काठमाडौँ, कात्तिक २१ गते ।
गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन
खेलाडीको चमेली बोल्दिने कोही छैन ।।
पदाधिकारीलाई धनमाथि धनै छ ।
खेलाडीलाई चमेली रिनमाथि रिनै छ .....
र सहिद स्मारक ‘ए’ डिभिजन लिग यस वर्ष पनि नहुने भएपछि नेपाली फुटबल खेलाडीले यो गीत गाएर आक्रोश पोखे । पछिल्ला तीन वर्षदेखि रोकिएको ‘ए’ डिभिजन एन्फाले अर्को वर्ष मात्र गर्ने निर्णय लिएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडी र समर्थकले बिहीबार विभिन्न प्लेकार्डसहित सातदोबाटोस्थित एन्फाको मुख्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
नेपाल फुटबल खेलाडी सङ्घको आयोजनामा खेलाडीले बिहीबार प्रदर्शन गरेका हुन् । फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको बताउनुभयो । उहाँले पटक पटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको हो, भन्नुभयो ।
एन्फाले सुरक्षाकर्मी उपस्थित गराएर खेलाडीलाई प्राङ्गणभित्र छिर्न भने दिएन । यद्यपि खेलाडीले आफ्नो अनुशासन भने गुमाएनन् । सो भेलाले एन्फा कम्प्लेक्सको गेटमै सङ्क्षिप्त विरोध कार्यक्रम ग¥यो । लामाले भन्नुभयो, “हाम्रो मेहनतले बनेको मन्दिरमा हामीलाई पस्न दिएन । मैदानमा खेल्ने दिन गए, अब एन्फाको प्राङ्गणभित्र पनि छिर्न दिइएन, सम्पूर्ण एन्फाका पदाधिकारीलाई बधाई छ । उहाँले अबको एक हप्ताभित्र ‘ए’ डिभिजन लिग गर्ने निर्णय नगरे योभन्दा बढी रूपमा सशक्त भएर विरोध गर्ने चेतावनी पनि दिनुभयो ।
खेलाडीले विरोधस्वरूप एन्फाको गेटमै पदक झुन्ड्याएका छन् । अध्यक्ष लामाले आफूले देशका लागि जितेका पदक त्यहीँ छाडेर जाने बताए । “अब यो मेडल एन्फाले आफैँ आएर लाओस् । हामीले यहीँ छाडेर जान्छौँ,” लामाले भन्नुभयो ।
त्रिभुवन आर्मी फुटबल टिमका गोलरक्षक विकेश कुथुले शान्तिपूर्ण दबाब कार्यक्रमका लागि पनि एन्फापरिसरमा छिर्न नदिएपछि खेलाडीको योभन्दा ठुलो अपमान के हुन सक्छ, भन्नुभयो । त्यसैले फुटबलमा भएको बेथितिलाई हामी हटाउन अझ सशक्त र एकजुट भएर उठ्नु पर्छ, उहाँको भनाइ छ । मछिन्द्र क्लबका गोलरक्षक विशाल श्रेष्ठले आफ्ना लागि आफैँ उठ्ने बेला आएको बताउनुभयो । शान्तिपूर्ण तरिकाले गरेको दबाबमा पनि प्रहरी प्रशासन लगाएर हामीलाई एन्फामा छिर्न दिइएन । हामीले मैदानमा देशका लागि लड्यौँ अब खेलाडी र खेल्न पाउनुपर्ने अधिकारका लागि लड्ने बेला आएको छ, उहाँले भन्नुभयो ।
सो विरोध प्रदर्शनमा पूर्वराष्ट्रिय खेलाडीहरू उपेन्द्रमान सिंह, राजेश मानन्धरलगायतको पनि उपस्थिति रहेको थियो । मध्यपुर युथ क्लबका अध्यक्ष तथा पूर्वकप्तान उपेन्द्रमान सिंहले प्रदर्शनमा समर्थन दिँदै एन्फाले समयमा ‘ए’ डिभिजन लिग नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । समयमा खेल नभएपछि खेलाडीलाई मार परेको उहाँको भनाइ छ । एन्फाको साधारण सभाले पुस ९ गते आयोजना गर्ने भनेको सहिद स्मारक ‘ए’ डिभिजन लिग हुनु प¥यो भन्ने खेलाडी र हाम्रो पनि माग हो ।
सिंह भन्नुहुन्छ, “तीन वर्षसम्म शीर्ष लिग नहुँदा व्यावसायिक खेलाडीलाई धेरै मार पर्छ । उनीहरूको रोजीरोटी नै धरापमा पर्छ ।” नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ताले समेत ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्देशन दिएको भोलिपल्टै लिग अर्को वर्षलाई सारेकोमा पूर्वकप्तान सिंह अचम्मित हुनुभएको छ ।
सो विरोध कार्यक्रममा फुटबलर मात्र होइन अन्य खेलका खेलाडी पनि सहभागी थिए । राष्ट्रिय टेनिस खेलाडी प्रदीप खड्काले खेलाडीको हकमा सबै खेल समयमा हुनु पर्छ त्यसैले म पनि समर्थन गर्न आएको हो भन्नुभयो ।
यसै गरी ‘हाम्रो बुट थन्किएका छन् हाम्रो खेल्ने अधिकार खै ?’ लेखेको प्लेकार्ड बोकेका फुटबल समर्थक मुकुन्दबहादुर रोकायाले खेलाडीलाई मैदान दिनु पर्छ, सडक होइन, उहाँले भन्नुभयो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र ‘ए’ डिभिजन क्लबबिच गत सोमबार भएको बैठकले यस वर्ष राष्ट्रिय लिग फुटबलको आयोजना गर्ने र अर्को वर्ष होम एन्ड अवेको संरचनामा ‘ए’ डिभिजन लिग गर्ने सहमति गरेको थियो ।