• ८ जेठ २०८१, मङ्गलबार

ब्याटिङ नचल्दा स्कटल्यान्डसँग नेपालको लज्जासपद हार

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन १ गते । कमजोर ब्याटिङले निरन्तरता पाएपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको चौथो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डसँग लज्जासपद हार खेपेको छ ।  

टिटवुड ग्लासगो मैदानमा आइतबार अबेर सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भयो । स्कटल्यान्डले नेपालसँग हारको बदला समेत लिएको छ । यसै सिरिजको अघिल्लो खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो । नेपालले यस सिरिजको चार खेलमा एउटा मात्र जित आत्मसाथ गरेको  । नेपाल नामिबियासँग दुवै खेलमा पराजित भएको थियो । 

नेपाल नामिबियासँग पहिलो खेलमा ४० र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । हारसँगै तालिकाको छैटौं स्थानमा रहेको नेपालले २० खेलबाट १७ अंक बनाएको छ । हारले नेपालको विश्वकप छनोट यात्रा समेत कठिन बन्दै गएको छ । २४ खेलबाट ३४ अंक बटुलेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । 

नेपालले दिएको एक सय २९ रनको झिनो विजयी लक्ष्य स्कटल्यान्डले १९ ओभरमा दुई विकेटको क्षतिमा एक सय ३० रन जोड्दै पूरा गरेको हो । स्कटल्यान्डका लागि कलुम म्याकलेओडले सर्वाधिक ६४ रन बनाउनुभयो । केली कोएट्जरले अविजित ४४ तथा क्रिस्टोफरले १० र कप्तान रिची बेरिङटनले अविजित चार रन जोड्नुभयो । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय २८ रन बनाएको थियो । कमजोर ब्याटिङले पिरोलेको नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाउनुभयो । सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३ तथा देव खनाल र रोहित पौडेलले १०/१० रन बनाउनुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । बलिङमा स्कटल्यान्डका हाम्जा ताहिरले चार विकेट लिनुभयो । मार्क वाटले तीन गाभिन मेनले दुई तथा किस्टोफर म्याकबाइटले एक विकेट लिनुभयो । 

यस सिरिजसँगै लिगको सबै खेल सकेको ओमान ३६ खेलबाट ४४ अंक जोड्दै शीर्षस्थानमा छ । तेस्रो स्थानमा रहेको यूएईले २२ खेलबाट २६ अंक बनाएको छ । चौथो स्थानमा रहेको अमेरिकाको २४ खेलबाट २२ अंक, पाँचौं स्थानमा रहेको नामिबियाको १८ खेलबाट १८ अंक र अन्तिम तथा सातौं स्थानमा रहेको पपुवा न्युगिनीको २० खेलबाट दुई अंक छ । 

नेपालसहित ओमान, यूएई, स्कटल्यान्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।