काठमाडौँ, भदौ २८ गते । मुलुकमा सृजित विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै देशका अधिकांश कारागारबाट भागेका १३ हजारभन्दा बढी कैदीमध्ये अधिकांश अझै फरार रहँदा समाजमा सुरक्षाको चिन्ता र त्रास बढेको छ ।
फरारमध्ये झन्डै साढे दुई हजार कैदी थुनुवा र बालबन्दी (बालबिझ्याइँकर्ता) कारागारको सम्पर्कमा आएका छन् तर गम्भीर प्रकृतिका अपराधमा संलग्न अधिकांश कैदी फरार रहेका कारण समाजमा भने सुरक्षाको चिन्ता बढेको छ । कारागार व्यवस्था विभागका अनुसार काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागार (जगन्नाथदेवल) तोडफोड गरी पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित झन्डै ११ हजार कैदी फरार छन् ।
कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार शुक्रबार दिउँसोसम्म करिब दुई हजार कैदीबन्दी आफैँ सम्पर्कमा आएका छन् । फरार सबै कैदीबन्दीलाई जतिसक्दो छिटो कारागार फर्किन आग्रह गर्दै महानिर्देशक शर्माले भन्नुभयो, “आफैँ कारागार फिर्ता नहुने कैदीलाई तत्काल पक्राउ गरी थप कसुर सरह जीवनभर कुनै पनि माफी मिनाह हुने छैन ।”
शर्माले सुरक्षाको अवस्थाका कारण केही कैदी कारागारबाहिर निस्कने अवस्था भए पनि फैसला गर्ने निकाय (अदालत) को आदेशबिना कारागारबाहिर बस्न नमिल्ने भएकाले सबै कैदीबन्दीलाई तत्काल सम्बन्धित कारागारमा फर्किन आग्रह गर्नुभयो । कारागार व्यवस्था विभागले फरार रहेका सबै कैदीलाई तत्काल पक्राउ गरी कारागारमा फर्काउन, सबै सुरक्षा निकाय, सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ ।
यसका साथै विभागले नागरिक समाज र विभिन्न सरोकारवाला निकायसँग त्यस्ता व्यक्तिको जानकारी उपलब्ध गराई कानुनी दायरामा ल्याउन सहयोग गर्न पनि आग्रह गरेको छ । नवयुवा पुस्ता (जेनजी) ले गरेको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक भएपछि सुरक्षाको कारण देखाउँदै भदौ २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागारबाट बाहिरिएको सूचनापछि अन्य कैदीले जेल नै तोडफोड गरी भाग्ने क्रम सुरु भएको थियो ।
यो क्रमलाई सुरक्षा निकायले नियन्त्रणमा लिन नसक्दा ठुलो सङ्ख्यामा कैदी जेल तोडेर भागी फरार भएपछि समाजमा त्रास बढेको छ । अधिकांश प्रहरी युनिट प्रदर्शनकारीले ध्वस्त पारेका कारण प्रहरीको अनुपस्थितिमा त्यस्ता अपराधीले कुनै घटना गर्न नसकून् भनी स्थानीय नै एकताबद्ध भई टोल समाजको सुरक्षा दिन थालेका छन् । काठमाडौँ महानगरपालिका–३, वसुन्धराका स्थानीय शिवप्रसाद कँडेलले अपराधमा संलग्न भएको अभियोगमा कारागारमा रहेको कैदी फरार भई बाहिर देखिन थालेपछि आफूहरू असुरक्षित महसुस गरेको बताउनुभयो ।
त्यसै गरी श्रीकृष्ण नगर टोल विकास संस्थाका उपाध्यक्ष पारु अधिकारीले अपराधी खुलेआम हिँडडुल गर्न थालेपछि स्थानीय नै विभिन्न समूह बनाएर गस्ती गर्न थालिएको बताउनुभयो । बुढानीलकण्ठ नगरपालिका–४ को सुनाखरी टोल विकास समिति अध्यक्ष ध्रुव केसी भन्नुहुन्छ, “शङ्कास्पद अपरिचित व्यक्ति समूहबाट हुन सक्ने अपराधबाट जोगिन सामुदायिक एकता नै चाहिन्छ भनेर हामीले निगरानी र गस्ती थालेका छौँ ।”