• १४ कात्तिक २०८२, शुक्रबार

बेनीघाट-आरुघाट-लार्के सडक अवरुद्ध

blog

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक १४ गते । उत्तरी गोरखाको बेनीघाट-आरुघाट-लार्के सडक खण्डमा पहिरोका कारण सबारीसाधन पूर्ण रुपमा अवरुद्ध भएको छ । केहि दिनदेखि परेको निरन्तर वर्षाले धार्चे गाउँपालिका-३ कालेभीरमा शुक्रबार बिहान १० बजे पहिरो जाँदा सडक अवरुद्ध भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो।

माथिबाट खसेको पहिरोले सडक पूर्ण रुपमा बन्द भएको छ, अध्यक्ष गुरुङले भन्नुभयो, ‘निरन्तर रुपमा परेको पानी र सडक माथिबाट झरेका ठुला ठुला ढुंगाले गर्दा सडक सञ्चालन गर्न अझै केहि समय लाग्ने छ ।’

सडकमा ठुलो पहिरो आएर बसेकाले उत्तरी गोरखा पुग्ने सबारी साधन तथा सर्वसाधरणबिच बाटोमै रोकिएर बसेका छन् । उक्त पहिरो हटाउन पालिकाको जेसिबी कालेभीरतर्फ पठाउन तयारी भएको गाउँपालिकाले जनाएको छ । 

उत्तरी गोरखा पुग्ने मुख्य सडक भएकाले गाउँपालिकाले नागरिकको सहज यात्राको लागि तत्काल जेसिबी प्रयोग गरेर भएपनि सडक सुचारु गर्न लागि परेको अध्यक्ष गुरुङको भनाइ छ । 

उत्तरी गोरखामा अहिले अत्यधिक मात्रामा आन्तिरिक तथा बाह्रय पर्यटकको चाप बढेकाले पनि स्थानीय होटेल व्यवसायी र व्यापारीहरुले सडक बन्द हुँदा अत्यावश्याक सामग्री ढुवानी रोकिएको बताउँदै शिघ्र सडक मर्मतको माग गरेका होटेल व्यवसायी फुञ्जो तासी लामाले बताउनुभयो । 

उक्त सडक खण्ड गोरखा सदरमुकाम हुँदै मनास्लु क्षेत्र र लार्केपास पुग्ने मुख्य सडक मार्ग भएकाले पनि पर्यटक आगमनमा पनि प्रभाब पार्ने भएकाले गाउँपालिकाले तत्काल २ वटा स्काभेटर प्रयोग गरी जति सक्दो चाँडो सडक सञ्चालनमा ल्याउने तयारी भएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम बस्नेतले बताउनुभयो ।