• ३० कात्तिक २०८२, आइतबार

प्रहरी सेवामा आकर्षण बढाउनु जरुरी

blog

काठमाडौँ, कात्तिक ३० गते । नागरिकको शान्ति सुरक्षाको नजिकको साथी प्रहरी सेवालाई थप आकर्षक र प्रभावकारी बनाउनु आवश्यक देखिएको छ । प्रहरी सेवा छोडेर अन्य पेसा व्यवसायतिर लाग्ने क्रम देखिएसँगै यस्तो आवश्यकता देखिएको हो । 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि नेपाल प्रहरीमा जागिर छाड्नेको सङ्ख्या गत वर्षभन्दा बढी देखिएका कारण पनि प्रहरी सेवाप्रति आकर्षण बढाउनुपर्ने भएको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो दुई महिनामा मात्र राजीनामा दिनेको सङ्ख्या ४१५ जना पुगेको छ । यो सङ्ख्या गत वर्षको तुलनामा बढी देखिएको छ । शान्तिपूर्ण भनिएको जेनजी प्रदर्शन हिंसात्मक बनेसँगै सुरक्षा निकायले बल प्रयोग गर्दा ७६ प्रदर्शनकारीको ज्यान गयो, सयौँ घाइते भए । सो घटनापछि प्रहरी मुख्यालय नक्सालबाहेक अधिकांश कार्यालयमा आगजनी र तोडफोड भयो । 

प्रहरीका हतियार, पोसाक, उपकरणलगायतका सामग्री लुटपाट भयो । तीन जना निशस्त्र प्रहरीलाई सडकमा घिसारी निर्मम रूपमा हत्या गरियो । निशस्त्र प्रहरीलाई निर्वस्त्र बनाई आत्मसमर्पण गराएर अर्धनग्न सडकमा डुलाउने, लखेटी लखेटी निर्मम रूपमा कुटपिट गर्ने घटनासमेत भयो । नागरिकको सुरक्षामा तैनाथ कतिपय प्रहरीलाई नै जोगाउन एयरलिफ्ट (हवाई उद्धार) गर्नुपर्ने अवस्था बनेसँगै विक्षिप्त बनेका कतिपय प्रहरी पारिवारिक कारण देखाउँदै सङ्गठन सेवा छाड्न थालेका हुन् । 

पछिल्लो पाँच वर्षमा विभिन्न कारणले जागिर छाड्नेको सङ्ख्या चार हजार ८०७ पुगेको छ । आव २०७८/७९ मा ४९९ जनाले राजीनामा दिएकोमा आव २०७९/८० मा ६३३, आव २०८०/८१ मा ७९१, आव २०८१/८२ मा दुई हजार ३७३ र आव २०८२/८३ मा ५११ जनाले राजीनामा दिएकोमा पछिल्लो दुई महिनामा मात्र ४१५ जनाले राजीनामा दिएका छन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबीनारायण काफ्लेले राजीनामा दिने अधिकांश प्रहरी पेन्सन अवधि पूरा गरेका र नयाँ अवसर पाउने रहेको बताउनुभयो । 

प्रहरी उच्च स्रोतका अनुसार राजीनामा दिने सबै प्रहरीले पारिवारिक समस्या देखाउने गरेका छन् । राजीनामा स्वीकृत गरेपछि नाम उल्लेख नगर्ने सर्तमा एक पूर्वहवलदारले इज्जत र सम्मान नै नपाएपछि राजीनामा दिने निर्णयमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका विभिन्न आन्दोलनमा जस्तै यस पटक पनि तोकिएको जिम्मेवारी अनुसार नै प्रहरी अग्रपङ्क्तिमा खटिएको थियो । जसरी प्रहरीलाई नै प्रमुख निशाना बनाइयो र हामीमाथि जुन व्यवहार भयो, यसले प्रहरीमा बस्न मन लागेन ।” पछिल्लो समय राजीनामा दिने प्रहरीको सङ्ख्या वृद्धि भएपछि यसलाई रोक्न प्रहरी प्रधान कार्यालयले मनोपरामर्शसँगै विभिन्न कल्याणकारी योजना अघि सारेको छ । 

नवनियुक्त आइजिपी दानबहादुर कार्कीले पदभार ग्रहणसँगै प्रहरीको मनोबल उकास्ने उद्देश्यले सहुलियत पूर्ण कर्जा, योग्यताका आधारमा सरुवा बढुवा गर्ने प्रतिबद्धतासँगै रासन वृद्धिलगायतका योजना अघि सार्नुभएको छ । सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्दै समग्र प्रहरीको मनोबल बढाउँदै कार्कीले जनताको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारले प्रहरी सङ्गठनलाई अझ बलियो र सुदृढ बनाउने गरी आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।