राजन रावत
हुम्ला, कात्तिक २० गते । अदानचुली गाउँपालिका– ३ क्षेत्रपाल आधारभूत विद्यालय भवन आगलागी भएर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
बुधबार राती साँढे बजे भवनको माथिल्लो तलाबाट आगलागी भएर भवन नष्ट भएको हो । दुई तले विद्यालय भवन आगलागीबाट जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।
आगलागीबाट भवन जलेर नष्ट हुनुका साथै दुई थान कम्प्युटर डेक्सटप, ल्यापटप, प्रिन्टर, खेल तथा संस्कृति कार्यक्रमका सामाग्री, डेक्सबेन्च लगायत ३९ प्रकारका सामानहरू नष्ट भएको प्रारम्भिक खवर आएको उहाँले बताउनुभयो ।
राती लागेको आगो प्रहरी, सर्वसाधारण, जनप्रतिनिधिहरू मिलेर ढिलो गरि राती नै नियन्त्रण लिइएको थियो ।
विद्यालय भवनमा भएको आगलागीको सत्यतथ्य अनुसन्धान प्रहरीले गरि रहेको र प्रहरी मुचुल्का तयार गर्ने कार्य पनि गरि रहेको उहाँले बताउनुभयो ।
आगलागीबाट क्षतिको विवरण प्रहरी मुचुल्का तयार भएपछि यकिन विवरण आउने छ । आगलागी बिधुत सर्ट भएर वा कुनै अज्ञात समुहले लगाएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।
भवन आगलागी भएपछि उक्त विद्यालयमा पठनपाठन समेत प्रभावित हुने भएको छ ।