काठमाडौँ, साउन २२ गते । हामीले नियमित प्रयोग गरिरहेका अनेक खाद्यवस्तुदेखि पिउने पानी पनि स्वास्थ्य प्रतिकूल रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदनले १७३ खाद्यवस्तु प्रतिकूल रहेको उल्लेख गरेको हो । यो तथ्याङ्क गत आर्थिक वर्ष २०८१/८२ को विश्लेषणमा आधारित छ ।
विभागका अनुसार सो अवधिमा खाद्यान्न, दलहन तथा सोबाट बनेका पदार्थका ८८७ वटा नमुनाको विश्लेषण गर्दा ५२ वटा प्रतिकूल रहेको पाइएको छ । त्यस्तै तेल तथा घिउका ३५१ वटा नमुनाविश्लेषण गर्दा विभागले ३८ वटामा प्रतिकूल देखेको छ ।
प्रशोधित खानेपानी पनि पिउनलायक देखिएको छैन । १६७ वटाको नमुना विश्लेषण गर्दा विभागले १६ वटा खानयोग्य नरहेको पाएको छ । त्यसैगरी यस अवधिमा ५९ वटा विभिन्न नुनका नमुनाको विश्लेषण गर्दा ११ वटामा प्रतिकूल देखिएको छ । यस्तै सो अवधिमा ३२० वटा मसलाजन्य पदार्थको नमुना विश्लेषण गर्दा १६ वटा प्रतिकूल देखिए । दुग्ध तथा दुग्धजन्य पदार्थका १०८ वटा नमुनाको विश्लेषण गर्दा १३ वटा प्रतिकूल देखिएका छन् ।
विभागका अनुसार गत आवमा प्रतिकूल देखिएका १८३ वटा खाद्यवस्तुविरुद्ध मुद्दा दायर गरिएको छ । सो अवधिमा मुद्दा दायर गरिएकोमा सबैभन्दा धेरै तेल र घिउका ४७ वटा र खाद्यान्न दलहन तथा सोबाट बनेको पदार्थका ४६ वटाका मुद्दा दर्ता भएको विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा प्रशोधित खानेपानीका २३ वटा, गुलियो पदार्थका १६ वटा, दुध तथा दुग्धजन्य पदार्थका १० वटा, दाना पदार्थका सात वटामा मुद्दा दर्ता भएका छन् ।
यस अवधिमा देशका १९ जिल्लामा १८३ वटा मुद्दा दर्ता भएकोमा सबैभन्दा धेरै पर्सामा ४३ वटा दर्ता भएको र सबैभन्दा कम कपिलवस्तु/दाङमा एक/एक वटा मुद्दा दर्ता भएको विभागले जनाएको छ । यस्तै तनहुँमा १७ वटा, भैरहवामा १५ वटा, धनगढीमा १३ वटा र काभ्रेमा १२ वटा र काठमाडौँमा ११ वटा मुद्दा दर्ता भएका छन् ।
सो अवधिमा मुद्दा दर्ता भएका उजुरीमध्ये न्यून गुणस्तरका ११२ वटा, ऐनविपरीत २६ वटा, दूषितसम्बन्धी १० वटा र लेबलसम्बन्धी १९ वटा रहेको विभागले जनाएको छ ।
विभागका अनुसार गत आवमा विभागसहित विभिन्न ठाउँमा रहेका नौ वटा प्रयोगशालाबाट २६ हजार २४३ वटा विभिन्न वस्तुका नमुना विश्लेषण गरिएको थियो ।
अनुगमन प्रभावकारीबनाउन निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरहीन र अखाद्यवस्तुको बिक्रीवितरण बढ्दै गएकाले यस्ता खानेकुराको उत्पादन तथा बिक्री रोक्न विभागको अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउनसमेत निर्देशन दिनुभएको छ ।
विभागको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन क्रममा उहाँले यसका लागि मन्त्रालयबाट सबै किसिमको सहयोग रहने बताउनुभयो । साथै उहाँले विभाग र यसमातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई अनलाइन प्रणालीमार्फत गर्नसमेत निर्देशन दिनुभयो ।
मन्त्री अधिकारीले विभागका अन्तर्गत रहेको प्रयोगशालासहित मोबाइल भ्यानलाई बढीभन्दा बढी परिचालन गरेर यसको प्रभाव आमनागरिकले महसुस गर्ने गरी परिणाम दिन पनि निर्देशन दिनुभयो । विभागका महानिर्देशक कर्णले विभागले गत आवदेखि नै नमुना ल्याउनेबाहेक कार्य सबै अनलाइन प्रणालीबाट गर्दै आएको जानकारी दिनुभयो ।