नेपाली पत्रकारिताको गौरवमय र सङ्घर्षशील इतिहास, नवीनतम वर्तमान र सुन्दर सुदूर भविष्यको नुतन उद्घोष गर्दै जनकठघरित अग्निपथको यात्रामा अविराम अघि बढिरहेको जीवन्त दस्ताबेज हो, गोरखापत्र । राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक रूपान्तरणको जग बसाल्दै सुनौलो अध्याय आरम्भ गरेर सुसूचनामार्फत राज्य र नागरिकबिच निरन्तर पुलको काम गरिरहेको छ । गोरखापत्र केवल एउटा प्रकाशन होइन, एसियाको दोस्रो अखबारका रूपमा वैश्विक पत्रकारिताको श्रीवृद्धि गर्न योगदान गर्ने बेमिसाल गाण्डिव हो, जुन नेपाली नागरिकको बलिदान र त्यागबाट पुष्पित र पल्लवित छ । गोरखापत्र साप्ताहिक, अर्धसाप्ताहिक हुँदै दैनिकमा रूपान्तरण हुँदै गर्दा यसमा हजारौँ सज्जन पत्रकारको अविस्मरणीय र अविराम योगदान छ । जसलाई गोरखापत्र पल्टाउँदै गर्दा हरेक पानाले पुष्टि गर्छ । जतिबेला सूचनाको माध्यम क्रमशः विकास हुँदै थियो, जतिबेला सञ्चारले आकार लिँदै थियो, गोरखापत्र पनि आफ्नो पूर्ण आधार धारण गर्ने प्रयासमा दुनियाँमाझ आफ्ना पाइला अघि बढाइरहेको थियो । यस आलेखमा गोरखापत्रको अवर्णित इतिहास, वर्तमान र भविष्यको सुन्दर गन्तव्यको जीवन्त पक्षलाई उजागर गर्ने जमर्को गरिएको छ । सुरुवात गोरखापत्र प्रकाशन आरम्भबाटै :
पृष्ठभूमि
गोरखापत्रको प्रकाशन आरम्भ हुँदा नेपाल देशमा जहानियाँ राणा शासनको १०४ बर्से युग थियो । आधुनिक प्रविधि र सञ्चार सेवाको परिकल्पना पनि नभएका बेला गोरखापत्र सीमित व्यक्ति र समूहमा सूचनाको पहुँच विस्तार गर्न स्थापना भएको थियो । इतिहासले यही भन्छ तर नागरिकमा चेतनाको विकास हुँदै गर्दा गोरखापत्र केवल पत्रिका रहेन, यो नागरिकको अध्ययन, बोध र विवेकलाई फराकिलो बनाउँदै स्वतन्त्रता र लोकतन्त्रप्रति सङ्घर्ष गर्न अभिप्रेरित गर्ने माध्यम बन्यो । नागरिकको सूचनाको स्रोतसँगै व्रmान्तिकारी रूपान्तरण र नवीन समाज निर्माणको आधारस्तम्भ पनि बन्यो । गोरखापत्र आधुनिक युगमा प्रवेश गर्दैगर्दा राजनीतिक, सामाजिक आर्थिक र सांस्कृतिक रूपान्तरणको सारथि बन्यो । गोरखापत्र नेपाली पत्रकारिताको नवीनतम इतिहास निर्माण गर्ने संस्थाका रूपमा स्थापित हुँदै गर्दा हजारौँ सञ्चारकर्मीको पसिना र बलिदान जोडिएको छ ।
राणातन्त्रमै पनि सुधारवादी शासकको उपमा प्राप्त श्री ३ देवशमशेर जबरा (विसं १९१९ साउन ३–१९७० फागुन ९) ले विसं १९५८ वैशाख २४ देखि ‘गोर्खापत्र’ को प्रकाशन थालनी गराउनुभयो । देवशमशेरको अग्रसरतामा ‘गोर्खापत्र’ प्रकाशन प्रारम्भ गर्दा साप्ताहिक अखबारका रूपमा सर्वप्रथम विसं १९५८ वैशाख २४ गते प्रकाशन भएको हो । यसरी प्रकाशन प्रारम्भ भएको ‘गोर्खापत्र’ साप्ताहिक नै नेपाली पत्रकारिताको मानकका रूपमा स्थापित हुन पुग्यो । प्रकाशन थालनीको इतिहासलाई दृष्टिगत गर्दा विसं १९५५ मा प्रकाशित ‘सुधासागर’ लाई साहित्यिक अखबारलाई पहिलो मानिए पनि १९५८ देखि प्रकाशन आरम्भ भएका ‘गोर्खापत्र’ अविराम प्रकाशन, निरन्तरता र नेपाली पत्रकारिताको आधुनिक रूपान्तरणमा गोरखापत्र प्रथम दृष्टिमा रहँदै आएको छ । गोरखापत्र एउटा अखबारीय भूमिकामा मात्रै रहेको छैन, नागरिक र राज्यको पुलको काम गरेर राज्यका नीति जनतामा पु¥याउने र नागरिकका समस्या उठान गरी राज्यलाई जवाफदेही बनाउने सर्वश्रेष्ठ माध्यम बनेको छ ।
‘गोर्खापत्र’ साप्ताहिक गोरखापत्र दैनिकसम्म आइपुग्दा नेपाली पत्रकारितालाई पुष्पित र पल्लवित मात्रै बनाएको छैन, कैयौँ आरोहअवरोह पनि पार गरेको छ । ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशन आरम्भ भएपछि सुरुवातमा सोमबार प्रकाशित भए पनि विसं १९९१ वैशाख ९ देखि प्रत्येक साता शुक्रबार छपाइ सुरु भयो । विसं १९८४ वैशाख १३ गते पर्साको वीरगन्जकी १२ वर्षीय सूर्यमती श्रेष्ठले चन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेको तस्बिर पहिलो पटक प्रकाशित भयो । सोही इतिहासलाई दृष्टिगत गरी राष्ट्रिय फोटो पत्रकारिता दिवस वैशाख १३ गते मनाइने गरिएको छ । पहिलो विशेषाङ्क विसं १९९८ भदौ १७ उदयाङ्कका रूपमा प्रकाशित भएको गोरखापत्रको सङ्ग्रहमा देखिन्छ । तत्कालीन राजा श्री ५ त्रिभुवन शाहको जन्मोत्सवमा उक्त उदयाङ्क प्रकाशन भएको थियो । यसअघि विसं १९८५ साउनमै तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको जन्मदिनमा पनि विशेष सामग्री प्रकाशित भएको थियो । यद्यपि उक्त अङ्कलाई विशेषाङ्क भनिएको थिएन ।
विसं २००० देखि गोरखापत्रले नयाँ इतिहास निर्माण गर्दै काँचुली फे¥यो । २००० असोज २९ गते अर्धसाप्ताहिक प्रकाशन आरम्भ गरी सातामा मङ्गलबार र शुक्रबार प्रकाशन हुन थाल्यो । त्यसको तीन वर्षपछि २००३ पुस ८ देखि सातामा तीन अङ्क प्रकाशन सुरु भयो र २०१७ फागुन ७ देखि गोरखापत्र दैनिक प्रकाशन प्रारम्भ भयो । त्यसपछि गोरखापत्र दैनिकले नवीनतम अभ्यास पनि थालनी गर्यो । विसं २०१९ कात्तिक २ देखि २०२२ असोज २२ सम्म बिहान र साँझ गरी दिनमै दुई पटक प्रकाशन गरेको थियो । त्यसअघि विसं २०१९ असार ९ देखि शनिबारीय परिशिष्टाङ्क प्रकाशन आरम्भ भयो । त्यसै गरी विसं २०४५ भदौदेखि चार पृष्ठको अतिरिक्त अङ्क ‘रमाइलो शुव्रmबार’ पनि प्रकाशन गरिएको थियो । साप्ताहिक प्रकाशन आरम्भ गर्दा मास्टहेडमा ‘गोर्खापत्र’ लेखिए पनि विसं १९८३ जेठ ४ देखि ‘गोर्खापत्र’ को सट्टामा ‘गोरखापत्र’ लेख्न थालियो । २०६१ माघ १९ गते शाहवंशका अन्तिम शासक ज्ञानेन्द्र शाहले ‘कु’ गरी सत्ता हातमा लिएपछि गोरखापत्रलाई परिवर्तन गरी ‘गोर्खापत्र’ देखियो । २०६३ वैशाख ११ गते २०६२÷६३ को जनआन्दोलन सफल भएर देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रतर्फ अग्रसर भएपछि सोही वर्ष वैशाख १८ देखि ‘गोरखापत्र’ नामले निरन्तरता पायो ।
देवशमशेर र जयपृथ्वीको देन
शासकीय सुधारका सूत्राधार, सुधारवादी प्रधानमन्त्रीका रूपमा ख्याति कमाएका तत्कालीन प्रधानमन्त्री देवशमशेर र जयपृथ्वीबहादुर सिंह गोरखापत्रको प्रकाशन र निरन्तरताका लागि सदा सम्झनुपर्ने नाम हो । राणा शासनका बेला अखबार प्रकाशन गर्ने देवशमशेर पदबाट हट्नु पर्यो । उहाँका भाइ चन्द्रशमशेरलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइयो । उहाँ राजकाज छोडेर धनकुटा हुँदै भारत पुग्नुभयो र उहाँको १९७० मा भारतको मैसुरीमै निधन भयो । देवशमशेरको अवधारणा अनुसार अखबार अघि बढ्न नपाए पनि प्रकाशन कार्यले निरन्तरता पायो । विसं १९९४ असोज २ गते गोरखापत्रको अङ्कमा स्वघोषणा गरिएको छ, “गोरखापत्र गोरखा राज्यभरको मुखपत्र हो ।” अर्थात् ‘गोर्खापत्र’ सरकारकेन्द्रित होइन, सिङ्गो राज्यकै प्रतिनिधित्व यसले गर्छ भन्ने घोषणा त्यस अङ्कमा गरियो तर देवशमशेरलाई सत्ताबाट हटाएपछि गोरखापत्रलाई सरकारमुखी बनाइयो । यसको पृष्ठभूमि देवशमशेरलाई सत्याच्युत गर्दाका बखतको घटना शृङ्खलालाई बुझ्नु पर्छ । ‘वि.सं. १९५८ वैशाख वदी ११ रोज २ को सनदमार्फत ‘गोर्खापत्र’ प्रकाशनको जिम्मेवारी पण्डित नरदेव पाँडेलाई दिइएको थियो । श्री ३ देवशमशेरले ‘गोर्खापत्र’ को प्रकाशनका लागि ‘अखबारवालालाई ७२०० रूपैयाँ र २ प्रेससमेत बक्सिएको’ भनी नेपाल संवत् १९५८ मिति ज्येष्ट वदी २ सोमबारको अङ्कमा ‘गोर्खापत्र’ ले लेखेको थियो । पुर्जी हेरी गोर्खाली अखबार एक हजार थान छापा गरी जारी गर्ने जिम्मा उहाँले पाउनुभएको थियो । त्यसबेला प्रिन्टलाइनमा सम्पादकको नाम छाप्ने चलन थिएन । पहिलो अङ्क नेपाल संवत् १९५८ ज्येष्टवदी ३ सोमबार अर्थात् १९५८ साल वैशाख २४ गते तदनुसार सन् १९०१ मे ६ तारिखका दिन छापियो । नेपाल संवत् लेखिए पनि त्यो विक्रम संवत् थियो । १९८४ वैशाख ६ गते सोमबारको अङ्कदेखि विक्रमीय संवत् लेख्न थालियो । हुन त त्यसपछि पनि पुनः नेपाल संवत् लेखिएका अङ्क फेला पर्छन् । केही कालपछि साल लेख्न थालियो । पहिलो अङ्कको पुछारको पृष्ठमा ‘कसैले मैले यो काम जानेको छु, जागिर पाउँ भनेर यस ठाउँमा मैले धाउपाञा भनी भन्न आया, दाम लिई छापी दिन्छौ, सरकारको र दुनियाँको फाइदा हुन्या कुरा छपाउन ल्याया छापी दिन्छौँ...’ भन्दै सम्पर्क नाम र ठेगाना उल्लेख गरिएको थियो, ‘पं. नरदेव, मोतीकृष्ण शर्मा, पशुपत–प्रेस, नेपाल ।’ पशुपत छापाखाना पहिले ठँहिटीमा थियो । पछि फसिकेबमा सरेको थियो । त्योबेला ‘गोर्खापत्र’ साप्ताहिक थियो ।’ (गोरखापत्र शैली पुस्तिका ।) देवशमशेरले सञ्चार विकासको अनुपम र नवीनतम सोच राखेर गोर्खापत्र सुरु गर्नुभयो तर चन्द्रशमशेरको उदयपछि ‘गोर्खापत्र’ सत्ताको छायामा पर्न पुग्यो ।
‘गोर्खापत्र’ का सन्दर्भमा देवशमशेरपछि ‘गोर्खापत्र’ लाई अघि बढाउने दायित्व सुधारक, प्रजातन्त्रवादी चिन्तक जयपृथ्वीबहादुर सिंहमाथि आइपुग्यो । विसं १९६० भदौ २२ गते बझाङका तत्कालीन राजा जयपृथ्वीबहादुर सिंहले गोरखापत्रको तालुकदारको जिम्मेवारी पाउनुभयो । उहाँ देवशमशेरका भाइ एवं तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका छोरीज्वाइँ हुनुहुन्थ्यो । विसं १९३४ मा जन्मिएका सिंह १९४६ मै बझाङ राज्यको राजा हुनुभयो । १९५१ सालमा चन्द्रशमशेरकी छोरीसँग विवाहपछि राणा परिवारसँग उहाँको सम्बन्ध जोडिएको थियो । १९५९ कात्तिकदेखि गोरखापत्रमा काम थालेका सिंहलाई एक वर्षपछि सम्पूर्ण जिम्मेवारी सुम्पिएको थियो । उहाँले गोरखापत्रलाई विविधतायुक्त बनाउनका लागि लेखरचना, समालोचना, नाटक र श्रष्टा उल्लेख नगरी पुस्तकका अंश प्रकाशित गर्नुभयो । उहाँले हातेप्रेस किनेर ल्याएपछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले सबै जिम्मेवारी जयपृथ्वीबहादुर सिंहलाई दिनुभयो । सुधारवादी विचारक सिंहले शिक्षा र चेतना फैलाउने कार्य अघि बढाउनुभयो । जुन कुरा राणाशासकलाई मन परेन र विसं १९७२ मा उहाँलाई गोरखापत्रको सम्पूर्ण जिम्मेवारीबाट हटाइयो । उहाँलाई हटाएर ‘सिंहबाट जिम्मेवारी झिकेर कर्णेल भूपालजङ्ग राणालाई तालुक गरिएको’ थियो । सिंहले गोरखापत्रको संरक्षण र संवर्धनमा ठुलो योगदान दिनुभयो । उहाँले नै भारतको कोलकाताबाट हातेप्रेस किनेर ल्याउनुभयो । गोरखापत्रलाई अझै आधुनिक र समयसापेक्ष बनाउने कार्यमा अहोरात्र खटिनुभयो । सिंहको विसं १९९७ मा भारतको बैङ्गलुरुमा निधन भयो । समाजवादी विचारक सिंहको कामको सम्मान गर्दै विसं २०५५ वैशाख २४ गते गोरखापत्र संस्थानको धर्मपथस्थित कार्यालयअगाडि उहाँको अर्धकदको सालिक निर्माण गरिएको छ ।
साप्ताहिकदेखि दैनिकसम्मको यात्रा
विसं १९५८ वैशाख १ वदी ११ रोज २ मा ‘गोर्खापत्र’ को प्रकाशन निमित्त व्यवस्था गर्ने सनदको निर्माण भएसँगै विसं १९५८ वैशाख २४ गते गोरखापत्र साप्ताहिक रूपमा प्रकाशन भयो । त्यतिबेला यसका तालुकवालको जिम्मेवारीमा पण्डित नरदेव पाण्डेय हुनुहुन्थ्यो । तालुकवाललाई व्यवस्थापकीय जिम्मेवारी प्रदान गरिएको थियो । पण्डित पाण्डेयपछि विसं १९६० भदौ २२ बाट जयपृथ्वीबहादुर सिंहलाई तालुकवाल तोकिएको अभिलेखमा देखिन्छ । सिंहले भाषासाधकको छवि निर्माण गरेकाले उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको थियो । गोरखापत्रको अभिलेख अनुसार विसं १९९१ जेठ ५ गते प्रकाशित अङ्कमा मात्रै सम्पादक प्रेमराज उल्लेख छ । त्यसअघि सम्पादकको नाम लिएको थिएन । यद्यपि गोरखापत्रको पहिलो अङ्कदेखि नै ‘एडिटरको राय’ शीर्षक राखेर सम्पादकीय लेखन गरिएको थियो । पहिलो प्रधान सम्पादकको जिम्मेवारी साहित्यकार, नाटककार बालकृष्ण समले समाल्नुभयो । उहाँले विसं २०१२ भदौ ३० देखि २०१४ असोज २३ सम्म प्रधान सम्पादक भई काम गर्नुभएको उल्लेख छ । त्यसपछि विसं २०१४ असोज २९ देखि २०१५ जेठ २० सम्म दोस्रो प्रधान सम्पादकको जिम्मेवारीमा टेकबहादुर खत्री अर्थात् साहित्यकार टेकबहादुर नवीन रहनुभयो । गोरखापत्रलाई साप्ताहिक, अर्धसाप्ताहिक र एकै सातामा तीन अङ्क प्रकाशन गर्दै दैनिकको आकार दिइएको हो ।
तस्बिर र विशेषाङ्क प्रकाशन आरम्भ
गोरखापत्र दैनिकमा अहिले हरेक अङ्कमा सरदर १५ वटाभन्दा बढी तस्बिर प्रकाशित हुन्छन् तर सुदूर इतिहास यस्तो पनि थियो कि अखबारमा तस्बिर प्रकाशन गर्नुलाई पत्रकारितामा नवीन रूपान्तरण र व्रmान्तिकै जगका रूपमा स्मरण गरिन्थ्यो । त्यो दिन थियो, विसं १९८४ वैशाख १३ गते । सोही दिनको गोरखापत्रको अङ्कको तेस्रो पृष्ठमा पर्साको वीरगन्जकी १२ वर्षीय सूर्यमती श्रेष्ठनीले चर्खामा धागो कातिरहेको तस्बिर छापियो । क्याप्सनसहितको उक्त तस्बिर प्रकाशनअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको तस्बिर छापिएको थियो तर तस्बिरमा परिचय उल्लेख थिएन । त्यसै गरी गोरखापत्रको सङ्ग्रह अनुसार विसं १९९८ भदौ १७ गते तत्कालीन राजा त्रिभुवन शाहको जन्मदिनको सन्दर्भ पारेर ‘उदयाङ्क’ शीर्षकमा प्रथम विशेषाङ्क प्रकाशन गरिएको थियो । त्यसबखत तत्कालीन राजाहरूको जन्मदिनलाई उत्सवका रूपमा मनाउने चलन थियो । यद्यपि अग्रज पत्रकार भैरव रिसालका अनुसार विशेषाङ्क प्रकाशन आरम्भ गर्ने कार्यले पत्रकारिताको श्रीवृद्धि गरेको छ । उहाँले भन्नुभयो, “गोरखापत्रले विशेषाङ्क प्रकाशन थालनी त्यतिबेला गरेको भए पनि त्यो पत्रकारिताका लागि कोसेढुङ्गा हो र अहिले विशेष अवसरमा विशेषाङ्क प्रकाशन गर्दा त्योबेला गरिएको कामको मूल्याङ्कन र सम्मान गर्नु पर्छ ।”
विसं २००० देखि गोरखापत्रमा समाचार सङ्कलन गर्न काठमाडौँ उपत्यकामा समाचारदाता नियुक्त गर्न थालियो । त्यसभन्दाअघि सरकारी निकायमार्फत समाचार प्राप्त हुन्थे । विशेषतः चिठीपत्रका रूपमा हुलाक र सिधा सम्पर्क गरेर समाचार सम्प्रेषणका लागि पठाउने चलन गरेको थियो । गोरखापत्रलाई समयानुकूल रूपान्तरण र परिमार्जन गर्ने सिलसिलामा विसं २०१९ असारदेखि शनिबारीय परिशिष्टाङ्कको प्रकाशन प्रारम्भ गरिएको हो । बिदाको दिनलाई सदुपयोग गर्न पाठकको रुचि अनुसारका फरक बिदाका सामग्री प्रकाशन गर्ने गरी परिशिष्टाङ्कको परिकल्पना गरियो । गोरखापत्र सातामा तीन दिन प्रकाशनपछि २०१७ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर दैनिक रूपमा प्रकाशनारम्भ गरिएकै दिन ‘राष्ट्रिय प्रजातन्त्र दिवस विशेषाङ्क’ प्रकाशित गरिएको थियो । गोरखापत्र दैनिक प्रकाशन आरम्भ भएका अवसरमा तत्कालीन राजा महेन्द्र शाहले शुभकामना सन्देश दिँदै ‘आजदेखि राष्ट्र सेवाका लागि प्रकाशित भएको सबभन्दा पुरानो नेपाली पत्रिका गोरखापत्रले दैनिक पत्रिकामा परिणत भै अघि बढेको खुशीको कुरा छ । यस पत्रिकाले अझ बढी मात्रामा राष्ट्र सेवा गर्न पूर्ण रूपेण सफल हुनेछ भन्ने हाम्रो शुभकामना छ’ भन्नुभएको छ । (गोरखापत्र दैनिक २०१७ पुस ७ गतेको अङ्क) । दैनिक प्रकाशन सुरु गर्दा प्रधान सम्पादक गोपालप्रसाद भट्टराई हुनुहुन्थ्यो । त्यसैको निरन्तरतास्वरूप प्रजातन्त्र दिवस, सङ्घीय लोकतान्त्रिक गणतन्त्र दिवस, आवधिक निर्वाचन विशेष, आर्थिक वर्षका बजेट विशेष, गोरखापत्रको वार्षिकोत्सव, सरकारका सय दिनसहित विशेष अवसरमा गोरखापत्र दैनिकले विशेषाङ्क प्रकाशन गरी पाठकलाई विशिष्ट शैलीका सामग्री प्रदान गर्दै आएको छ ।
सन्ध्याकालीन र विशेष संस्करण
गोरखापत्र दैनिकले इतिहासको यो कालखण्डमा विभिन्न किसिमका नवीनतम अभ्यास गर्दै आएको छ । विसं २०१९ कात्तिक २ देखि २०२२ असोज १२ सम्म गोरखापत्रको सन्ध्याकालीन संस्करण प्रकाशित गरिएको थियो । व्यवस्थापकीय पक्षलाई दृष्टिगत गरी २०२२ असोज १२ गतेपछि प्रातकालीन संस्करण प्रकाशनलाई निरन्तर दिने र समाचार सामग्रीलाई अझै परिष्कृत गर्ने लक्ष्य अनुसार काम अघि बढाएको थियो । विसं २०१० ताका गोरखापत्रले ‘विशेषपत्र’ प्रकाशन गरेको थियो । त्यसअघि नै साहित्यिक सामग्री प्रकाशन सुरु भइरहेको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पूर्णिमाको जलधि, १९९१’ र गोपालप्रसाद रिमालको ‘कविको गान, १९९२’ गोरखापत्रमा प्रकाशित भएका हुन् । त्यसताका गोरखापत्रले साहित्यकार र प्राज्ञिक क्षेत्रलाई विशेष स्थान दिएर नेतृत्वदायी भूमिकासमेत प्रदान गरेको पाइन्छ ।
ऐन र संस्थान स्थापना
विसं २०१९ मा गोरखापत्र संस्थान ऐन जारी भयो । विसं २०१७ चैत २२ गते प्रचार विभागका तत्कालीन निर्देशक नारायणप्रसाद बाँस्कोटाको अध्यक्षतामा ‘गोरखापत्र विकास बोर्ड’ को स्थापना भएको थियो । ऐनको व्यवस्था अनुसार २०२० असार २५ गते गोरखापत्र संस्थानको स्थापना भयो । पञ्चायतकालमा लागु भएको गोरखापत्र संस्थानको ऐनको पहिलो संशोधन २०२८ चैत २० गते भयो । त्यसै गरी सञ्चारसम्बन्धी केही नेपाल कानुन संशोधन ऐन, २०२९ असोज ५ गते; न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३ कात्तिक २४ गते; गोरखापत्र संस्थान (दोस्रो संशोधन) ऐन, २०४५ कात्तिक १० गते; सञ्चारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४७ कात्तिक १४ गते; सञ्चारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५५ असार १० गते; सञ्चारसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५७ माघ १८ गते र गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ माघ ७ गते जारी भएको छ । नेपाल कानुन आयोगका अनुसार ‘गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन’ लाई विसं २०६५ जेठ १५ देखि लागु गरिएको हो र यसमा भएको अधिराज्य शब्द झिकिएको छ । त्यसै गरी गोरखापत्र संस्थान कर्मचारी सेवा, सर्त विनियमावली, २०७८ अनुसार सेवा, समूह, तह, पद समायोजन गरी जम्मा ५४७ कर्मचारीको दरबन्दी निर्धारण गरिएको छ । जसमा विशिष्ट चार, ११ तहमा तीन, १० तहमा २०, नौ तहमा ४१, आठौँ तहमा ४१, सातौँ तहमा ५४, छैटौँ तहमा ९१, पाँचौँ तहमा १३८, चौथो तहमा २६, तेस्रो तहमा छ र श्रेणीविहीन १२३ गरी ५४७ जना कर्मचारीको दरबन्दीको व्यवस्था गरिएको छ ।
विसं १९५८ वैशाख वदी ११ रोज २ मा ‘गोर्खापत्र’ को प्रकाशन गर्न छाप्न हुने र नहुने विषय उल्लेख सनद जारी भएको थियो । भाषा, कला, साहित्य, धर्म, संस्कृति र रूपान्तरणका लागि ऐतिहासिक पथप्रदर्शकको काम गरेको गोरखापत्र राणा प्रधानमन्त्री जङ्गबहादुरले विसं १९०८ मा बेलायत भ्रमणबाट फर्किंदा साथै ल्याएको प्रेसबाट प्रकाशन आरम्भ भयो । जसलाई ‘गिद्धे प्रेस’ को नाम दिइयो । ‘गोर्खापत्र’ प्रकाशनको तयारी भइरहँदा दार्जिलिङबाट विसं १९५८ देखि नै ‘गोर्खे खबरकागज’ मासिक पत्रिका प्रकाशन भएको पाइन्छ । धर्म प्रचारमा केन्द्रित उक्त पत्रिका तीन दशकपछि पूर्ण रूपमा बन्द भयो । विसं १९६९ असार २९ को सनदले व्यवस्था गरेबमोजिम विद्युत्बाट सञ्चालित छापाखानामा गोरखापत्रको प्रकाशन भयो । जुन विद्युत्बाट चल्ने नेपालकै पहिलो छापाखाना हो ।
ऐतिहासिक शृङ्खला
गोरखापत्रले राज्य र जनताबिच पुलको काम गरिरहेको छ । जसका निम्ति धेरै ठुला सङ्घर्षशील शृङ्खला पार भएका छन् । ऐतिहासिक पक्षलाई दृष्टिगत गर्दा गोरखापत्र कैयौँ पत्रकार, सञ्चारकर्मी र कर्मचारीको पसिनाले बनेको इमारत हो । ऐतिहासिक आवश्यकता र परिस्थितिलाई दृष्टिगत गर्दै गोरखापत्रले दीर्घकालीन महत्वको निर्णय गर्दै आएको छ । जसको पछिल्लो उदाहरण ‘स्टप दी प्रेस’ हो । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको निधनको समाचार प्रकाशन गर्न ‘स्टप दी प्रेस’ गरिएको थियो । अर्थात एक पटक अखबार छापिएपछि राती नै अर्को अङ्क तयार गरेर छापिएको थियो, जसलाई पत्रकारिताको भाषामा ‘स्टप दी प्रेस’ भनिनन्छ । २०७२ माघ २५ गते उहाँको निधन भएको थियो । यसअघिका केही ऐतिहासिक घटनाक्रममा पनि हेरौँ, विसं १९९५ वैशाख २४ देखि गोरखापत्र दर्ता नम्बरसहित प्रकाशन भयो । गोरखापत्रको दर्ता नं. ००२ हो । विसं १९९४ देखि पत्रपत्रिका दर्ताको व्यवस्था लागु भयो । ‘शारदा’ मासिक पहिलो नम्बरमा दर्ता भयो, गोरखापत्र दोस्रो । विसं १९९७ साउनमा गोरखापत्रका लागि तस्बिर बनाउने मेसिनको व्यवस्था गरिएको थियो । भनिन्छ, उक्त मेसिनबाट एउटा तस्बिर तयार गर्न १२ घण्टासम्म लाग्थ्यो तर २०१९ देखि आधुनिक फोटो मेसिनको प्रयोग थालियो । त्यसै गरी २०१७ फागुन ७ गते दैनिक प्रकाशन सुरु हुनुअघि विसं २००३ पुस ८ देखि सोमबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन पटक गोरखापत्रको प्रकाशन हुन्थ्यो । विशेष गरी नागरिकका समस्या, राज्यका नीति प्रस्ट पार्नेसँगै अन्तर्राष्ट्रिय घटनाक्रमलाई पनि प्राथमिकताका साथ प्रकाशन गरेको पाइन्छ । नेपालमा ‘भाषोन्नति, जात्रा, बर्खे बाटो सुध्य्रिो, चोर भरिया’ (२००० असोज २९ गते शुक्रबार ।) आदि समाचार प्रकाशित भएको पाइन्छ । जनजीविकाका सवाललाई समेट्नु अखबारको मूल धर्म हो । जुन गोरखापत्रले पूरा गर्दै आएको थियो । त्यसै गरी ‘जापानमा ठुलो भूकम्प र सामुद्रिक लहर– ९००० घर भक्ते, २०,००० मानिस गृहविहीन भए’ । (२००३ पुस ८ गते सोमबार ।) विसं २०१२ भदौ ३० गते बालकृष्ण सम गोरखापत्रको प्रधान सम्पादकमा नियुक्त हुनुभयो । उहाँकै नाम गोरखापत्रको पहिलो प्रधान सम्पादक रूपमा उल्लेख छ । उहाँ २०१४ असोज २३ सम्म गोरखापत्रको सम्पादकीय नेतृत्वमा रहनुभयो । दैनिक अखबार हुनुअघि २०१७ साउन १९ देखि गोरखापत्रमा राजमुकुट छाप्न सुरु गरिएको थियो । गोरखापत्रको सम्पादकीयभन्दा माथिको भागमा राजमुकुट र तत्कालीन राजाका भनाइ प्रकाशित हुन्थे । २०६३ जेठ ३ देखि राजमुकुट र तत्कालीन राजाका भनाइ समावेश गर्न बन्द गरियो । विसं २०२१ असोजदेखि गोरखापत्र संस्थानको अङ्ग्रेजी भाषामा ‘दी नेप्लिज पर्सपेक्टिभ’ साप्ताहिक प्रकाशन भयो । ‘दी नेप्लिज पर्सपेक्टिभ’ साप्ताहिक २०३२ सम्म प्रकाशन भयो ।
२०२२ पुस १ गते : ‘दी राइजिङ नेपाल’ दैनिक प्रकाशन सुरु । प्रारम्भमा छ पृष्ठ प्रकाशन, अहिले आठ पृष्ठ र शुक्रबार ‘फ्राइडे सप्लिमेन्ट’ पनि प्रकाशन । ‘दी राइजिङ नेपाल’ को पहिलो सम्पादकको वरुणशमशेर राणालाई दिइएको थियो ।
२०२५ जेठ : ‘मधुपर्क’ प्रकाशन आरम्भ । साहित्यिक मासिक ‘मधुपर्क’ गोरखापत्र संस्थानको तेस्रो प्रकाशन ।
२०३३ : संस्थानका प्रकाशन सङ्ग्रह गर्ने उद्देश्यले ‘डकुमेन्टेसन तथा सूचना शाखा’ स्थापना ।
२०३६ जेठ ९ गते : काठमाडौँमा विद्यार्थीको प्रदर्शनका दौरान प्रहरी हस्तक्षेपपछि गोरखापत्र संस्थानमा आगलागी ।
२०३६ जेठ ११ गते : तत्कालीन राजा वीरेन्द्र शाहद्वारा गोरखापत्र संस्थानको निरीक्षण ।
आर्थिक वर्ष २०३७/३८ मा संस्थानका प्रकाशन गर्नका लागि वेब अफसेट मेसिन खरिद ।
२०४५ असार : २०४५ वैशाखमै प्रारूप सार्वजनिक गरिएको संस्थानको चौथो प्रकाशन ‘युवामञ्च’ प्रकाशन आरम्भ ।
विसं २०४५ भदौ : गोरखापत्रका साथमा प्रत्येक शुक्रबार ‘रमाइलो शुक्रबार’ को प्रकाशन । केही महिनापछि ‘रमाइलो शुक्रबार’ बन्द ।
२०४७ वैशाख ९ गते : पाँचौँ प्रकाशन अङ्ग्रेजी साप्ताहिक ‘सण्डे डिस्प्याच’ को प्रकाशन । आइतबार प्रकाशित हुने अखबार कालान्तरमा बन्द ।
२०४७ पुस : बाल मासिक ‘मुना’ प्रकाशन थालनी ।
२०५५ वैशाख २४ गते : संस्थानको प्राङ्गणमा जयपृथ्वीबहादुर सिंहको प्रतिमा अनावरण । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा संस्थानको कान्छो प्रकाशन ‘मनोरम अप्सरा’ विमोचन । साथै पारिवारिक सामग्री प्रकाशन हुने ‘मनोरम अप्सरा’ २०५७ मङ्सिर ८ को निर्णयपछि प्रकाशन स्थगन । तत्कालीन कार्यकारी अध्यक्ष शिव अधिकारीको पालामा प्रकाशन आरम्भ भएको ‘मनोरम अप्सरा’ को पहिलो सम्पादक रमेश तिवारी ।
गोरखापत्र संस्थानमा बम विस्फोट : २०५६ वैशाख ५ गते राति करिब २ बजे संस्थानको दोस्रो तलामा बम विस्फोट हुँदा दुई लाख रुपियाँ बराबरको क्षति । २०५६ वैशाख ९ गते संस्थानको प्रशाखा कार्यालय विराटनगरमा बम विस्फोट हुँदा भवनमा सामान्य क्षति ।
गोरखापत्रका शतक : २०५७ वैशाख २४ देखि नेपालको जेठो अखबार ‘गोरखापत्र’ एक सय वर्षमा प्रवेश । शताब्दी वर्ष मनाउने नेपालको पहिलो अखबार ।
२०५९ : गोरखापत्र अनलाइन संस्करण आरम्भ । धधध।नयचपजबउबतचब।यचन।लउ डोमेननेमबाट सुरु ।
२०६९ मङ्सिर : नयाँ डोमेन नेम
धधध।नयचपजबउबतचबयलष्लिभ।अयm डोमेनबाट प्रकाशन ।
२०७६ सालमै अनलाइन विभाग गठन । २०७६ असारमै गोरखापत्र अनलाइनको सम्पादकमा रामप्रसाद हुमागाईंको नियुक्त । नयाँ लेआउटमा सञ्चालन । २०७६ भदौ २४ गते : सूचना विभागमा दर्ता ।
२०५९ असार १० गते : गोरखापत्रको रङ्गीन छपाइ आरम्भ । २०६४ असोज १ गते : ‘नयाँ नेपाल’ पृष्ठ शीर्षक अन्तर्गत राष्ट्रभाषामा समाचार सामग्री प्रकाशनको सुरुवात । अहिले ४४ भाषामा समाचार सामग्री प्रकाशन हुँदै ।
२०७१ असोज : अत्याधुनिक वेब अफसेटबाट छपाइ थालियो । आठ पृष्ठ रङ्गीन र आठ पृष्ठ श्यामश्वेत गरी एकै पटक १६ पृष्ठ छाप्न थालियो ।
२०७३ जेठ : सिटुपी (कम्प्युटर टु प्लेट) मेसिन खरिद गरी जडान ।
२०७२ असोज ३ गते : संविधान सभाबाट ‘नेपालको संविधान–२०७२’ जारी भएको उपलक्ष्यमा संविधान दिवस विशेषाङ्क प्रकाशन ।
२०७२ फागुन १७ गते : राष्ट्रिय पत्रकारिता दिवस मनाउने घोषणा ।
राष्ट्रिय पत्रकारिता दिवस राष्ट्रिय पत्रकारिता दिवस २०७२ फागुन १७ गते सोमबार बसेको मन्त्रीपरिषद्को बैठकद्वारा गोरखापत्र प्रकाशन सुरु भएको दिन वैशाख २४ लाई ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउने घोषणा ।
प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३ का अवसरमा नेपाल पत्रकार महासङ्घ र गोरखापत्र संस्थानद्वारा छुट्टाछुट्टै कार्यक्रम । संस्थानद्वारा राष्ट्रियस्तरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एक जना पत्रकारलाई हरेक वर्ष वैशाख २४ मा प्रदान गर्ने गरी ५५ हजार ५५५ रुपियाँ राशिको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३’ को घोषणा ।
२०७३ वैशाख २४ गते : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय पत्रकारिता दिवसको शुभारम्भ । पहिलो राष्ट्रिय पत्रकारिता दिवस वैशाख २४ को संस्मरणमा संस्थानले नेपाल राष्ट्र बैङ्कको सहयोगमा चाँदीकोे सिक्का प्रकाशन गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्नुभएको उक्त सिक्काको एकापट्टि गोरखापत्रको ११६ औँ गौरवमय वर्ष, गोरखापत्रको पहिलो अङ्क र रु २,०००/– र अर्कातर्फ सगरमाथाको आकृतिमुनि प्रथम राष्ट्रिय पत्रकारिता दिवस–२०७३ अङ्कित स्मारिका प्रकाशित थियो ।
२०७६ असोज ३ गते : संविधान दिवसका सन्दर्भमा विराटनगरबाट प्रदेश १ र २ का लागि विराटनगर संस्करण आरम्भ ।
२०७६ फागुन ७ गते : कोहलपुरबाट ‘कोहलपुर संस्करण’ थालनी । सातै प्रदेशमा क्षेत्रीय संयोजक नियुक्त ।
२०७७ असोज ३ गते : संविधान दिवसका अवसरमा गोरखापत्रको छपाइमा थप आधुनिकीकरण । एकै पटक १२ पृष्ठ रङ्गीन र १२ पृष्ठ श्यामश्वेत गरी २० पृष्ठ एकैपटक छपाइ । ‘मधुुपर्क’, ‘युवामञ्च’ र ‘मुना’ मासिकको छपाइ गर्न प्रतिघण्टा १४ हजार प्रति छपाइ गर्न सक्ने ‘सिटफेट’ मेसिन जडान ।
सन्दर्भ सामग्री
- गोरखापत्र दैनिकको पहिलो अङ्कसहित विशेष सन्दर्भका अङ्क ।
- गोरखापत्र शतवार्षिकी स्मारिका, २०५७ ।
- गोरखापत्र शैली पुस्तिका । २०७८
लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।