काठमाडौँ, भदौ २४ गते । ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा सोमबार १९ जनाको मृत्यु भएको छ । प्रदर्शनले हिंसात्मक रूप लिँदा काठमाडौँमा १७ र सुनसरीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । माइतीघर–नयाँ बानेश्वरमा सोमबार ‘१२ देखि २८ वर्ष उमेर समूह’ (जेनजी पुस्ता) ले शान्तिपूर्ण गर्ने भनिएको प्रदर्शन हिंसात्मक बन्दा सो घटना भएको हो । प्रदर्शनकारी र सुरक्षाकर्मीबिचको झडपमा दुई सयभन्दा बढी प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका छन् ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालका अनुसार हिंसात्मक प्रदर्शनमा घाइते भएका प्रदर्शनकारी र सुरक्षाकर्मीको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध तथा मुलुकमा सुशासनको माग गर्दै ‘जेनजी’ पुस्ताले काठमाडौँको माइतीघरमा शान्तिपूर्ण स्वःस्फूर्त साङ्केतिक विरोध प्रदर्शनको आयोजना गरेका थिए ।
अधिकांश स्कुल कलेजमा अध्ययनरत विद्यार्थी सहभागी रहेको शान्तिपूर्ण प्रदर्शनमा अनधिकृत व्यक्ति प्रवेशपछि उत्तेजित समूह निषेधित क्षेत्र प्रवेश गर्दै सुरक्षाकर्मीमाथि आक्रमण, तोडफोड र आगजनी सुरु गरेका थिए । प्रदर्शनकारी निषेधित क्षेत्र नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनतर्फ प्रवेश गर्दै पर्खाल तोडफोड, आगजनी गर्दै संसद् भवन परिसरमै प्रवेश गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास, वाटर क्यानन (पानीको फोहरा) प्रहार गरे । स्थिति थप तनावग्रस्त बनेर प्रदर्शनकारीको भिड संसद् भवन परिसरमै प्रवेश गरेपछि प्रहरीले गोली चलाउँदा प्रदर्शनकारीतर्फ ठुलो क्षति भएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले शान्ति सुरक्षा कायम गर्न बाध्य भई बल प्रयोग गर्नु परेको बताउनुभयो । झडपमा परी गम्भीर घाइते भएका सुरक्षाकर्मी र प्रदर्शनकारीको ट्रमा सेन्टर, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मेडिकल कलेज, एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबार, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा कफ्र्यु आदेश जारी गरी सेना परिचालन गरिएको छ ।
यसैबीच सोमबार राति १२ बजेदेखि मङ्गलबार बिहान ९ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार सङ्ग्रहालय, सिंहदरबार क्षेत्र आसपासमा कफ्र्यु आदेश जारी गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भयो
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तथा मुलुकमा सुशासनको माग गर्दै प्रदर्शन गरेको जेनजीले आन्दोलनमा व्यापक घुसपैठ हुँदा घटना अनपेक्षित हुन पुगेको जनाएको छ । जेनजी प्रदर्शनका अगुवा सुधन गुरुङले शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भई त्यस्तो समूहले हिंसात्मक गतिविधि गरेका कारण दुःखद घटना हुन पुगेको बताउनुभयो ।
उहाँले प्रदर्शनमा असम्बन्धित व्यक्तिको प्रवेश भएको र उनीहरूले नै भिडलाई हिंसात्मक बनाउने गरी गरेको गतिविधिको सम्पूर्ण रेकर्ड आफूहरूसँग रहेको पनि दाबी गर्नुभयो । माइतीघरदेखि तीनकुनेसम्म बुलेट बाइकमा हुइकिँदै प्रदर्शनकारीलाई उक्साउने गरेको पाइएकाले घुसपैठ भएको गुरुङले बताउनुभयो । “हामीले विरोध प्रदर्शनलाई शान्तिपूर्ण रूपमा सिर्जनात्मक शैलीमा गर्ने गरी तयारी गरेका थियौँ, सोही अनुसार स्वयंसेवकसमेत परिचालन ग¥यौँ तर जब असम्बन्धित व्यक्तिको घुसपैठ भयो, त्यसपछि हिंसात्मक गतिविधि सुरु भयो ।’’ गुरुङले प्रदर्शनमा घुसपैठ नहोस् भनी आफूहरूले सतर्कता अपनाउँदै त्यस्ता गतिविधिमाथि निगरानी गरी असम्बन्धित व्यक्तिलाई प्रदर्शन स्थलबाट बाहिर निकालिएको समेत बताउनुभयो । हिंसात्मक प्रदर्शन रोक्न खोज्दा त्यस्तो समूहले आयोजक जेनजीकै युवालाई आक्रमण गरी कतिपयलाई घाइते बनाएको पनि गुरुङले बताउनुभयो ।
के हो जेनजी ?
सन् १९९७ देखि २०१२ सम्मको दशकमा जन्मिएका मानिसलाई ‘जेनरेसन जेड’ अर्थात् ‘जेनजी’ भन्ने गरिएको छ । यो उमेर समूहका ‘नेपो बेबी’ अर्थात् ‘नेपटिजम बेबी’ जुन अगुवा वा प्रसिद्धि कमाएका व्यक्तिका छोराछोरीलाई नामकरण गरिएको छ । ख्यातिप्राप्त व्यक्तिका सन्तानले आफ्नो क्षमताबाट मात्रै नभई आमाबुवाको प्रसिद्धिबाट फाइदा लिई सफलता हासिल गरेको युवा चिनिन्छन् । नेपटिजमको ल्याटिन अर्थ नेपज अर्थात् भतिजाभतिजी, भान्जाभान्जी’ (नेफ्यु) हुन्छ ।
राज्य सत्तामा भतिजाभतिजी, भान्जाभान्जीलगायतलाई नियुक्ति दिने सन्दर्भमा उक्त शब्द प्रचलनमा आएको थियो । न्युयोर्क पत्रिकाले सन् २०२२ को अन्त्यतिर ‘दी इयर अफ दी नेपो बेबी’ शीर्षकको मूल समाचार लेखेपछि यो शब्द बढी चर्चामा आएको थियो । गत साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरणमा आउन नमानेका सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय बनाउने निर्णय कार्यान्वयनमा ल्याएसँगै नेपालमा जेनजी पुस्ताले विरोधस्वरूप शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका थिए । प्रदर्शनमा आउनुभन्दा केही दिनअगाडिबाटै ‘जेनजी’ पुस्ताले कतिपय नेताका एवं प्रसिद्ध व्यक्तिका छोराछोरी र गरिब जनताका सन्तानका तस्बिर राखेर सामाजिक सञ्जालमा तस्बिर प्रदर्शन गर्न थालेका थिए ।
सुनसरीमा दुई जनाको मृत्यु
इनरुवा समाचारदाताका अनुसार सुनसरीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा दुवैको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीसहित १० जना घाइते भएका छन् । घाइतेको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शन अनियन्त्रित बनेपछि अवस्थालाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।
मुख्यमन्त्री कार्यालय तोडफोड
जेनजी प्रदर्शनकारीले कास्कीको पोखरामा रहेको गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय तोडफोड गरेका छन् । कास्की समाचारदाताका अनुसार सुरक्षाकर्मीसहित तीन जना प्रदर्शकारी घाइते भएका छन् । २९ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जना किशोरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
रुपन्देहीमा कफ्र्यु
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बुटवल र भैरहवा क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । एक सूचना जारी गर्दै प्रशासनले अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरेको हो । त्यसै गरी धरान–२, भानुचोकबाट नारा लगाउँदै छाता चोक, चतरालाइन धरान उपमहानगरपालिकाको कार्यालय हुँदै पुतली लाइनबाट पुनः भानुचोक मा आएर प्रदर्शन गरेका छन् । यसै गरी पर्सा समाचारदाताका अनुसार वीरगन्जमा सोमबार राति ९ बजेदेखि मङ्गलबार बिहान ९ बजेसम्म स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।
फिदिममा प्रहरीलाई फूल
पाँचथरको सदरमुकाम फिदिममा गरिएको प्रदर्शन शान्तिपूर्ण र सिर्जनात्मक देखिएको छ । फिदिम समाचारदाताका अनुसार जिल्ला प्रहरी कार्यालय पाँचथरअगाडिको बिपी पार्कमा भेला भएका प्रदर्शनकारीले शान्तिपूर्ण प्रदर्शनको सुरुवात प्रहरीलाई फूल दिएर गरेका थिए ।
प्रदर्शनकारीले नाराबाजीसहित बजार परिक्रमा गरी हातमा कुचो बोकेर भ्रष्टाचार र कुशासनलाई बढार्ने सन्देश दिएका दिए । प्रदर्शनकारीले ‘हिंसाले होइन, फूलले बदलिन्छ समाज’ भन्ने नारासहित प्रहरीलाई फूल दिए । जिल्ला प्रहरी कार्यालयबाट सुरु भएको प्रदर्शन शिवालय मन्दिर, कालुराम ग्यारेज र गणतन्त्र चोक हुँदै बिपी पार्कमा पुगेर टुङ्गिएको सहभागी लोकेन खतिवडाले बताउनुभयो ।
आपराधिक समूहको घुसपैठ : सुरक्षा निकाय
राजीनामा दिनुअघि गृहमन्त्री रमेश लेखकले तीन वटै सुरक्षा प्रमुखसँग प्रदर्शन हिंसात्मक बनेकोबारे जानकारी लिनुभएको थियो । नेपाल प्रहरीका प्रमुख चन्द्रकुबेर खापुङ, सशस्त्र प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले शान्तिपूर्ण प्रदर्शनमा आपराधिक समूहको योजनाबद्ध घुसपैठ हुँदा प्रदर्शन नियन्त्रणबाहिर गई ठुलो हताहती हुन पुगेको बताउनुभयो ।
जेनजी प्रदर्शनका आयोजकले व्यक्त गरेको प्रतिबद्धताप्रति ढुक्क हुँदा र उनीहरूको नाममा अन्य समूहको घुसपैठ भएको कुराको पूर्वअनुमान गर्न नसक्दा प्रदर्शन हिंसात्मक बनी स्थिति नियन्त्रणबाहिर गएको जानकारी गृहमन्त्री लेखकलाई गराएका थिए ।
टेकुका चिकित्सक सिभिलमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टेकु अस्पतालबाट चार जना चिकित्सकसहित छ जना स्वास्थ्यकर्मीलाई सिभिल अस्पतालको आकस्मिक कक्षमा खटाएको बताउनुभयो । उहाँले आवश्यक परे अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्ने जानकारी गराउनुभयो ।
यसैबिच स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३४७ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. देवकोटाले त्रिवि शिक्षण अस्पताल, पाटन, वीर, ट्रमा, काठमाडौँ मेडिकल कलेज, एभरेस्टलगायतका अस्पतालमा घाइतेको उपचार भइरहेको जानकारी दिनुभयो ।
यसैबिच सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले अस्पतालको अवस्था तनावग्रस्त रहेको बताउनुभयो । उहाँले अस्पतालबाट ४२ जनाको रिफर गरिएको जानकारी दिँदै १३२ जना घाइतेको उपचार भइरहेको बताउनुभयो । डा. रेग्मीले साँझसम्म पनि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको बताउनुभयो । उहाँले अस्पतालबाहिर गेट बन्द गरिएको छ, अस्पतालबाहिर प्रदर्शनकारी रहेको बताउनुभयो ।
यस्तै राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले अस्पतालमा ६७ जनाको उपचार भइरहेको बताउनुभयो । उहाँले पाँच जनाको शल्यक्रिया भइरहेको जानकारी दिँदै एक जना आइसियुमा भर्ना गरिएको बताउनुभयो । उहाँले घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको बैठक प्रभावित
राष्ट्रिय सभाको सोमबारको बैठक सूचना टाँस गरी स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले सोमबार अपराह्न १ बजेर १५ मिनेटका लागि निर्धारण गरिएको बैठक विशेष कारणवश स्थगित भएको जनाएको छ ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले राष्ट्रिय सभाको अर्को बैठक भदौ २५ गते बुधबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरिएको उल्लेख गर्नुभएको छ ।