• २ भदौ २०८२, सोमबार

चाड आए तरकारी महँगो

blog

काठमाडौँ, साउन ३१ गते । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो एक महिनामा हरियो तरकारीको भाउ ४३७ प्रतिशतसम्म बढेको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ भने खुद्रा त झन् छोइसक्नु छैन । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत असार ३० गते प्रतिकेजी १६ रुपियाँमा किनबेच भएको तनेबोडी साउन ३० गते आइपुग्दा ४३७ प्रतिशत बढेर ९५ रुपियाँ थोकमा पुगेको छ । यस्तै प्रतिकिलो २५ रुपियाँ थोकमा किनबेच भएको लौका दुई सय प्रतिशतसम्म बढेर ७५ रुपियाँ पुगेको छ । प्रतिकेजी २५ रुपियाँमा किनबेच भएको सेतो मुला ८० प्रतिशत बढेर ४५ रुपियाँ पुगेको छ । 

समितिका अनुसार सो अवधिमा प्रतिकेजी ५० रुपियाँ थोकमा कारोबार भएको घिउसिमी ८६ रुपियाँ, प्रतिकेजी २६ रुपियाँ थोकमा किनबेच भएको तितेकरेला बढेर ७४ रुपियाँ र प्रतिकेजी २२ रुपियाँ थोकमा किनबेच भएको हरियो फर्सी अहिले बढेर ५५ रुपियाँ पुगेको छ । सो अवधिमा घिरौँला प्रतिकेजी ३९ रुपियाँबाट ४५ रुपियाँ, भिन्डी ३६ रुपियाँबाट ६५ रुपियाँ थोकमा किनबेच भएको छ । चाडपर्वमा बढी माग हुने काउली, च्याउ, तामा, घिउसिमी, तनेबोडी, काँक्रोलगायतका तरकारीको मूल्यमा उच्च वृद्धि भएको छ । उत्पादन स्थलमै महँगो भएकाले काठमाडौँसम्म आइपुग्दा यसको मूल्य अझै बढेको व्यापारी बताउँछन् । 

कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले उपत्यकाका बजारमा धेरै तरकारी आउने चितवन मकवानपुरसहित तराईका जिल्लामा धान रोपाइँपछि तरकारी आउन छोडेकाले तरकारीको भाउ बढेको जानकारी दिनुभयो । ती ठाउँमा तत्काल आउने तरकारी नभएकाले असोज कात्तिकसम्म नै यही अवस्था रहने पनि उहाँको भनाइ छ । 

तरकारीको मूल्य बढ्नुमा नियमनको पनि समस्या रहेको छ । व्यवसायीले पसलपिच्छे फरक मूल्यमा बिक्री गर्ने गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो । विभागले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय मौन बसेको आरोप उपभोक्ताकर्मी बताउँछन् । 

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले तरकारी भाउ पसललै पिच्छे तरकारी र फलफूलको भाउ हुँदा पनि यसको सरकार निकायबाट अनुगमन हुन नसक्नु विडम्बना रहेको बताउनुभयो । 

बजार अनुगमन गर्ने जिम्मा पाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तीन/चार वटा समूहले नियमित रूपमा मूल्य अनुगमन गरेर कारबाहीसमेत गर्दै आएको जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार केही दिनदेखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् । 

समितिका अनुसार बिहीबार बजारमा झन्डै ६३८ मेट्रिक टनको हारहारीमा भित्रिएकोमा शुक्रबार ५ बजेसम्म ४५० सय मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको माग उच्च भएका बेला आयात घटेकाले भाउ महँगिएको स्वभाविक भएको बताउनुभयो । नियमित आउनुपर्ने तरकारी बजारमा समयमै नआउँदा धेरै बिग्रेर फाल्नुपर्ने अवस्थाले गर्दा पनि महँगो भएको उहाँको भनाइ छ । 

समितिका अनुसार यो बेलामा कालीमाटी बजारमा धादिङ, मकवानपुर, काभ्रे, नुवाकोट, भक्तपुर ललितपुर र काठमाडौँका विभिन्न ठाउँबाट तरकारी आउँछन् । यो समयमा काठमाडौँमा खपत हुने तरकारीको आधा हिस्सा छिमेकी जिल्लाबाटै आउने भएकाले तरकारीको अभाव नहुने श्रेष्ठको दाबी छ ।