राजु लामिछाने
रुकुमपश्चिम, फागुन २१ गते । रुकुमपश्चिममा प्रतिनिधि सभा सदस्य पदको निर्वाचन अन्तर्गत मतगणना स्थल निर्माण गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मुसीकोट नगरपालिका-१, खलङ्गास्थित जिल्ला समन्वय समितिको हलमा मतगणना स्थल तोकिएको जनाएको हो ।
सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीका अनुसार मतगणना स्थलमा सुरक्षा र पारदर्शितालाई उच्च प्राथमिकता दिइएको छ । उहाँका अनुसार हल परिसरमा सिसी टिभी क्यामेरा जडान गरिएको छ भने हलमा तारजाली लगाइएको छ ।
हलमा कर्मचारीहरुले गणना गर्ने र तारजाली बाहिर दलका प्रतिनिधिहरू रहने गरी गणनास्थल तयार गरिएको छ । गणना कार्य सहज बनाउन हलभित्र भुइँमा म्याट्रेस बिछ्याइएको छ ।
मतपेटिका मतगणना स्थलमा राति १ बजे भित्र ल्याइसक्ने तयारी रहेको छ । फागुन २२ गते बिहानसम्म सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेपछि मात्र मतगणना कार्य अघि बढाइने बताइएको छ ।