सिराज खान
नेपालगन्ज, फागुन २१ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार बिहानैबाट सुरु भएको मतदान कार्य उत्साहजनक रूपमा शान्तिपूर्ण तरिकाले चलिरहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता एवं सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीले बाँके जिल्लामा दिउँसो १२ बजेसम्म करिब २५ प्रतिशत मतदान भएको जानकारी आएको बताउनुभयो।
उहाँले बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको भिड लागेको बताउनुभयो ।मतदान गर्न आउनेमा महिलाको सङ्ख्या उल्लेख रूपमा देखिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
अहिले जिल्लाभरि मतदान शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भइरहेको छ। मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उल्लेखनीय उपस्थिति देखिएको छ । युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा निकाय तथा निर्वाचनकर्मी सक्रिय रूपमा खटिएका छन्। हालसम्म कुनै अप्रिय घटना नभएको र मतदान प्रक्रिया सहज रूपमा अगाडि बढिरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
स्थानीय मतदाताले आफ्नो प्रतिनिधि छान्ने अवसरलाई उत्सवका रूपमा लिँदै उत्साहपूर्वक मतदान गरिरहेका छन् ।
नेपालगन्ज २ मा भेटिनुभएका मतदाता हारुन अलिले यो ५ वर्षमा आउने अवसरलाई सही सदुपयोग गर्न मतदान गर्न आएको बताउनुभयो ।