काठमाडौँ, फागुन ११ गते । साविक विजेता भारतलाई आइसिसी टी–२० विश्वकप अन्तर्गत सुपर आठको खेलमा दक्षिण अफ्रिकाको नमिठो झट्का लागेको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हरायो । यससँगै टी–२० विश्वकपमा सन् २०२४ देखि भारतको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
भारतले सन् २०२४ को विश्वकप अपराजित रहँदै जितेको थियो । यस संस्करणमा पनि भारत समूहचरण देदि दक्षिण अफ्रिकाविरुद्ध सुपर आठको खेलसम्म अपराजित थियो ।
यस विश्वकपमा दक्षिण अफ्रिकाले भने आफ्नो अपराजित यात्रा कायम राखेको छ । यस्तै उसले अघिल्लो संस्करणको फाइनलमा खेपेको हारको बदलासमेत लिएको छ ।
जितका लागि दक्षिण अफ्रिकाले दिएको एक सय ८८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ११ रनमा समेटिएको थियो ।
भारतका लागि शिवम दुबेले सर्वाधिक ४२ रन बनाउनुभयो । यस्तै कप्तान सूर्यकुमार यादव र हार्दिक पान्ड्याले समान १८,१८, अविशेक शर्माले १५ र वासिङ्टोन सुन्दरले ११ जोड्नुभयो ।
भारतलाई कमजोर बनाउन बलिङमा दक्षिण अफ्रिकाका मार्को यानसेनले चार विकेट लिनुभयो । यस्तै केशव महाराजले तीन, कर्बिन वोसले दुई तथा कप्तान एइडेन मार्क्रमले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६३ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
उहाँले ३५ बलमा सात चौका र तीन छक्का हान्नुभयो । डेवाल्ड ब्रेभिसले ४५ र ट्रिस्टन स्टब्सले अविजित ४४ रन बनाउनुभयो । बलिङमा भारतका जसप्रित बुमराहले तीन विकेट लिनुभयो । यस्तै अर्शदीप सिंहले दुई तथा वरुण चक्रवर्ती र शिवम दुबेले एक एक विकेट लिनुभयो ।
जितसँगै सुपर आठको समूह ‘ए’मा रहेको दक्षिण अफ्रिकाले दुई अङ्क बनाएको छ । यस समूहमा दक्षिण अफ्रिका र भारतसँगै जिम्बाबे र वेस्ट इन्डिज रहेको छ । जिम्बाबे र वेस्ट इन्डिजको खेल सोमबार राति हुनेछ ।