• २१ कात्तिक २०८२, शुक्रबार

निरयघाटको एग्रो रिसोर्टमा बढ्यो चहलपहल

blog

बागलुङ नगरपालिका ४ निरयघाटमा रहेको पुनको एग्रो रिसोर्टमा भएका माछापोखरी । तस्बिरः नवराज नेपाली

नवराज नेपाली 

बागलुङ (गलकोट), कात्तिक २१ गते । काठेखोला गाउँपालिका –८ लेखानीका लक्ष्मण पुनको एग्रो रिसोर्टमा पछिल्लो समय भिडभाड देखिएको छ । बागलुङ, पर्वत र म्याग्दीका युवा युपवतीका फेसबुकमा पुनको एग्रो रिसोेर्टमा खिचेका तस्बिर र भिडियो पछिल्लो समय भाइरल भइरहेको छ। 

लेखानीका पुनले ७ वर्ष पहिले बागलुङ नगरपालिका वडा ४ निरयघाटमा माछापालन गर्न थाल्नुभएको थियो । पछिल्लो ४ वर्षदेखि माछापालनसँगै रिसोर्ट समेत सञ्चालनमा ल्याउनुभएको छ । चार वर्ष पहिले रिसोर्ट सञ्चालनमा आएको भए पनि निरयघाटसम्म पुग्ने सडक कालोपत्र भएपछि पुनको रिसोर्टमा एकाएक चहलपहल बढेको हो । 

पुनको एग्रो रिसोर्ट शान्त, शितल र मनोरम वातावरणमा खाजा र खानाका परिकार सहित रमाउने गन्तव्यको रुपमा स्थापित भएरहेको छ । रिसोर्ट १४ रोपनी जग्गामा फैलिएको छ । लामो समय वैदेशिक रोजगारिका लागि कोरिया पुगेर फर्केका ६५ वर्षीय पुनलाई रिसोर्ट सञ्चालन गर्न श्रीमती विजया पुन, छोरा अमृत पुन र छोरी रितु पुनले सघाइ रहनुभएको छ । 

पुनको रिसोर्टमा पुग्नेहरुले आफै माछा मार्छन् । चाउचाउ, मःम, चिया, कफीजस्ता खानेकुरा पाइने भए पनि रिसोर्टको विशेषता माछा, लोकल कुखुरा र हाँसको परिकार हो । रिसोर्टमा पालिएका हाँस, कुखुरा र माछाका परिकार खान बागलुङ, पर्वत र म्याग्दीसँगै पछिल्लो समय मुस्ताङ र ढोरपाटन घुम्न हिडेका पर्यटक समेत पुग्ने गरेका छन्। 

५० लाखबाट सुरु गरेको रिसोर्टमा करिब १ करोड लगानी पुग्न लागेको सञ्चालकको भनाइ छ । रिसोर्टमा आउनेलाई माछा मार्ने, बल्छी खेल्ने व्यवस्था मिलाइएको पुनले जानकारी दिनुभयो । वार्षिक भाडा तिर्ने गरि १४ रोपनी जग्गामा रिसोर्ट, तीनवटा सात रोपनीका माछा पोखरी, रेष्टुराँ, तीन वटा सुविधा सम्पन्न कोठा, तीन वटा प्लाष्टिक टर्नेल र तरकारी खेती गरिरहेको पुनले बताउनुभयो ।