रामकृष्ण बोहरा
बागलुङ, चैत २५ गते । बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार बेहोरेको छ ।
बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा गण्डकी प्रदेश प्रहरीले कालीजङ्ग गणको पोस्टमा आधा दर्जन गोल गरेको हो । पहिलो खेलमा हाइकर्स युनाइटेडलाई ४–१ गोलले हराएर उपाधि दाबेदारको छनक देखाएको आर्मी वर्षाले हिलाम्य भएको मैदानमा प्रहरीसामु निरीह बन्यो ।
आर्मीलाई ६–० गोलले पाखा लगाएको गण्डकी प्रदेश प्रहरी प्रतियोगितामा सेमीफाइनल पुग्ने पहिलो टोली बनेको छ । प्रहरीले फाइनल प्रवेशका लागि अब मर्दी युनाइटेड र बागलुङ सुधार केन्द्रबिच हुने खेलको विजयी टोलीसँग खेल्ने छ । पहिलो सेमीफाइनल खेल शुक्रबार हुँदैन ।
प्रहरीलाई जिताउन नवराज गुरुङले दुई गोल गर्दा खेमबहाुर थापा, लक्षु थापा, सुशील लामा र केश बरामले १–१ गोलको योगदान गर्नुभयो । खेल सुरु भएको सात मिनेटै गोल खाएको आर्मीको कमजोर रक्षापङ्तिको फाइदा उठाउँदै प्रहरीले लगातार ५ गोल थप्यो ।
बुधबार सम्पन्न खेल जित्दै मर्दी युनाइटेड र गहते फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मर्दी युनाइटेडले बागलुङ युनिटी क्लबलाई ०–६ गोल र गहते फुटबल क्लबले होली चाइल्डलाई ०–६ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
मर्दी युनाइटेडको जितमा आशिष राना मगर र अङ्कित गुरुङले २–२ गोल गर्दा टिकाराम गुरुङ र सामिल नेपालीले १–१ गोल गर्नुभयो । बागलुङ युनिटीको आयुष पौडेलले सान्त्वना गोल गर्नुभएको थियो । मर्दीले सेमीफाइनल प्रवेशका लागि बिहीबार हुने खेलमा बागलुङ सुधार केन्द्रको सामना गर्ने छ । केन्द्र दोस्रो संस्करणको जेसीज कप विजेता टोली हो ।
यस्तै, होली चाइल्डलाई पराजित गर्दा गहते युवा क्लबका मनिष ठकुरी र रोशन क्षेत्रीले २–२, सरोज तितुङ र आकाश थापाले १–१ गोल गर्नुभयो । गहतेले बिहीबार हुने दोस्रो क्वाटरफाइनल खेलमा बागलुङ कालिका युवा क्लबसँग प्रतिष्पर्धा गर्ने छ ।
प्रतियोगिताको चौथो दिन बिहीबार बागलुङ सुधार केन्द्रले मर्दी युनाइटेड र गुठी युनाइटेड बागलुङले आदर्श विद्यामन्दिर (एभिएम) सँग क्वाटरफाइनल खेल खेल्ने छन् ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२–१२ हजार रुपियाँ प्रदान गरिने छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई नगद १०–१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५–५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने छ ।