• २९ असोज २०८२, बुधबार

कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै सङ्कलित हस्ताक्षर बुझाउने तयारी

blog

ललितपुर, असोज २९ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिनुभएको छ । १३ औँ र १४ औँ महाधिवेशनमा सभापतिमा विजयी देउवाले १५ औँ महाधिवेशनको बहस चलिरहँदा मङ्गलबार कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई सुम्पिनुभएको हो ।

विघटित प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल कांग्रेस संसदीय दलका नेता देउवा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मङ्गलबार पहिलो पटक सार्वजनिक मञ्चमा प्रस्तुत हुनुभयो । उहाँले भन्नुभयो, “मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु । उहाँले पार्टीको बृहत्तर हितमा काम गर्नुहुने छ भन्ने मेरो विश्वास छ ।”

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले जेनजीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्ने, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्ने जस्ता जायज माग सम्बोधन गरिनुपर्ने प्रस्ट पार्नुभयो । उहाँले जेनजीको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नै पर्ने र यस सन्दर्भमा कांग्रेस बैठकमा छलफल हुने बताउनुभयो । 

१५ औँ महाधिवेशनबारे निर्णय लिने 

सभापति देउवाले राष्ट्र, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भीर सङ्कटमा परेको घडीमा पार्टीभित्र एकता कायम राख्नुपर्ने र पार्टी विधान अनुसार तोकिएको समयमा 

१५ औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा केन्द्रीय कार्यसमितिले गम्भीर छलफल गरी आवश्यक निर्णय लिने बताउनुभयो । उहाँले देशमा विद्यमान राजनीतिक परिस्थितिको मूल्याङ्कन गरी निकासका लागि आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग पनि संवाद गरिने प्रस्ट पार्नुभयो । 

उहाँले समावेशी पद्धति स्थापित गर्न सशक्त प्रयास गरेको बताउनुभयो । उहाँले कतिपय क्षेत्रको सुधारमा कोसेढुङ्गाको काम गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “मैले छोटो छोटो समयका लागि भए पनि पाँच पटक प्रधानमन्त्री हुने अवसर पाएँ । पाँच पटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ ।” उहाँले पार्टीको आन्तरिक जीवन, आगामी १५ औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सबाल उठेको बताउँदै वैधानिक व्यवस्थाले र राजनीतिक इच्छाले १५ औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको स्मरण गर्नुभयो । 

निकास आवश्यक 

सभापति देउवाले समसामयिक राजनीतिको सही विश्लेषण गरेर मुलुकलाई उचित निकास दिने गरी निर्णय गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वसनीयतालाई फेरि पुष्टि गर्नुपर्ने बताउनुभयो । साथै उहाँले विद्यमान अवस्थामा मुख्य रूपले हामीले आफ्नै पार्टीका विषयमा र राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुपर्ने भूमिकाबारे उचित मार्गदर्शन गर्नुपर्ने बताउनुभयो । 

उहाँले देशमा सङ्कट उत्पन्न वर्तमान अवस्थाबिच विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सबैलाई थाती राखेर देशलाई साक्षी राखेर एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हाम्राबिचमा व्यक्तिगत वा समूहगत रुचि अरुचि, हित अहित वा लाभहानिका सबै विषय गौण हुन् । म सबै साथीलाई आग्रह गर्न चाहन्छु– विषयवस्तुमा व्यापक छलफल गरौँ, एकमतका साथ निर्णयमा पुगौँ र ठोस ढङ्गले निर्णयको कार्यान्वयन गरौँ ।” सभापति देउवाले लोकतान्त्रिक व्यवस्थामा आस्थावान् अन्य राजनीतिक दलसँग संवाद र सहकार्य गर्ने बताउनुभयो । उहाँले संविधान सभाबाट निर्मित नेपालको संविधान जोखिममा परेको र जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले विघटन गरिएको दाबी गर्नुभयो । 

हस्ताक्षर बुझाउने तयारी 

विशेष महाधिवेशनको माग गर्दै सङ्कलित कांग्रेसका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुधबार बुझाउने तयारी गरिएको छ । नेता देवराज चालिसेका अनुसार कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइने छ । उहाँले मङ्गलबारसम्ममा दुई हजार ४८३ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको जानकारी दिनुभयो । १४ औँ महाधिवेशनमा पदाधिकारी, केन्द्रीय सदस्यसहित चार हजार ७४३ केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । उहाँले हाल करिब चार हजार ५२४ महाधिवेशन प्रतिनिधि कायम रहेको जानकारी दिनुभयो ।