जनार्जन खत्री
सर्लाही, कात्तिक २१ गते । सर्लाही, महोत्तरी, रौतहटसहित विभिन्न जिल्लाका नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । भारतको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएकाले शान्ति सुरक्षाको व्यवस्थापनका लागि तीन दिन अर्थात् ७२ घण्टा बोर्डर ‘सिल’ गर्न लागिएको हो ।
कात्तिक २२ गते शनिबार साँझ ६ बजेदेखि बन्द गरिने नेपाल–भारत सीमा नाका कात्तिक २५ गते साँझ ६ बजेपछि मात्र खुल्ने छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले यो अवधिमा आकस्मिक बाहेकका सम्पूर्ण प्रकारको आवागमन पूर्णरुपमा ठप्प रहने जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेरै तीन दिन सीमा नाका बन्द गर्न लागिएको जानकारी दिएका छन् ।
नेपाल वा भारत जहाँ निर्वाचन हुँदा पनि यसरी ७२ घण्टा सीमा नाका सिल गर्ने परिपाटी रहेको छ । सीमा नाकामा कडाइका लागि नेपालमा निर्वाचन हुँदा भारतीय र भारतमा निर्वाचन हुँदा नेपाली सुरक्षाकर्मीले साथ दिँदैआएका छन् ।