सम्बुरु (केन्या), कात्तिक १४ गते । उत्तरी केन्याको सुक्खा भूमिमा अप्रिलयता वर्षा भएको छैन । त्यस बेलादेखि स्थानीय गोठालाका लागि गाई र गोरु पालन अब अतीतको कुरा बन्दै गएको छ ।
बबुल (एकासिया) का रुखतिर दौडिरहेका दर्जनौँ उँटलाई नियाल्दै दुई गोठालाले ‘हे भगवान, तिनीहरूको रक्षा गर्नुहोस्’ भन्दै प्रार्थना गर्ने दृश्य अहिले यहाँ सामान्य भइसकेको छ । नजिकैको कुवाको किनारमा बसेका गोठालाहरूले सन् २०२१ र २०२२ का लगातार न्यून वर्षाका कारण चार दशककै सबैभन्दा भीषण खडेरीमा आफ्ना गाई-गोरु ‘सबै मरे’ भनेर दुःख व्यक्त गरे ।
त्यस यताका वर्षमा उनीहरूले जीवनयापनको स्वरूप नै परिवर्तन गरेका छन् । अर्ध-घुमन्ते सम्बुरु समुदायका सदस्य लोलपुसिक भन्नुहुन्छ, “अब हाम्रो घरमा गाईवस्तु छैनन्, हामीले केवल उँट पाल्छौँ ।” उँट सुक्खा घाँसमा पनि बाँच्न सक्छन्, एक हप्ताभन्दा बढी पानी बिना रहन सक्छन् र गाईको तुलनामा छ गुणा बढी दूध दिन सक्छन् ।
यसले जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उत्तरी केन्याका बासिन्दालाई उँटलाई जीवनको नयाँ आधार बनाउन प्रोत्साहित गरेको छ । सन् २०१५ मा थुप्रै खडेरीका कारण केन्याको सुक्खा र अर्ध-सुक्खा क्षेत्रका करिब ७० प्रतिशत गाईवस्तु मरेपछि सम्बुरु काउन्टीका अधिकारीले उँट पालन कार्यक्रम सुरु गरेका थिए । ती खडेरीले स्थानीय पशुपालकमा कुपोषणको गम्भीर समस्या निम्त्याएको थियो ।
त्यसपछि करिब पाँच हजार सोमाली उँट वितरण गरिए । यसमा गत वर्ष मात्रै एक हजार उँट समावेश थिए । यी उँट देशी प्रजातिभन्दा ठूला र बढी उत्पादक हुन्छन् । पहिले उँटबारे खासै जानकारी नभएका लोलपुसिकले सन् २०२३ मा केही उँट प्राप्त गर्नुभयो । अहिले उहाँको झाडीले घेरिएका सवान्ना क्षेत्रका साना आयाताकार झुपडीको समूह मन्याट्टामा इक दर्जन उँट शान्तिपूर्वक घाँस चरिरहेका छन् ।
गाउँका प्रशासक जेम्स लोलपुसिक (नाम मात्र मिल्ने तर सम्बन्ध नभएको व्यक्ति) का अनुसार काउन्टीको लक्ष्य ‘हरेक परिवारको आफ्नै उँट हुने’ हो । “यदि खडेरी जारी रह्यो भने गाईवस्तु यहाँ टिक्न सक्दैनन्”, उहाँले भन्नुभयो । यद्यपि उँटपालनसँग केही जोखिम पनि छन् । विशेष गरी रोगको सम्भावना रहेको छ ।
तर सकारात्मक परिवर्तन प्रष्ट देखिएका छन् उँटको दुधले बालबालिकाको पोषणमा ठूलो सुधार ल्याएको छ । “उँट दिनमा पाँच पटकसम्म दुध दिन सक्छन्”, गाउँ प्रमुखले भन्नुभयो । ४० वर्षीया नैमालु लेन्टाका भन्नुहुन्छ, “गाईले त घाँस हरियो हुँदा मात्र दुध दिन्छ, तर उँट सुक्खा मौसममा पनि निरन्तर दुध दिन्छन्, यही हो ठूलो भिन्नता ।”
उहाँका अनुसार अहिले गाउँका धेरै परिवार ‘उँट र तिनीहरूको दुधमा नै निर्भर’ छन् । सन् २०२२ मा केन्याको मेरु विश्वविद्यालयले गरेको अध्ययनले उँटको दुधमा मानव स्तन दूध जस्तै पोषण र उपचारात्मक गुण रहेको देखाएको थियो । उत्तरी केन्याका समुदायमा खडेरीका समयमा उपभोग गरिने कुल पोषक तत्वको करिब आधा भाग उँटको दूधबाट प्राप्त हुने तथ्याङ्कमा उल्लेख गरिएको छ ।
उँट केवल जीविकोपार्जनका साधन मात्रै होइनन्, यहाँका सांस्कृतिक र खेलकुदका तारा पनि बनेका छन् । सेप्टेम्बरको अन्त्यमा सम्पन्न मारालाल इन्टरनेसनल क्यामल डर्बीमा करिब ४० वटा उँट उत्साहित भीडका सामु दौडिरहेका थिए । विजेताले २१ किलोमिटर (आधा म्याराथन) दूरी मात्र एक घण्टा २२ मिनेटमा पूरा गरेका थिए ।
कार्यक्रमका आयोजकले भनेका छन्, “यो प्रतियोगिता शान्तिपूर्ण सांस्कृतिक अन्तरक्रियाको माध्यम हो, जसले स्रोतका लागि लड्ने समुदायलाई एक साथ ल्याउँछ ।” वास्तवमा, उँटलाई यहाँ ‘शान्तिको प्रतीक’ का रूपमा समेत हेरिन्छ । सुक्खा मौसममा गोठालाले गाईवस्तुका झुण्डलाई उर्वर क्षेत्रतर्फ लैजानाले वर्षौदेखि थुप्रै द्वन्द्व निम्त्याएको छ ।
तर उँट भने जहाँ छन् त्यहीँ बस्न सक्ने भएकाले यसले हिंसा र प्रतिस्पर्धा घटाएको छ । यद्यपि यो कठोर जनावरलाई पनि जीवित रहन केही पानी चाहिन्छ । त्यसैले स्थानीय बासिन्दा अझै पनि वर्षाको प्रतीक्षा र प्रार्थनामा छन् । “हामी केवल यही प्रार्थना गर्छौ कि स्थिति अझ बिग्रिन नपाओस्”, गाउँ प्रशासक जेम्स लोलपुसिकले भन्नुभयो । रासस/एएफपी
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                