काठमाडौँ, माघ १७ गते । नेपाल र चीनको युनान युथ महिला टोलीबिचको यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ ।
दशरथ रङ्गशालामा शनिबार भएको खेलमा नेपालले पाहुना टोली चीनलाई ३–१ गोलले हरायो । खेलमा सुरुवाती अग्रता चीनले लिएको थियो ।
सि झिओटिङले ४१औँ मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह बढाउनुभयो । नेपालले दोस्रो हाफमा तीन गोल गरेको थियो । नेपालकी सुक्रिय मियाँले ८४औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
८७औँ मिनेटमा कप्तान विर्सना चौधरीले गोल गर्दै नेपाललाई अगाडि बढाउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा सजनी स्याङ्तानले गोल गर्दै नेपाललाई सजिलै जिताउनुभयो ।
चिनिया नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चीनको युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया सङ्घको संयुक्त आयोजनामा दुई टोलीबिच मैत्रीपूर्ण फुटबल खेलिएको हो ।