• २२ साउन २०८२, बिहिबार

दुर्घटना भए प्रहरीमा तत्कालै सूचना

blog

काठमाडौँ, साउन २२ गते । गत वर्षको असार २८ गते २४ जनाको ज्यान जाने गरी पृथ्वी राजमार्ग अन्तर्गत चितवन भरतपुर–२९ स्थित सिमलतालमा भएको दुर्घटनाको सूचना प्रहरीले निकै ढिलो पाएका कारण तत्काल उद्धार कार्य हुन सकेन ।

भौगोलिक दृष्टिले जोखिमयुक्त पृथ्वी राजमार्गका सिमलताल, चरौँदी, जलबीरे, मुग्लिङमा बढी दुर्घटना हुने गरेका छन् । तर दुर्घटनाको सूचना ढिलो गरी प्रहरीसमक्ष आउँदा उद्धार कार्य प्रभावकारी हुन सकेको छैन । अब भने ती क्षेत्रमा कुनै घटना वा दुर्घटना भए तत्कालै प्रहरी र उद्धारककोमा सूचना पु¥याउने गरी इलेक्ट्रिक डिभाइस (आइओटी) जडान गरिएको छ ।

चितवनको भरतपुर–२९ स्थित सिमलताल र धादिङ जिल्लाको बेनीघाट रोराङ–७, चरौँदीमा जडान गरिएका यी आइओटीले घटना वा दुर्घटनाबारे तत्कालै प्रहरी र विपत् उद्धारकलाई खतराको रातो साइरनसहित सूचना दिने छन् । सशस्त्र प्रहरी बल नेपाल र लुना जिपिएस कम्पनीको सहकार्यमा यो राजमार्गमा बढी दुर्घटना हुन सक्ने स्थान छनोट गरी यस्तो प्रविधि पहिलो चरणमा दुई ठाउँमा जडान गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

विगतका जस्ता दुर्घटना अब नदोहोरियून् र कुनै जोखिम वा दुर्घटना भए प्रत्यक्षदर्शीबिनै सूचना प्राप्त होस् भन्ने उद्देश्यले आइओटी प्रविधि जडान गरिएको बताउँदै थापा भन्नुहुन्छ, “सिमलताल र चरौँदीमा विपत्को सूचनाका लागि जडान गरिएका यी इलेक्ट्रिक डिभाइसमार्फत बाढीपहिरो जस्ता विपत्बारे सशस्त्र प्रहरी बलको तालिम शिक्षालय कुरिनटारमा सूचना पुग्ने छ ।” 

थापाका अनुसार ती डिभाइसमार्फत पूर्वसूचना तालिम केन्द्रमा प्रवाह हुनुका साथै खतराको साइरन बज्ने गरी जडान गरिएको छ । कुनै पनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनका लागि उक्त स्थानमा रहेका स्थानीय बासिन्दा तथा घटनाबारे जानकारी पाउने जोकोहीले सो डिभाइसमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिच्नुपर्ने छ । 

सो बटन थिच्दा सशस्त्र प्रहरी बल, नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको साइरन बज्ने छ भने तालिमकेन्द्रमा रहेको मोनिटरमा लोकेसनसहितको जानकारीसमेत हेर्न सकिने छ र तत्कालै उद्धारका लागि सुरक्षा फौज परिचालन हुने छ । उक्त डिभाइसबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीय बासिन्दालाई प्रयोगको तरिका र अवस्थाबारे जानकारीसमेत गराएको छ । 

त्यसै गरी नारायणघाटदेखि नागढुङ्गासम्मका स्थानीय बासिन्दा तथा सो क्षेत्रमा आपतविपत्मा परेका र दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमा समेत लुना जिपिएसको एप्स डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्ने छन् । 

एप्सभित्र रहेको एसओएस बटनमा क्लिक गर्दा त्यसभित्र रहेको चार वटा अप्सन एम्बुलेन्स, बाढीपहिरो, आगलागी र दुर्घटनाका अप्सन देखिने छ । त्यसमा कुन प्रकृतिको घटना हो, त्यस अप्सनमा गई क्लिक गर्दा कुन व्यक्तिले जानकारी गराएको भन्नेबारे समेत जानकारी हुने छ ।