्रा.डा.पीयूष दाहालले नेपालमा वार्षिक करिब ५० हजार मानिस सानो ठूलो जलनको समस्या लिएर अस्पतालमा पुग्ने बताउनुहुन्छ । 


जसमध्ये वार्षिक १५ सय देखि दुई हजार जलनका बिरामीको मृत्यु हुने उहाँको भनाइ छ । जलन पीडित मध्ये महिला बालबालिका र न्यून आय भएका मानिस बढी हुने उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार सामान्यदेखि जटिल समस्या लिएर बिरामी अस्पतालमा पुग्ने गर्छन् । जलनको उपचार लामो समय गर्नु पर्ने भएकाले जलन पीडित शारीरिक मात्र नभई मानसिक, सामाजिक, आर्थिक हिसाबले कमजोर हुने उहाँको बुझाइ छ । 

जलनबाट शारीरिक कुरुपता, नमेटिने दाग, शारीरिक कठिनाइ उत्पन्न हुने, उपचारको खर्च, विभिन्न समाजिक विभेदको अनुभव गर्ने गर्छन् । 

त्यसका अलावा सानो बच्चामा जलन १० प्रतिशत भन्दा बढी र ठूलो मानिसमा १५ प्रतिशत भन्दा बढी जलन भएमा श्वासप्रश्वास, मुटुका, कलेजो र स्नायुको जस्ता दीर्घ स्वास्थ्य समस्या निम्तने उहाँ बताउनुहुन्छ ।

 समयमा नै  अस्पतालमा पुग्ने धेरैलाई बचाउन सकिने उहाँको दाबी छ। उहाँले नेपालमा  थोरै मात्र जलन उपचार केन्द्र हुँदा जलनका बिरामी ढिला गरी अस्पताल पुग्ने बताउनुहुन्छ । 

 विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष करिब एक लाख ८० हजार जलनका बिरामीले ज्यान ज्यान गुमाउने गर्छन् । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।