प्रवीणकुमार शर्मा
रौतहट, फागुन २१ गते । रौतहटमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार दिनको १२:३० बजेसम्म ४० प्रतिशत मत खसेको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ । जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान कार्य प्रारम्भ भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो । बिहान ७ बजेदेखि नै मतदाता उत्साहजनक रूपमा मतदान गर्न मतदान केन्द्र पुगेको गौर–३ मा रहेको सिँचाइ सब डिभिजन कार्यालय मतदान केन्द्र (क) का मतदान अधिकृत तिलकुमारी ढकालले जानकारी दिनुभयो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाभर उच्च सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । १६ नगरपालिका र दुई गाउँपालिकाका १ सय ५७ वडामा २ सय ७७ मतदान स्थल र ५ सय ४१ मतदान केन्द्र रहेका छन् ।
रौतहट क्षेत्र नं. १ मा ६७ मतदान स्थल र १ सय ३२ मतदान केन्द्र, क्षेत्र नं. २ मा ७२ मतदान स्थल र १ सय ३८ मतदान केन्द्र, क्षेत्र नं. ३ मा ७७ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र तथा क्षेत्र नं. ४ मा ६१ मतदान स्थल र १ सय ३४ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार गौर, जिल्ला अदालत गौर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर गरी तीन ठाउँमा अस्थायी मतदान केन्द्रसमेत रहेका छन् । रौतहटमा चार लाख ३६ हजार ६११ मतदाता छन् । जसमा महिला एक लाख ९६ हजार ३४३, पुरुष दुई लाख ४० हजार २६७ र अन्य एक जना रहेका छन् ।
रौतहटका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको छ । स्थानीय सुरक्षा कमाण्डरलाई समन्वय गरी कार्यसम्पादन गर्न रौतहट निर्वाचन क्षेत्र नं. १ मा प्रमुख मालपोत अधिकृत छविलाल नेपाली, हुलाक अधिकृत देवनाथ यादव र पशु चिकित्सक इन्दुराय यादव खटाइएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादव र प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमलाई खटाइएको छ ।
निर्वाचन क्षेत्र नं. ३ मा डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साह र शिक्षालय प्रमुख रवीन्द्र आचार्य तथा निर्वाचन क्षेत्र नं. ४ मा सिनियर डिभिजनल ई. दीपककुमार मिश्र र प्रमुख भन्सार अधिकृत विकास रजकलाई खटाइएको छ ।