काठमाडौँ, असार २७ गते । काठमाडौँ, भक्तपुर र ललितपुरका नदीखोला किनार र आसपासका क्षेत्र बाढीको जोखिममा छन् । अव्यवस्थित संरचना तथा किनार क्षेत्रमा नदीको बहाव क्षेत्र खुम्च्याएर सडक निर्माण गर्दा बाढीको जोखिम थपिएको हो ।
तर, काठमाडौँमै बर्सेनि बाढीको प्रताडना भोग्ने क्षेत्रका नागरिक यस पटक ढुक्क छन् । काठमाडौँ बुढानीलकण्ठ वडा नं. १०, ११ र १२ तथा काठमाडौँ महानगरपालिका वडा नं. ६ स्थित सरस्वतीनगरका नागरिक बर्सेनि बाढीको प्रताडना भोग्दै आएका थिए तर यस वर्ष ठुलै पानी पर्दा पनि स्थानीयवासीले बाढीको समस्या बेहोर्नु परेको छैन । कपन र सरस्वतीनगरको पानीको स्रोत यज्ञमती र चखुँचाखोला खुला गरिएपछि बाढी आउन कम भएको छ । बाढीको पानी उर्लिंदा यज्ञमतीखोलाले भेट्ने कपनतर्फको भागमा केही क्षेत्र डुबानमा परे पनि सरस्वतीनगरतर्फ चखुँचाखोलाले निकास दिने गरेको छ ।
स्थानीय अगुवा शेखर आचार्यका अनुसार यज्ञमतीखोलामा पक्की कलभर्ट निर्माण भएकाले कपन क्षेत्रमा बाढी आउन रोकिएको छैन तर सरस्वतीनगरतर्फ डुबान भएको छैन । उहाँले भन्नुभयो, “यज्ञमतीखोला पनि खुला गर्नु पर्छ भन्ने हाम्रो माग हो । चखुँचाखोला खुला भएपछि बाढी नियन्त्रण भयो । प्रकृति पनि हराभरा देखिने भयो ।”
कपन र सरस्वतीनगर बाढीमा पर्ने गरेको विषय बर्सेनि चर्चामा रहँदै आएको छ तर त्यहाँ मात्रै होइन, काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानका नागरिक बाढी, डुबान र पहिरोको समस्या झेल्न बाध्य छन् । बाढी र डुबानको मुख्य कारण नदीखोला किनार अतिक्रमण नै हो । काठमाडौँ, ललितपुर र भक्तपुरका सबै नदीखोला किनार अतिक्रमणमा परेका छन् ।
जलस्रोत विज्ञ एवं प्राज्ञ दीपक ज्ञवालीका अनुसार बागमती नदीका सहायक खोला किनार मिचेर बस्ती विस्तार गर्ने तथा खोला किनार मिचेर सडक र अन्य संरचना बनाउँदा बहाव क्षेत्र खुम्चिएर बाढी र डुबानको समस्या बढेको हो । उहाँले भन्नुभयो, “बाढी र डुबान त्यसै भएको होइन नि । यहाँ खोला बस्तीमा परेको होइन । बस्ती चाहिँ खोलामा परेका हुन् ।”
सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सम्भता एकीकृत विकास समितिको तथ्याङ्क अनुसार बागमती नदीको किनारमा मात्रै शान्तिनगर, शङ्खमूल, कालीमाटीसहित ११ स्थानमा अव्यवस्थित बसोबास छ । समितिका आयोजना उपनिर्देशक उद्धव नेपालका अनुसार विष्णुमती किनारमा १० स्थान र मनोहरा किनारको मनोहरा, धोबीखोला किनारका पाँच स्थान अतिक्रमणमा परेका छन् ।
२०८१ असोज १० देखि १३ गतेको भीषण वर्षा र बाढीका कारण कारणका तिनै जिल्लामा बाढीले ठुलै क्षति पुर्याएको थियो । बागमती नदी, विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचासहित सबै खोला किनारका बस्ती डुबानमा परेका थिए ।
जलस्रोतविज्ञ ज्ञवालीले नदी र खोला किनारमा पक्की पर्खाल लगाएर सडक बनाउँदा केही हदसम्म सुविधा भए पनि वर्षायाममा बाढीको कारक त्यही भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी जग्गा भएको ठाउँमा पनि नदीखोलातर्फ मिचेर घर–भवनको संरचना बनाइएको छ । सहायक खोलामा रिटेनिङ पर्खाल बनाएर खोलाको बहाव क्षेत्र खुम्च्याइएको छ । अनि खोला साँघुरो भयो भनेर हुन्छ ! खोलाको बहाव क्षेत्र अतिक्रमण भएको हो । खोल्नुको विकल्पै छैन ।”
तयारीमा जुट्यो प्रशासन
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले गत वर्षको बाढीको क्षतिलाई दृष्टिगत गरी जोखिमयुक्त क्षेत्र पहिचान गरिएको बताउनुभयो । उहाँले विपत् व्यवस्थापन समिति, प्रहरी, प्रशासनले विपत्का लागि चाहिने सामग्री, जनशक्ति व्यवस्थापन, तालिम लिने कार्य र स्वयंसेवक पनि तयार गरिएको बताउनुभयो ।
कुन कुन क्षेत्रमा जोखिम छ ?
काठमाडौँमा बागमती नदी, रुद्रमती (धोबी खोला), भक्तपुरमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका विभिन्न स्थान तथा ललितपुरमा बागमती नदी किनार, गोदावरी र अन्य खोला किनारवासी डुबानको जोखिममा छन् ।