• ३ कात्तिक २०८२, सोमबार

उज्यालो र समुन्नतिको प्रतीक तिहार

blog

नेपालमा कात्तिक महात्म्यलाई आधार मानेर पौराणिक वैदिक विधिबाट तिहार मनाइन्छ । तर हामीभन्दा अगाडिको पुस्ताले कुवेर यन्त्र, लक्ष्मी यन्त्र आदिलाई तन्त्र विधिबाट पूजा गर्ने प्रचलन पनि थियो । अहिले सामान्य पूजा विधिबाटै काम चलाउने गरिन्छ ।

काठमाडौँ, कात्तिक ३ गते । ढकमक्क मखमली र सयपत्री फुलेर आएको सुवास, रङ्गीबिरङ्गी बत्तीको उज्यालो, देउसीभैलोको उल्लास, नेपालीका  घरआँगनमा तिहारको उल्लास भित्रिइसकेको छ । मानव मात्रै होइन, पशुपक्षीप्रति पनि सद्भाव र प्रेम व्यक्त गर्ने अनि समुन्नतितर्फ अघि बढ्न प्रेरित गर्ने नेपालीको दोस्रो ठुलो चाड तिहार आइतबारदेखि सुरु भएको हो । 

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि आरम्भ हुने तिहारलाई यमपञ्चक पनि भनिन्छ । विशिष्ट मौलिक संस्कृतिका रूपमा रहेको तिहारका पहिलोदिन आइतबार काग तिहार मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार सोमबार नरक चतुर्दशी भएकाले बिहान कुकुर तिहार र साँझ लक्ष्मी पूजा गरिने छ । तिहारको पहिलो दिन कागको पूजा गरी कागलाई मिठा परिकार दिने गरिन्छ । तिहारको दोस्रो दिन कुकुरलाई टीका र माला लगाइदिने र मिठा परिकार दिने प्रचलन छ । 

अध्यक्ष ढकालले कात्तिक ५ गते गोबर्धन पूजा, म्हःपूजासँग नेपाल संवत् ११४६ सुरु हुने बताउनुभयो । तिहारको अन्तिम दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीकासँगै मखमली र सयपत्रीको माला लगाइदिने प्रचलन छ ।

प्राध्यापक ढकालले यमराजलाई बहिनी यमुनाले सत्कार गरेर आफ्ना माइतीका रूपमा पूजा गरेको भनी पौराणिक ग्रन्थबाट बुझ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भाइटीका कात्तिक ६ गते हो । शुभसाइत बिहान ११:३९ बजे तोकिएको छ । तर व्यक्तिगत रूपमा मेरो आग्रह छ– साइतलाई सामान्य माने पनि हुन्छ । दिनभरि नै साइत हो । बिहान सूर्योदयदेखि साँझसम्म लगाए हुन्छ ।”

फेरिएको संस्कृति 

संस्कृति एवं तन्त्रविद् डा. मिलनकुमार थापाले तिहारको संस्कृति केही परिवर्तन भएको बताउनुभयो । उहाँले देश राजनीतिक रूपमा सङ्कटमा रहे पनि तिहार पर्वले धार्मिक सद्भाव, आर्थिक समुन्नति र एकता अभिवृद्धि गर्न सहयोग पु¥याउने बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालमा कात्तिक महात्म्यलाई आधार मानेर पौराणिक वैदिक विधिबाट तिहार मनाइन्छ । तर हामीभन्दा अगाडिको पुस्ताले कुवेर यन्त्र, लक्ष्मी यन्त्र आदिलाई तन्त्र विधिबाट पूजा गर्ने प्रचलन पनि थियो । अहिले सामान्य पूजा विधिबाटै काम चलाउने गरिन्छ ।” 

डा. थापाले सनातन हिन्दू समाजमा तिहार मनाउने प्रचलनमा फरक फरक रहेको बताउनुभयो । उहाँका अनुसार भारतको बङ्गालमा आइतबारदेखि नै कालरात्रिको पूजा गर्ने प्रचलन छ र लक्ष्मी पूजासँगै काली देवीलाई पूजा गर्ने चलन छ ।

उहाँले भन्नुभयो, “नेपाली समाजको आफ्नै विशिष्ट मौलिक पक्ष छ । तिहारले पशुपन्छीप्रतिको सद्भाव झल्काउँछ । दिदीबहिनी र दाजुभाइमा आपसी प्रेम र विश्वास अभिवृद्धि गर्छ । लक्ष्मीको उपासनाले समुन्नतिका लागि अग्रसर हुन उत्प्रेरित गर्छ । त्यसैले नेपाली मौलिक चाड तिहारको विशिष्ट सांस्कृतिक महत्त्व छ । त्यसैले मौलिक पक्षलाई समेटेर आउने पुस्तालाई हस्तान्तरण गर्नु पर्छ ।”