गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २१ गते । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको जनधनको क्षतिबारे अनुसन्धान र कारबाहीका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले तहगत रूपमा सुरक्षाकर्मीको बयानको तयारी थालेको छ । घटनाको दुई दिन फिल्डमा खटिने अधिकारीहरूको विवरण प्रहरीले आंशिक रूपमा पठाएपछि जिम्मेवार व्यक्ति निक्र्योल र बयानको तयारी आयोगले थालेको हो । तीन सातादेखि आयोगले प्रहरीसँग घटनाका दिन फिल्डमा खटिने प्रहरी अधिकारीहरूको विवरणका लागि ताकेता गरिरहेको थियो ।
जाँचबुझ आयोगका अनुसार माग भएकामध्ये उपत्यका तथा संसद्लगायतको सुरक्षार्थ खटिएका अधिकारीको विवरण प्राप्त भएको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माले प्रहरीबाट विवरण आउने क्रम जारी रहेको बताउनुभयो । शर्माले भन्नुभयो, “उपत्यकाभित्र र बाहिर सबै फिल्ड कमान्डरको विवरण हामीले मागेका थियौँ । क्रमशः आइरहेको छ । प्राप्त विवरणलाई हामी प्राथमिकीकरण गरेर थप प्रक्रिया अघि बढाउँछौँ ।” आयोगले भदौ २३ र २४ गते उपत्यका र उपत्यकाबाहिरका जिल्लामा रहेका फिल्ड कमान्डरको विवरण माग गरेको थियो । तीन साताअघि माग गरेको विवरण नआएपछि आयोगले बुधबार प्रहरी महानिरीक्षकलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण पत्रसमेत पठाएको थियो । पत्रपछि आयोगले केही विवरण प्राप्त गरेको हो ।
बिहीबार आयोगले उपत्यकाका विभिन्न कार्यालयमा फिल्डमा खटिने अधिकृतको विवरण पठाएको छ । यस्तै सङ्घीय संसद्लगायतका निकायमा सुरक्षा कमान्डरको विवरण पनि पठाएको छ । देशभरका सबै विवरण भने आयोगले पाइसकेको छैन ।
प्रहरीले यसअघि आन्दोलनका दुई दिनमा सम्पूर्ण जनशक्ति फिल्डमा रहेको जवाफ पठाएको थियो । फिल्ड कमान्डरको विवरण माग गर्दा जवानदेखि महानिरीक्षकसम्म फिल्डमा रहेको जवाफ पाएपछि आयोगले असन्तुष्टि जनाउँदै मागिएको विवरणका लागि पुनः पत्राचार गरेको थियो ।
आयोगले अहिलेसम्म सम्बन्धित निकायबाट क्षतिको विवरण र उजुरी लिइरहेको छ । कार्यालयहरूले क्षतिको विवरण पनि धमाधम पठाइरहेका छन् । यस्तै अध्यक्ष र सदस्यहरूको टोली आन्दोलनका क्रममा क्षति भएका जिल्लाको अनुगमन र अन्तर्क्रिया गरेर फर्किएका छन् । घटनामा संलग्न व्यक्तिहरूको बयानका लागि प्रश्नावली निर्माणलगायतका काम आयोगले गरिसकेको छ ।
घटना विवरण सङ्कलन र विश्लेषण गरिरहेको आयोगले भदौ २४ गतेको घटनामा केन्द्रित भएर कारागार कार्यालय नक्खुका प्रमुख सत्यराज जोशीसँग बयान लिइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागारबाट बाहिर निस्किएको घटनामा केन्द्रित रहेर जोशीसँग आयोगले बयान लिएको थियो । सोही प्रकरणमा रास्वपा सभापति लामिछानेसँग पनि आयोगले बयान लिइसकेको छ ।