गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १७ गते । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर नफर्किएका शिक्षक तथा कर्मचारीलाई फर्कन आह्वान गरेको छ । विश्वविद्यालयले शुक्रबार सूचना जारी गरेर त्यस्ता व्यक्तिलाई विश्वविद्यालय फर्कन ३५ दिने सूचना जारी गरेको छ । “अध्ययन बिदा उपभोग गरी हाजिरी नभएका, सर्त अनुसार पूरा समय काम नगरेका, सेवाबाट हटाइएका, राजीनामा स्वीकृत गरी बुझबुझारथ नगरेका, राजीनामा पेस गरी स्वीकृत नभएका शिक्षक कर्मचारीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र समितिको कार्यालयमार्फत सम्पर्क गर्नुहुन अनुरोध छ,” सूचनामा भनिएको छ ।
पछिल्लो समय त्रिविका विभिन्न निकायमा कार्यरत शिक्षक तथा कर्मचारीमा अध्ययन बिदा लिएपश्चात् विश्वविद्यालय नफर्कने प्रवृत्ति बढेको छ । यसले अध्ययन बिदाको सर्तसमेत उल्लङ्घन गरेको त्रिविको भनाइ छ । अध्ययन बिदा लिएर शिक्षक तथा कर्मचारी सेवामा नफर्किंदा त्रिविलाई दुई अर्ब रुपियाँभन्दा बढी नोक्सान भएको यसअघि त्रिविले गठन गरेको समितिले निष्कर्ष निकालेको थियो ।
नफर्किएका शिक्षक कर्मचारीलाई सम्पर्कमा ल्याउन र रकम फिर्ता गराउन उक्त समितिले रजिस्ट्रार कार्यालयमा हेल्प डेस्क बनाएर सहजीकरण गरिरहेको छ । तोकिएको मितिमा सम्पर्कमा नआएमा त्यस्ता शिक्षक तथा कर्मचारीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने सूचनामा उल्लेख छ ।