• १ माघ २०८२, बिहिबार

घिउचाकुको पर्व ‘माघेसङ्क्रान्ति’

blog

काठमाडौँ, माघ १  गते  । वर्षभरि निरोगी हुन माघेसङ्क्रान्ति अर्थात् घिउचाकु, सँल्हु दिन विभिन्न समुदायले तोरी अथवा तिलको तेल लगाउने तथा घिउचाकु खाने चलन छ । साधारणतया जाडो मौसममा शरीरलाई तातो बनाउने चिज खानपिन गरी मनाउने पर्व नै माघेसङ्क्रान्ति हो । संस्कृतिविद् हरि श्रेष्ठले नेवार समुदायमा कुनै पनि पर्व मनाउने चलनमा वैज्ञानिक कारण लुकेको बताउनुभयो । “माघ महिना जाडोमा काँचो घिउ, चाकु, तिलको लड्डु खाँदा शरीरलाई तापसँगै शक्ति प्रदान गर्छ,” उहाँले भन्नु भयो, “विगतमा बाक्लो लुगा सहजै नपाइने हुँदा जाडो याममा बच्चा, वृद्धवृद्धा र सुत्केरीलाई चिसोले चाँडो समाउँथ्यो । त्यसैले हाम्रा पुर्खाले चाकु खाने चलन ल्याएको हो ।” 

यस समुदायमा बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाइने गरिन्छ । श्रेष्ठ थप्नु हुन्छ, “आमाको हातबाट टाउकोमा तेल लगाइन्छ । त्यसो गर्दा टाउको कहिल्यै पनि नदुख्ने मान्यता रहिआएको छ ।” पुस महिनामा पर्ने यमरी पुन्हीमा नेवार समुदायले चाकुको यमरी खाने चलन छ । मुख्य जाडोका भिन्नाभिन्नै महिनामा चाकु खानुका पछाडि यही कारण रहेको छ । यमरी पुन्हीमा चामलको पिठोभित्र चाकु हालेर खानुको कारण शरीरलाई पुसको जाडोबाट जोगाउनु हो । माघेसङ्क्रान्तिमा काँचो घिउ र चाकु खाइन्छ । 

पोषणविद् डा. अरुणा उप्रेतीले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने जानकारी दिनु भयो । उहाँ बालबालिकादेखि बुढाबुढीलाई जाडो महिनामा चाकु खुवाउनु पर्ने सुझाव दिनु हुन्छ । बालबालिकालाई चिनीको साटो चाकु वा सक्खर दिन सके धेरै राम्रो हुने उहाँले बताउनु भयो । जाडो सुरु भएदेखि नै बालबालिकालाई दैनिक रूपमा चाकु खुवाउनुपर्ने सुझाव उहाँको छ । अन्य समुदायमा पनि माघेसङ्क्रान्ति आआफ्नै ढङ्गले मनाइन्छ । भक्तपुरका बौद्ध धर्मावलम्बीले यस दिन पञ्चबुद्ध जात्रा निकालेर चाकु दान गर्ने चलन छ । सोही दिन आदिवासी जनजाति समुदायमध्ये सबैभन्दा ठुलो समुदाय मगरहरूले माघेसङ्क्रान्तिलाई राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । माघेसङ्क्रान्ति पर्व पनि प्रकृति पुज्ने अवसरका रूपमा लिने गरिन्छ । प्राचीन कालमा मगरहरूको कृषि र सिकारमा आधारित जीवनशैली थियो, मगर राष्ट्रिय सङ्घका नवीन रोकामगरले जानकारी दिनु भयो । 

उहाँले माघेसङ्क्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुने जानकारी दिँदै माघेसङ्व्रmान्तिदेखि रात छोटो र दिन लामो हुँदै जाने बताउनुभयो । मगरले माघ १ गतेदेखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न भुइँमुनि फलेको कन्दमूल, सखरखण्ड, तरुल खाने प्रचलन मगर समुदायमा रहेको जानकारी दिनु भयो । 

यसै गरी माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्वका रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी (माघी) खाने चलन रहेको छ । पुस मसान्तमा घर घरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतका परिकार बनाएर जाँड–रक्सीका साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुन्डिएको हुन्छ । माघीमा गाइने गीतलाई ‘धमार’ भनिन्छ । माघीमा नाचिने विशेष मघौटानाच अघिपछि पनि लोकप्रिय छ । माघेसङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । प्रत्येक वर्षको माघ १ गते मनाइने यो पर्वमा गएका वर्षभरिमा गरिएका कामको समीक्षा गरिनुका साथै आगामी वर्षभरि गरिने कामको विषयमा छलफल र बाँडफाँट गर्ने गरिन्छ ।

Author
यलु जोशी

उहाँ गोरखापत्रका लागि खेलकुद विट हेर्नुहुन्छ ।