काठमाडौँ, फागुन १० गते । सुदूरपश्चिम र गण्डकी प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम पुरुष र गण्डकी महिलामा च्याम्पियन बनेको हो ।
नेपाल हक्की सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा पुरुषतर्फ फ्लड लाइटमा भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशले २–२ गोलको बराबरी खेले । सुदूरपश्चिमले १२ तथा गण्डकी प्रदेशले नौ अङ्क जोडे । कोशी प्रदेश ६ अङ्कसाथ तेश्रो भयो ।
यस्तै महिलामा गण्डकी १२ अङ्कसाथ पहिलो, सुदूरपश्चिम नौ अङ्कसाथ दोश्रो तथा मधेश प्रदेश ६ अङ्कसाथ तेश्रो भयो । पुरुष र महिला दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार पाए ।
पुरुषमा सुदूरपश्चिमका महेश नेपाली उत्कृष्ट खेलाडी, गण्डकीका सङ्गम घर्तीमगर उत्कृष्ट डिफेन्डर, सुदूरपश्चिमका विवेक जोशी उत्कृष्ट गोलरक्षक, बागमतीका अनिश खड्का उदीयमान खेलाडी र कोशीका सुदिप चौधरी सर्वाधिक गोलकर्ता बन्नुभयो ।
महिलामा गण्डकीकी अङ्किता अधिकारी उत्कृष्ट खेलाडी, गण्डकीकी सन्जु मगर उत्कृष्ट गोलरक्षक, सुदूरपश्चिमकी करुण ठगुन्ना उत्कृष्ट डिफेन्डर र मधेशकी लक्ष्मनीयाकुमारी दास उदीयमान खेलाडी चुनिनुभयो । सुदूरपश्चिमकी बविता उराउ सर्वाधिक गोलकर्ता बन्नुभयो ।
विजेतालाई बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईं, राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबिच पुरस्कृत गर्नुभयो । पुरुष/महिलामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबाहेक समान पाँच पाँच प्रदेश टिम सहभागी थिए ।
फागुन ४ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी पुरुष र महिलाको राष्ट्रिय टोली बनाउन लागेको नेपाल हक्की सङ्घले जनाएको छ ।
राष्ट्रिय टोलीका खेलाडीलाई भारतको हक्की सङ्घको सहयोगमा भारतका तीन महिना तयारीका लागि पठाइने र त्यसपछि एसिया कप छनोटमा प्रतिस्पर्धा गराइने सङ्घको लक्ष्य छ ।