• ९ पुस २०८२, बुधबार

निर्वाचन सुरक्षा योजना तयार

blog

  • ४० दिनका लागि एक लाख ३६ हजार अस्थायी प्रहरी 
  • निर्वाचनअघि, निर्वाचनको अवधि र निर्वाचनपछिको सुरक्षा अवस्थाबारे छलफल गरी सोही अनुसारको सुरक्षा तयारी तथा रणनीति अपनाउने निर्णय

काठमाडौँ, पुस ९ गते । आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ एक लाख ३६ हजार म्यादी (अस्थायी) प्रहरी भर्ना गरिने भएको छ । 

‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना’ अनुसार प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षार्थ आवश्यक जनशक्ति पदपूर्तिका लागि म्यादी प्रहरी भर्ना कार्यविधि तयार गरी स्वीकृतिका लागि गृह मन्त्रालयसमक्ष पेस गर्ने तयारी गरेको छ । कार्यविधिको मसौदामा निर्वाचन सुरक्षार्थ ४० दिनका लागि एक लाख ३६ हजार ८११ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीबाट ७७ हजार ७७ जना प्रत्यक्ष रूपमा परिचालन हुने र थप अपुग जनशक्ति एक लाख ३६ हजार म्यादी प्रहरी भर्ना गर्ने गरी गृहकार्य भइरहेको बताउनुभयो । 

निर्वाचन अघि, निर्वाचनको अवधि र निर्वाचनपछि गरी परिचालन हुने म्यादी प्रहरीका लागि प्रहरीको सिपाही सरहको तलब सुविधा, भौगोलिक अवस्था अनुसार पोसाक, दैनिक रासन तथा खाजा भत्ता र भ्रमण भत्तासमेत उपलब्ध गराइने भएको छ ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ देशभरका १६५ निर्वाचन क्षेत्रका १० हजार ९६७ मतदान स्थल रहने प्रारम्भिक आकलन गरिसकेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरीबाट अपुग हुने जनशक्ति म्यादी प्रहरीमार्फत भर्ना गर्ने तयारी गरेको हो । कार्यालयले तयार पारेको म्यादी प्रहरी भर्ना कार्यविधि कानुन शाखाले थप अध्ययन गरी सुझाव र आवश्यक परिमार्जनसहित अन्तिम रूप दिएपछि निर्णयका लागि गृह मन्त्रालयमा पेस गर्ने तयारी गरेको छ । 

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पनि निर्वाचन सुरक्षार्थ थप आवश्यक जनशक्ति म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । आइतबार बसेको उक्त बैठकमा गृहमन्त्री अर्याल, प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की, सशस्त्रका आइजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सैनिक अधिकारीको उपस्थिति रहेको थियो ।

समितिको बैठकले निर्वाचनअघि, निर्वाचनको अवधि र निर्वाचनपछिको सुरक्षा अवस्थाबारे छलफल गरी सोही अनुसारको सुरक्षा तयारी तथा रणनीति अपनाउने निर्णय पनि गरेको छ । निर्वाचनको सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई छुट्टाछुट्टै तीन वटा घेरामा परिचालन गरिने भएको छ । जस अनुसार नेपाल प्रहरी र त्यसमातहत रहने म्यादी प्रहरी पहिलो घेरामा तैनाथ हुने छन् । 

सशस्त्र प्रहरी दोस्रो घेरा र नेपाली सेना तेस्रो घेरामा परिचालन गरिने भएको छ । सेना परिचालन गर्ने निर्णय भइसकेको छ । नेपाली सेनाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आन्तरिक र एकीकृत सुरक्षा योजनासँगै आफ्नामातहतका निकायलाई परिचालन गरिसकेको छ । ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ कार्ययोजना अनुसार एकीकृत सुरक्षा योजना अनुसार नेपाल प्रहरीले कार्य विभागका प्रमुख उमाप्रसाद चतुर्वेदीको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय सुरक्षा सेल गठन गरी आवश्यक पूर्वतयारी सुरु गरेको छ । 

त्यसै गरी प्रदेश प्रहरी प्रमुख डिआइजीको नेतृत्वमा प्रदेश प्रहरी सेल र जिल्ला प्रहरी प्रमुखको नेतृत्वमा जिल्ला निर्वाचन सेल गठन भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सशस्त्रले सशस्त्र प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ । त्यसै गरी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा बाहिनी निर्वाचन सेल र सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गण निर्वाचन सेल र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा गुल्म निर्वाचन सेल गठन भई निर्वाचन सुरक्षा तयारी सुरु गरिएको छ ।

केन्द्रीय सुरक्षा समितिले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा हुन सक्ने सुरक्षा चुनौती विश्लेषण गरी निर्वाचनमा भाग नलिने समूह, फरार कैदी र जेनजी आन्दोलनमा लुटिएका केही हतियारबारे निगरानी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । निर्वाचन सुरक्षार्थ परिचालन हुने चार वटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्न एकीकृत निर्वाचन सुरक्षा योजना तयार गरी सोही अनुसारको तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।