• ३ फागुन २०८२, आइतबार

आइसिसी टी–२० विश्वकप

वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध बन्दै बाहिरियो

blog

ब्याटिङ गर्दै नेपालका दीपन्द्रसिंह ऐरी । तस्बिर : क्यान

काठमाडौँ, फागुन ३ गते । नेपाल आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको छ । समूह ‘सी’अन्तर्गत मुम्बईस्थित वनखेडे मैदानमा आइतबार भएको खेलमा नेपाल टेस्ट टोली वेस्ट इन्डिजसँग नौ विकेटले स्तब्ध बन्यो । 

समूहमा लगातार तेस्रो हार खेपेसँगै नेपाल बाहिरिएको हो । नेपाललाई हराएसँगै लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरेको छ । 

समूहमा ६ अङ्क बनाएको वेस्ट इन्डिज शीर्षस्थानमा छ । समान खेलबाट चार अङ्क बनाएको इङ्ल्यान्ड दोस्रो स्थानमा छ । स्कटल्यान्ड र इटालीले दुई दुई अङ्क बनाएको छ । समूहमा अङ्कको खाता खोल्न नसक्ने टोली नेपाल मात्र हो । 

नेपाल यसअघि पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै जित नजिक पुगेपनि चार रनले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेको नेपालले विश्वकप डेब्यू टोली इटालीलाई १० विकेटको लज्जासपद नतिजा सुम्पिएको थियो । 

जितका लागि एक सय ३४ रनको सामान्य लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । वेस्ट इन्डिजका लागि ओपनर ब्रान्डन किङले २२ रन बनाउनुभयो । 

यस्तै कप्तान साई होपले अविजित अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६० रन बनाउनुभएका उहाँले पाँच चौका र तीन छक्का हान्नुभयो । सिमरन हेटमायरले अविजित ४६ रन बनाउनुभयो । उहाँले ३२ बलमा चार चौका र दुई छक्का हान्नुभयो । बलिङमा नेपालका नन्दन यादवले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ्सको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । सुरुवातमा खराब ब्याटिङको सामना गरेको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्नुभयो । सर्वाधिक ५८ रन बनाउनुभएका उहाँले तीन चौका र तीन नै छक्का हान्नुभयो ।

यससँगै दीपेन्द्रसिंह टी–२० विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बन्नुभएको छ । यसअघि सन् २०१४ को विश्वकपमा सुवास खकुरेलले अर्धशतक बनाउनुभएको थियो । 

यसअघि पावर प्लेमै तीन विकेट गुमाएको नेपालका ओपनर कुशल भुर्तेल एक रनमा आउट हुनुभयो । यस्तै आशिफ शेख ११ रन जोड्दै पेभेलियन फर्कनुभयो ।

कप्तान रोहित पौडेल पाँच र आरिफ शेख  दुई रन जोड्दै बाहिरिएपछि नेपालको आशा दीपेन्द्रसिंह र लोकेश बममा रहेको थियो । लोकेश १३ रनमा क्याच आउट हुनुभयो । 

त्यसपछि गुल्शन झाले ११ रन बनाउनुभयो । सोमपाल कामीले अविजित २६ रन बनाउनुभयो । उहाँले १५ बलमा चार चौका हान्नुभयो । सोमपाल नेपालका लागि लगातार तेस्रो विश्वकप खेल्ने एक्लो खेलाडी समेत बन्नुभएको छ । करण केसी एक रनमा क्याच आउट हुनुभयो । 

बलिङमा वेस्ट इन्डिजका जासोन अहोल्डरले चार विकेट लिनुभयो । उहाँले पूरा चार ओभर बलिङ गर्दैै २७ रन खर्चिनुभयो । यस्तै म्याथ्यु फर्ड, अकिल हुसेन, समर जोसेफ र रोस्टोन चेसले एक एक विकेट लिनुभयो । 

नेपालले अब समूह चरणको अन्तिम खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालका लागि उक्त खेल प्रतिष्ठाको लडाईं हुनेछ । 

नेपालले समग्रा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।