काठमाडौँ, साउन २५ गते । अघिल्लो सालको बर्सातमा दिनभर खेतबारीमा काम गरेपछि रातभरि सिमसिम पानी परे मिठो निद्रा लाग्थ्यो, पनौती–१२, रोसी भूमिडाँडाका शेर्पा लामालाई । अहिले ठ्याक्कै उल्टो भएको छ, रातको समयमा पानी नपरोस् भन्ने कामना उहाँ गर्नुहुन्छ । असोजको आरीघोप्टे वर्षापछि आएको बाढीले उहाँहरूको गाउँ नै बगायो । रातको समयमा आएको बाढीले गाउँ नै सोत्तर भएपछि रातको समयमा पानी नपरोस् भन्ने कामना गर्ने गरेको शेर्पाले बताउनुभयो । सानो टिनले बारेको घरमा आश्रय लिएको उहाँको परिवारले नै राति वर्षा नै नहोस् भन्ने कामना गर्छ ।
पानी पर्न थालेपछि बालबालिका स्कुलको पोसाक, किताब र झोला बोकेर उकालोतिर भाग्ने गर्न थालेको स्थानीय माया सुनारले बताउनुभयो । राति उठेर आकाशमा बाँदल हेर्दै सुुत्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । खोलावारि र पारि बसेर रातभर आलोपालो पानी परे नपरेको हेर्ने बाध्यता उहाँहरूको छ । असोजको बाढीले जोगिएको घरमा आश्रय लिएका र नयाँ टिनले बेरबार पारेर बसेका उहाँहरू रातको समयमा बढी त्रसित हुने बताउनुुहुन्छ ।
सानो पानी परे पनि साना खोल्सामा लेदोसहितको बाढी आउने र असोजकै जस्तो घटना हुने डरले रातभर निदाउन नसक्ने र पानी परेपछि भागाभाग हुने गरेको छ । ज्येष्ठ नागरिक, बालबालिका र महिलामा एक किसिमको मनोवैज्ञानिक रूपमा त्रास सिर्जना भएको वडाध्यक्ष जयराम केसीले बताउनुभयो । उहाँले तत्कालै गर्न सक्ने काम गरिसकेको बताउनुभयो । पुनर्निर्माण र पुनस्र्थापनामा सङ्घीय सरकारले प्राथमिकतामा नपारेको उहाँको गुनासो छ । रोसी खोलामा असोज ११ र १२ गते आएको बाढीपहिरोबाट पक्की घर ध्वस्त भएपछि स्थानीयको उठिबास लागेको १० महिना बितिसक्दा पनि उच्चस्तरीय नेतृत्वबाट अवलोकनबाहेक पुनर्निर्माणका काम हुन नसकेको पनौती नगरपालिका उपप्रमुख गीता बन्जाराले बताउनुभयो । पानी पर्न थालेपछि त्यहाँका स्थानीयसँग निरन्तर फोन सम्पर्कमा रहने र जोखिमबारेमा जानकारी लिइरहने गरेको उहाँ बताउनुहुन्छ ।
काभ्रेपलाञ्चोकमा बाढीले सबैभन्दा धेरै असर पारेको पनौती नगरपालिका–१२, भूमिडाँडा रोसी बजार खण्डहरमा परिणत भएको थियो भने सोही वडामा रहेको कोलाती बजार उजाडिएको थियो । स्थानीय बिन्दा रसाइलीले आफ्नो सारा सम्पत्ति बाढीले बगाएको १० महिनामा देशका ठुला मान्छे आएर हेरेर गए पनि उपलब्धि भने शून्य नै भएको उल्लेख गर्नुभयो । उहाँले सामान्य बर्सातमा नै खोलाको वितण्डाबाट जोगिएका बस्तीका मानिस पोका बोकेर डाँडातिर उक्लन बाध्य भएको बताउनुभयो । राज्यको निकायले बाढीपीडितका लागि चासो नदिएको उहाँको गुनासो छ । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले आफूहरूले सकेको गरे पनि प्रदेश र सङ्घीय सरकारले पुनस्र्थापना र पुनर्निर्माणमा प्रभावकारी सहयोग नगरेको स्पष्ट पार्नुभयो ।