इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक १६ गते । जिल्लाको रामपुर नगरपालिका–५, स्थित रामघाटमा जेष्ठ नागरिक विद्यालय सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । रामपुर नगरपालिकाले चालु आर्थिक वर्षदेखि सञ्चालन गर्न लागेको जेष्ठ नागरिक विद्यालय व्यवस्थापनको अन्तिम तयारी भईरहेको रामपुर नगरपालिकाले जनाएको छ ।
जेष्ठ नागरिकहरुलाई सम्मान सहितको सक्रिय जीवन निर्वाहसँगै संस्कार र संस्कृतिको संरक्षण, उहाँहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका साथ जेष्ठ नागरिक विद्यालय सञ्चालन गर्न लागेको हो । संस्कृतिको संरक्षणसँगै उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मानसहितको सक्रिय जीवन निर्वाहका लागि विद्यालय सञ्चालन गर्न लागिएको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।
विद्यालयमा विषेशगरी दिउँसोको समयमा जेष्ठ नागरिकहरुलाई स्कुल सम्म ल्याई पुराना संस्कार र संस्कृतिबारे नयाँ पुस्ताले अध्ययन गर्न पाउने व्यवस्था गरिने बताउनुभयो । “ विद्यालय सञ्चालनको उद्देश्य जेष्ठ नागरिकको सम्मानका लागि मात्र होइन । संस्कार र संस्कृतिको संरक्षण गर्नु पनि हो,” उहाँले भन्नुभयो ।
साथै उहाँले नगर भित्रका सबै विद्यालयलाई क्रमशः जेष्ठ नागरिक स्कुलमा अध्ययन अवलोकनको व्यवस्था गरिने जानकारी दिनुभयो । जेष्ठ नागरिक स्कुलले संस्कार, संस्कृतिको संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने बताउनुभयो । जेष्ठ नागरिक स्कुलमा धार्मिक प्रवचन, भजन कृतन, घरेलु सामग्री र यसको प्रयोग, जेष्ठ नागरिकहरुका लागि दिवा खाजा, स्वास्थ्य परिक्षण सहित सन्ध्या आरतीको व्यवस्था गरिने रामपुर नगरपालिकाले जनाएको छ ।
विद्यालयका लागि भवन निर्माणसँगै जेष्ठ नागरिकलाई आवतजावतको लागि बस खरिद गरिसकेको र व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । जेष्ठ नागरिक स्कुललाई व्यवस्थित रुपमा सञ्चालनका लागि बुद्धि प्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालन समिति गठन गरिएको छ ।