• २९ भदौ २०८२, आइतबार

थपियो महँगीको मार

blog

काठमाडौँ, भदौ २९ गते ।  जेनजीको आन्दोलन र निषेधाज्ञा र कफ्र्युका कारण काम र दाम दुवै गुमाएका सर्वसाधारण उपभोक्ता दसैँको मुखमा महँगीको मारमा परेका छन् । दैनिक उपभोग्य वस्तु तेल र दाललगायतको मूल्य बढेर उपभोक्ता झनै महँगीको मारमा परेका हुन् । 

कालीमाटीको थोक पसलमा काम गरेर परिवारको खर्च धान्दै आउनुभएका विजय खतिवडाको यसबिचमा काम र दाम दुबै बन्द भयो । काम गरेका दिनमा मात्रै कमाइ हुने गरेको बताउने खतिवडाले भन्नुभयो, “कमाइ छैन, दसैँ आएको छ । खाने सामान दिनदिनै महँगो भएको छ ।” कालीमाटीको सडकछेउमा व्यापार गरेर दुई छोराछोरीसहित आफ्नो निर्वाह गर्दै आएकी सरिताले पनि निषेधाज्ञाले गर्दा व्यापार गर्न नपाएर छोराछोरीलाई भोकभोकै राख्नुपर्ने अवस्था आएको गुनासो गर्नुभयो । सरिताले भन्नुभयो “एकातिर महँगी, अर्कोतिर काम छैन, कसरी बाँच्ने ?”

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातायता खानेतेलको भाउ लिटरमा १० रुपियाँ महँगिएको छ । दाल र गेडागुडी पनि किलोमा पाँचदेखि १० रुपियाँ महँगो भएको छ । सङ्घका अनुसार यी वस्तुको भाउ आन्दोलनअघि नै बढेको हो । सङ्घका वरिष्ठ उपाध्यक्ष नरेन्द्र खड्कीले पसलमा उपलब्ध भएको खाद्यवस्तु महँगो नगरी बिक्री गर्दै आएको दाबी गर्नुभयो । देशमा सङ्कट परेका बेला बिनाकारण कसैले कालोबजारी गरे त्यस्तालाई सरकारका नियमनकारी निकायले अनुगमन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो । सङ्घका महासचिव अमुलकाजी तुलाधरले थोकबाट सामान ल्याउँदा महँगो भएमा महँगोमा नै बेच्नुपर्ने भन्दै देशको यो अवस्था थोकमा नै महँगो बनाए अनुगमन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो । 

आन्दालेन सुरु भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी सामान खरिद स्टक गर्न थालेकाले आवश्यकताभन्दा बढी सामान खरिद नगर्न उपभोक्ता सचेतनाको पनि आवश्यकता रहेको महासचिव तुलाधरको भनाइ छ । 

नेपाल थोक व्यापार सङ्घले भने तत्काल खाद्यवस्तुको सामान रहे पनि यही अवस्था लम्बिएमा ढुवानीका कारण महँगो हुन सक्ने बताएको छ । सो सङ्घले नेपालमा खानेतेल र दालको कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट आयात गर्नुपर्ने भएकाले देशको पछिल्लो परिस्थिति आउनुपूर्व नै बढेको तर अन्य वस्तुको भाउ स्थिर रहेको दाबी गरेको छ । 

बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले पछिल्लो समयमा उत्पन्न परिस्थितिका कारण बजारको नियमित अनुगमन प्रभावित भएको स्वीकार गर्नुभयो । उहाँले बजारमा पर्याप्त खाद्यवस्तुको मौज्दात रहेको कुरा यसअघि व्यापारीसँगको छलफलमा आएकाले देशमा सङ्कट पर्नेबित्तिकै खाद्यवस्तुको मूल्यवृद्धि नगर्न र नगराउन सबै व्यवसायीलाई आग्रह पनि गर्नुभयो ।