• १२ असार २०८१, बुधबार

एक वर्षमा एकसय जनाभन्दा बढीको अकालमा मृत्यु

blog

ताप्लेजुङ, साउन ९ गते । ताप्लेजुङमा एक वर्षको अवधिमा एकसय जनाभन्दा बढीको अकालमा ज्यान गएको छ । प्रहरीका अनुसार भवितव्य, कर्तव्य ज्यान, आत्महत्या लगायतका कारणबाट उनीहरुको अकालमै ज्यान गएको हो । 

गत आर्थिक वर्ष २०७८÷७९ मा कुल १०४ जनाले अकालमै ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । भवितव्य, सवारी ज्यान, सवारी भवितव्य, कर्तव्य ज्यान, केही फुटकर र आत्महत्यासहितका कारणबाट उक्त सङ्ख्याले अकालमा ज्यान गुमाएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार भवितव्य घटनामा मात्रै ४४ जनाले ज्यान गुमाएका छन् । यस्तै आत्महत्या गर्नेको सङ्ख्या पनि ३५ छ । झुण्डिएर आत्महत्या गर्ने ३३ र विष सेवन गर्ने दुईजना रहेका प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । 

यस्तै कर्तव्य ज्यान (हत्या) का कारण आठ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा पाँचजना, चट्याङ, करेन्ट लागेर र भीरबाट लडेर चार जनाको मृत्यु भएको प्रहरी कार्यालयको तथ्याङ्क छ । फुटकर ज्यानअन्तर्गत (घटनाको कारण नखुलेको) चारजान र सवारी भवितव्यमा परी दुईजनाको मृत्यु भएको तथ्याङ्क छ । उक्त वर्ष आगलागीमा परेर एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

यसैबीच गत आवमा भवितव्य र आत्महत्यापछि सबैभन्दा बढी जबरजस्ती करणी भएका छन् । वर्ष दिनभित्र २० वटा जबरजस्ती करणी घटना प्रहरी कार्यालयमा दर्ता भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार अभद्र व्यवहारका १५, ज्यान मार्ने उद्योग र कुटपिट तथा अङ्गभङ्गका पाँच–पाँच, चोरी र लागू औषधसम्बन्धी चार–चार वटा मुद्दा दर्ता भएका छन् । 

त्यस्तै गर्भपतन अर्थात् गर्भ संरक्षण बिरुद्धको कसुर, जबरजस्ती करणी उद्योग, बाल यौन दुरुपयोगका अपराधिक उपद्र्याँई, विस्फोटन (विस्फोटक पदार्थ), सवारी अङ्गभङ्ग, गौवध र ठगीका एक–एक वटा घटना भएको प्रहरीले जनाएको छ ।

यसरी एक वर्षभित्र विभिन्न एकसय ६६ वटा घटनामा संलग्न तथा आरोपित एकसय ५६ जना दोषीमध्ये एकसय २० जनालाई पक्राउ गरेको पनि प्रहरीले जनाएको छ । बाँकी ३६ जना फरार रहेका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।