काठमाडौँ, फागुन १६ गते । आइसिसी टी–२० विश्वकपको सेमिफाइनलमा पुगिसकेको इङ्ल्यान्डले सुपर आठको अर्को खेलमा न्युजिल्यान्डलाई हराएको छ ।
कोलम्बोमा शुक्रबार राति भएको खेलमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई चार विकेटले हरायो । यस खेलपछि समूह–२ को सेमिफाइनल समीकरण रोचक बनेको छ ।
इङ्ल्यान्डको जितले न्युजिल्यान्ड र पाकिस्तान दुबैको सेमिफाइनल समीकरण खुला बनेको छ । अन्तिम खेलमा पाकिस्तानले श्रीलङ्कामाथि फराकिलो जित निकालेमा पाकिस्तान अन्तिम चारमा पुग्ने छ ।
टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो । एक सय ६० रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९.३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
इङ्ल्यान्डको जितमा टम बान्टोनले सर्वाधिक ३३ रन बनाउनुभयो । यस्तै विल ज्याक्सले अविजित ३२, कप्तान ह्यारी ब्रुकले २६, साम करनले २४ र ज्याकोव बेथेलले २१ रन बनाउनुभयो ।
बलिङमा न्युजिल्यान्डका रचिन रविन्द्रले तीन विकेट लिनुभयो । यस्तै म्याट हेनरी, लोकी फर्गुसन र ग्लेन फिलिप्सले एक एक विकेट लिनुभयो ।
यसअघि न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाउनुभयो । यस्तै ओपनर टिम सेइफर्डले ३५, फिन एलेनले २९, ओपनर टिम सेइफर्टले २५, मार्क च्याम्पम्यानले १५ र कोल म्याककोन्साइनले १४ रन बनाउनुभयो ।
बलिङमा इङ्ल्यान्डका आदिल रसिद, विल ज्याक्स र रेहान अहमदले दुई दुई तथा लिम डसनले एक विकेट लिनुभयो । समूह–२ मा लगातार तेस्रो जित निकालेको इङ्ल्यान्ड ६ अङ्कसहित शीर्षस्थानमा छ ।
समान खेलबाट तीन अङ्क बनाएको न्युजिल्यान्ड दोस्रो स्थानमा छ । दुई खेलबाट एक अङ्क बनाएको पाकिस्तान तेस्रो र अङ्कबिहीन श्रीलङ्का अन्तिममा छ ।