• १६ कात्तिक २०८२, आइतबार

नियमित विद्यार्थी पठाउन भन्दै डुम समुदायको दैलोमा प्रधानाध्यापक

blog

नियमित विद्यालय पठाउन लहान–११ पिडरबोनी माध्यमिक विद्यालयका प्रधानाध्यपक र शिक्षक डुम समुदायको दैलोमा जनचेतना फैलाउँदै । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, कात्तिक १६ गते ।
सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुमा अधिकांश दलित विपन्न समुदायका बालबालिकाहरु नै भर्ना भएका हुन्छन् । नियमित विद्यालय नजाने समस्या समाधानका लागि लहान –११ पिडरबोनी माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु दलित बस्तीमा दैलो दैलोमा पुग्ने अभियान सुरु गरिएको छ ।

त्यस विद्यालयका प्रधानाध्यापक वीरेन्द्रकुमार यादव भन्नुहुन्छ, ‘‘प्रधानाधयापक भएर आएको तीन महिनाको समयमा विद्यार्थी सङ्ख्या हेर्दा अधिकांश दलित समुदायका विद्यार्थीहरु रहेका पाइयाे । कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरु अनुपस्थित रहने गरेकाले चाहे अनुसारको सुधार गर्न कठिनाइ भएपछि दलित बस्तीमा पुगेर नियमित विद्यालय पठाउन अभियान सुरु गरेका छौँ ।’’

लहान–११ पिडरबोनीका राम उद्गार मरिक (डुम) को घरमा पुगेर किन नियमित तपाईंका चार जना विद्यार्थीहरु नियमित विद्यालय जाँदैनन् प्रश्न गर्दा हामी डुम समुदायका बालबालिकाहरु पढेर के गर्ने ? खालको कुराहरु सुन्दा संविधानले सारा विभेदहरु हटाइसकेको छ । विद्यालयमा छुवाछूत छैन । डुम समुदायहरु जे समाजमा हेपिएका दबिएका छन् त्यसबाट मुक्त हुन शिक्षा नै आवश्यक रहेको चेतना दिएपछि मरिक परिवारले नियमित विद्यालय पठाउने विश्वास दिलाएको प्रअ यादवले सुनाउनुभयो ।

दैलोमा आएर नियमित विद्यालयमा विद्यार्थी पठाउन विद्यालयका प्रअ शिक्षकहरुले आएर दिएको जनचेतनाले अब नियमित विद्यालय पठाउने रामउद्गार मरिक (डुम) ले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘‘डुम समुदायलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको महसुस पनि भयो ।’’ उहाँले भन्नुभयो ।

मधेश प्रदेशका डुम समुदाय र मुसहर समुदायका बालबालिकाहरु अहिले पनि नियमित विद्यालय नजाने बाल श्रमिकको रुपमा काम गर्ने बालविवाह हुने गरेकाले डुम र मुसहर समुदायलाई शिक्षाको मूलधारमा ल्याउन विशेष कार्यक्रमको आवश्यकता रहेका दलित अगुवा लेखक राजेश राम विद्रोहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पिडरबोनी माविका प्रअ लगायत शिक्षकहरुले गरेका प्रयास सार्थक देखियो । यस्तै किसिमको जनचेतना दलित बस्तीमा सामुदायिक विद्यालयहरुले फैलाउन आवश्यक छ ।’’

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीका अनुसार दलित समुदायहरु रहेका बस्तीलाई ध्यानमा राखेर प्रस्तावित माध्यमिक विद्यालय सञ्चालन र दलित बालबालिकाहरुलाई यस वर्षदेखि शैक्षिक सामग्रीको रुपमा कपी पेन्सिल निःशुल्क वितरण गर्ने कार्य अघि बढाएका छौँ । दलित बस्तीहरुमा ४१ वटा निःशुल्क ट्युशन कक्षा पनि चलिरहेका छन् । विद्यार्थीहरुलाई  कक्षामा नियमित हाजिर हुन पिडरबोनी माध्यमिक विद्यालयका प्रअ यादवले थालेको यो कार्यलाई ५९ वटै सामुदायिक विद्यालयमा लागू गराउँछौँ ।

डुम र मुसहर समुदायको बालबालिकाहरुलाई शिक्षा दिइनका लागि आवास विद्यालय बनाउनुपर्ने पटक पटक मधेश प्रदेशमा आवाज उठाइरहेका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।