काठमाडौँ, भदौ ५ गते । आयातनिर्यात गरिएका वस्तुको गुणस्तर प्रमाणीकरणको दायरा फराकिलो बनाइएका कारण प्रतिकूल खाद्यवस्तु आपूर्ति घटेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न भन्सारविन्दुबाट आयात गरिएका र ती ठाउँबाट निर्यात गर्न लागिएका खाद्यवस्तुको नमुना परीक्षण गराउँदा प्रतिकूल हुने सङ्ख्या जनाएको छ ।
विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५२ हजार ९९२ खाद्यवस्तुका नमुना परीक्षण गर्दा ४१ वटा प्रतिकूल पाइए । त्यस्तै आव २०८०/८१ मा ४६ हजार ९४८ नमुना परीक्षण गर्दा ४५ वटा, आव २०७९/८० मा ४१ हजार ४५५ नमुना परीक्षणमा ५८ र आव २०७८/७९ मा ५१ हजार ७६७ वटा नमुनाको परीक्षण गर्दा ४० वटा प्रतिकूल देखिएका थिए ।
विभागका निर्देशक मोहनकृष्ण महर्जनले विभाग अन्तर्गत देशका १२ वटा भन्सारविन्दुमा रहेका खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा रहेका प्रयोगशालाले आयातनिर्यात गर्न लागेका खाद्यवस्तुको गुणस्तर परीक्षणको दायरा फराकिलो पारेसँगै प्रतिकूल नमुनाको सङ्ख्या घटेको जानकारी दिनुभयो । विभागले पाँच/छ वर्षयता आयातपूर्व नै नमुना लिएर गुणस्तर परीक्षण गरेर मात्रै आयातको अनुमति दिने गरेको छ ।
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले आयातपूर्व नै गुणस्तर परीक्षण गरेर आयातका लागि स्वीकृत दिने र आयात भएको वस्तुको पनि परीक्षण गरेर राम्रो सुरुवात भएको तर पर्याप्त नभएको प्रतिक्रिया दिनुभयो । उहाँले प्रयोगशालालाई समय अनुसार प्रविधि प्राविधिकसहितको स्रोतसाधनले सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उहाँले त्यस्ता प्रयोगशालाले १० देखि ५ बजेसम्म परीक्षण गरेर मात्रै हुँदैन भन्दै प्रत्येक दिन चौबिसै घण्टा सञ्चालन गर्ने र भित्रिएका सबै वस्तुको परीक्षण गर्ने गरी विस्तार गर्न सुझाव दिनुभयो ।
खाद्य वैज्ञानिक जीवनप्रभा लामाले प्रयोगशालाले उपलब्ध स्रोतसाधन र जनशक्ति अनुसार काम गरे पनि समय अनुसार प्राविधिक र प्रविधियुक्त बनाउँदै लग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । खाद्यमा पहिले रङको प्रयोग हुने गरेकोमा अहिले त्यस्तो नभएर विविध खाले रसायन राख्ने गरिएको त्यसको परीक्षण गर्न सक्ने प्राविधिक र प्रविधिको पनि विकास गर्नु चुनौती रहेको उहाँको भनाइ छ ।
विभागले आयात भएका एक लाख ८१ हजार ५९८ केजी खाद्यवस्तुको गुणस्तरमा समस्या देखिएर आयात अस्वीकृत गरेको जनाएको छ । विभाग अन्तर्गत भन्सार नाकामा रहेका १२ वटा प्रयोगशालाले भारत र चीनबाट गएको आव २०८१/८२ मा आयात भएका खाद्यवस्तुको गुणस्तर परीक्षण गर्दा त्यो परिणामको वस्तुमा समस्या देखिएपछि आयातमा अस्वीकृत गरेको हो ।
विभागले सबैभन्दा धेरै एक लाख १५ हजार केजी चामल आयातमा अस्वीकृत गरेको थियो । यस परिणामको चामल गएको आवको असोजमा ८५ हजार केजी र कात्तिकमा ३० हजार केजी भित्र्याइएको थियो । त्यो चामलको परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि आयात अस्वीकृत गरेको विभागका निर्देशक मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आवको मङ्सिरमा नेपाल भित्र्याइएको ३० हजार केजी भटमास पनि न्यून गुणस्तरको पाइएपछि आयात अस्वीकृत गरिएको थियो । यस्तै मङ्सिरमै २४ केजी बदाम (मुमफली) परीक्षण गर्दा दूषित भएपछि आयात अस्वीकृत गरेको विभागले जनाएको छ ।
यस्तै गत कात्तिकमा १२ हजार केजी मासको दालमा अखाद्य रङको प्रयोग गरेको पाइएपछि आयात अस्वीकृत गरेको थियो । यस्तै गत चैतमा २३१ केजी चिया लेबलमा मिति तथा ब्याच नम्बर नभएको पाइएपछि आयात अस्वीकृत गरियो भने असोजमा ११२ केजी रोजवाटरमा असर गर्ने खालको रङ पाइएपछि आयात अनुमति नदिइएको विभागले जनाएको छ ।