काठमाडौँ, भदौ १९ गते । सरकारले साउदी अरबमा कार्यरत नेपालीको २४ घन्टे बिमा हुने गरी श्रम समझदारीको तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र साउदी अरब सरकारको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयबिच श्रम समझदारीपत्रमा छिट्टै हस्ताक्षर हुने जनाइएको छ ।
नेपाल सरकार मन्त्रीपरिषद्ले गत साता मात्रै नेपाल र साउदीबिच श्रम समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिएको थियो ।
सन् २०१० देखि नै साउदी अरबसँग श्रम सम्झौताको प्रयास हुँदै आए पनि सफलभएको थिएन । अब हुने समझदारीले नेपाली श्रमिकले अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त अनुसारका अधिकार प्राप्त गर्ने र रोजगारदाताले लागत खर्च बेहोर्ने गरी ‘इम्प्लोयर पे पोलिसी’ अनुसारको सुविधा प्राप्त गर्ने छन् ।
श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले वैदेशिक रोजगारीमा जाने नेपालीको उचित संरक्षण, सुरक्षित रोजगारी र श्रम शोषणको विषयमा नेपाल सरकारले गम्भीर रूपमा विश्लेषण गरेर समझदारी गरिने जानकारी दिनुभयो ।
त्यसका लागि मन्त्रालयले विगतमा भएका श्रम समझदारीपत्रको समेत विस्तृत समीक्षा गरिरहेको र श्रमिक पठाउने देशमा श्रम शोषण र मानव अधिकार उल्लङ्घनका विषयमा सरकारले शून्य सहनशीलता नीति अपनाए अनुरूप नै समझदारीको तयारी भएको उहाँले बताउनुभयो ।
सन् २०३४ मा हुने फिफा विश्व कप आयोजनाको तयारीस्वरूप साउदीले विगतमा श्रम नीतिमा सुधार गरिरहेको छ । ‘मोडर्न डे स्लेभरी’ मानिने कफाला प्रणालीमा सन् २०२१ को मार्चमै सुधार गरिसकेको र श्रम ऐनमा परिवर्तन गरी विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधाको सुनिश्चितता गरेको छ ।
यसअघि नै ‘साउदी फन्ड’ को प्रयोग गरी नेपालमा अन्तर्राष्ट्रियस्तरको तालिम उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानसँग साझेदारी गरिसकेको छ ।
मन्त्रालयका अनुसार साउदी अरबसहित कतार, मलेसिया, इजरायल, दक्षिण कोरियालगायतका देशसँग श्रम समझदारीको नवीकरण प्रक्रियामा छ । यसै गरी स्पेन, पोर्चुगललगायतका केही अन्य युरोपेली देशसँग पनि श्रम सम्झौता तथा समझदारी गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय नेपालको श्रम गन्तव्य युरोपतर्फ केन्द्रित हुन थालेपछि युरोपकेन्द्रित श्रम सम्झौतालाई प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ ।
नेपाल वैदेशिक रोजगार व्यावसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले नेपाल–साउदी श्रम समझदारी स्वागतयोग्य रहेको बताउँदै अन्य श्रम गन्तव्य देशसँग समेत यस्ता सम्झौता गर्न आग्रह गर्नुभयो ।
आकर्षक तलब सुविधा, श्रमिकमैत्री कानुन तथा अनुकूल मौसमका कारण खाडीको श्रम गन्तव्य युरोपतिर मोडिँदै गएको छ । नेपाली श्रमिकले मध्यम कमाइ र मर्यादित कामलाई प्राथमिकता दिँदा खाडी जस्ता आउटडोर कार्य क्षेत्र भएका देशमा जाने क्रम कम भएको देखिन्छ ।
तीन वर्षयता युरोपका पोल्यान्ड, साइप्रस, माल्टा, क्रोएसिया, रोमानिया र बेलायतलगायतका श्रम गन्तव्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सङ्ख्यामा वृद्धि हुँदा कतार जाने नेपालीको सङ्ख्या भने घटेको छ ।