• २५ चैत २०८२, बुधबार

सल्यानलाई राष्ट्रिय स्तरमा चिनाउन टिमुर कप ब्याडमिन्टन प्रतियोगिता

blog

शंकर केसी

सल्यान, चैत २५ गते । टिमुर उत्पादनका लागि परिचित जिल्ला सल्यानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित कपुरकोटमा खुल्ला “टिमुर कप” ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । 

“समृद्धिका लागि वनस्पति” भन्ने मूल नाराका साथ वनस्पति विभागको ६६ औँ वार्षिकोत्सव तथा २७ औँ वनस्पति दिवसको अवसर पारेर कपुरकोटमा पालिकास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । 

वनस्पति विभाग अन्तर्गतको वनस्पति अनुसन्धान केन्द्र, सल्यानले जडिबुटीको सचेतना तथा टिमुरले परिचित सल्यानको पहिचानलाई फैलाउनका लागि प्रतियोगिताको आयोजना गरिएको जनाएको छ । यही चैत २८ गते जीवन ज्योति माध्यमिक विद्यालयको कभर्ड हल, कपुरकोट–५, रिममा प्रतियोगिता सञ्चालन हुनेछ । 

यो प्रतियोगिता खेलकुदमा सीमित नभई सल्यानको पहिचानसँग जोडिएको टिमुर लगाएतका जडीबुटीलाई प्रवद्र्धन गर्ने अभियानको रूपमा समेत लिइएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख, वैज्ञानिक अधिकृत डाक्टर मित्र पाठकले बताउनुभयो । 

दिवसकै सन्दर्भ पारेर केन्द्रले गत वर्ष पनि दुर्लभ वनस्पति काँकडसिंगेको संरक्षणमा सचेतना फैलाउने उद्देश्यले काँकडसिंगे कप प्रतियोगिता आयोजना गरेको थियो । 

कपुरकोट क्षेत्रमा रहेका विभिन्न संघ, संस्था, कार्यालय, व्यवसायीहरुको सहयोग र सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको अनुसन्धान केन्द्रले जनाएको छ । प्रतियोगितामा पालिका भित्रका खेलाडीहरूको सहभागिता रहने छ ।