काठमाडौँ, भदौ २४ गते । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । आर्थिक वर्ष २०८१/८२ मा युरोपमा ७६ हजारभन्दा बढी युवा रोजगारीका लागि श्रम स्वीकृति लिएर गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आवमा आठ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा त्यो सङ्ख्याले युरोपका लागि श्रम स्वीकृति लिएर गएका छन् ।
तीन आवमा वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क विश्लेषण गरेर हेर्दा युरोप जानेको सङ्ख्या क्रमशः बढेको छ । अघिल्लो आव २०८०/८१ मा युरोपका क्रोएसिया, साइप्रस, जोर्डन माल्टा, मौरिसस, रोमानिया र पोल्यान्ड, साइबेरियालगायतका देशमा जाने युवाको सङ्ख्या ६६ हजारभन्दा बढी छ जबकि आव २०८०/८१ मा सो अवधिमा रोमानिया, क्रोएसिया, साइप्रस, जोर्डन, माल्टा, मौरिसस, पोर्चुगल, पोल्यान्ड, टर्की, इटाली, साइबेरियालगायतका युरोपेली देशमा ६६ हजारभन्दा बढी रोजगारीका लागि गएका थिए ।
आव २०७९/८० मा क्रोएसिया, साइप्रस, जोर्डन, माल्टा, मौरिसस, रोमानिया र पोल्यान्ड, साइबेरियालगायतका देशमा झन्डै ५० हजार रोजगारीका लागि गएका थिए ।
व्यक्तिगत रूपमा जाने धेरै
युरोप रोजगारीमा जाने अधिकांश व्यक्तिगत रूपमा जाने गरेका छन् । युरोपका १०/१२ देशमा गएका श्रमिकमध्ये संस्थागतभन्दा व्यक्तिगत रूपमा जाने बढी छन् । विभागका अनुसार गत आवमा युरोपमा १२ देशमा ७८ हजारभन्दा बढी युवा गएकोमा व्यक्तिगत रूपमा जाने ८० प्रतिशतभन्दा बढी रहेका छन् भने संस्थागत रूपमा जाने २० प्रतिशत मात्रै छन् ।
गत आवमा रोमानिया जानका लागि २७ हजार ८७४ जनाले श्रम स्वीकृति लिएको संस्थागत रूपमा एक हजार ३९० जना र बाँकी सबै व्यक्तिगत रूपमा गएका छन् । क्रोएसिया जानका लागि १३ हजार ८३५ जनाले श्रम स्वीकृति लिएकोमा सबैले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन् । त्यस्तै माल्टा रोजगारीका लागि पाँच हजार ४५८ जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदा २१० जनाले मात्र संस्थागत रूपमा श्रम स्वीकृति लिएको पाइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले युरोपको रोजगारीलाई आगामी दिनमा व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
संस्थागत रूपमा असुली गर्नेले समेत विज्ञापन गर्दा ५०/६० हजार उल्लेख गरेर पाँच लाखदेखि १४ लाखसम्म असुल्छन् । यसरी असुली हुने रकमको आधाभन्दा बढी रकम विदेशकै एजेन्टलाई जाने गरेको छ । युरोप रोजगारीको मुख्य बेथिति रोजगारीमा जान पाएकाभन्दा पटक पटक कोसिस गरेर पनि जान नपाएका वा विविध बहानामा फसेकालाई थाहा छ । अनुमानित आकलन अनुसार हरेक एक सय युवाले युरोप रोजगारीका लागि प्रयास गर्दा सफल हुनेको सङ्ख्या २०/३० मात्र रहेको छ ।
युरोप रोजगारी व्यक्तिगत रूपमा श्रमिक पठाउन अवैधानिक रहेको अवस्थामा व्यक्तिगत रूपमा श्रम स्वीकृति दिने नाममा प्रतिव्यक्ति रोजगारीमा जानेबाट असुली हुने गरेको अवस्था छ । यसरी असुली हुने रकम सात लाखदेखि १०/१५ लाख रुपियाँसम्म रहने गरेको बताइएको छ ।