काठमाडौँ, फागुन २१ गते । संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, समुन्नति, आर्थिक विकास, पारदर्शी सेवा प्रवाह र समग्र रूपान्तरणको मूल मुद्दाकेन्द्रित प्रतिनिधि सभा निर्वाचनको उल्लास देशैभर छाएको छ । सुशासन, रोजगारी र जवाफदेही नेतृत्वका पक्षमा भएको भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) पुस्ताको आन्दोलनको कार्यादेश अनुसार बिहीबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान हुँदै छ ।
प्रत्यक्षतर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी २७५ प्रतिनिधि सभा सदस्य पदका लागि मतदान हुने छ । संविधान जारी भएको एक दशक पूरा हुनै लाग्दा तय भएको प्रतिनिधि सभा निर्वाचनले देशलाई नवीन रूपान्तरणको मार्गतर्फ अघि बढाउने अपेक्षा गरिएको छ । मतदानस्थलमा प्रवेश गर्ने तयारीमा रहेका मतदाता, राजनीतिक दलमा आबद्ध नभएका सामाजिक अभियन्ता र जेनजी आन्दोलनको अगुवाइ गरेका अभियन्ताले प्रतिनिधि सभा निर्वाचनमार्फत वास्तविक रूपमै नयाँ नेपाल निर्माणका लागि नवीन अठोट र जनादेश प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
जेनजी आन्दोलनका अगुवा, सामाजिक अभियन्ता मोनिका निरौला, काठमाडौँ कागेश्वरी मनोहरा वडा नं. ९ निवासी शिक्षासेवी घनश्याम दाहाल र काठमाडौँ क्षेत्र नं. ८ का मतदाता विमला महर्जनले प्रतिनिधि सभा निर्वाचन सुशासन, आर्थिक विकास, स्वदेशमै रोजगारी सिर्जना, प्रविधिको विकास, समुन्नतिसहित देशलाई युगीन रूपान्तरणका पक्षमा अघि बढाउन ऐतिहासिक प्रस्थानबिन्दु हुन सक्ने अपेक्षा व्यक्त गर्नुभयो । त्यसै गरी मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था माइती नेपालका अध्यक्ष अनुराधा कोइराला र रक्षा नेपालका अध्यक्ष मेनुका थापाले सुशासन, पारदर्शी राज्य प्रणालीसँगै जवाफदेही नेतृत्व छान्न र ५१ प्रतिशतभन्दा बढी जनसङ्ख्या ओगटेका महिलाको सुरक्षा र स्वरोजगारीका पक्षमा काम गर्ने नेतृत्व निर्वाचनबाट आउने विश्वास व्यक्त गर्नुभयो ।
‘सुशासनको प्रत्याभूति हुनु पर्छ’
सामाजिक अभियन्ताहरूले भ्रष्टाचार अन्त्य गरी सुशासनको प्रत्याभूति दिनु अबको संसद् र सरकारको दायित्व हुने बताउनुभयो । अभियन्ता मोनिका निरौलाले प्रतिनिधि सभा निर्वाचन धेरै कारणले ऐतिहासिक बन्ने बताउनुभयो । उहाँले सङ्व्रmमणकालीन अवस्थाबाट देशलाई निकास दिँदै लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सुदृढ बनाउनुपर्ने दायित्व अबको संसद्लाई हुने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनपछि आउने संसद्सँगै सरकारको धेरै जिम्मेवारी हुन्छन् । देशलाई यथास्थितिबाट गतिशीलतातिर अगाडि बढाउनुपर्ने छ । त्यसैले ऐतिहासिक जिम्मेवारी बोकेको संसद् आउँछ ।”
शिक्षासेवी दाहालले प्रतिनिधि सभा निर्वाचनसँग सुशासन, आर्थिक विकास र समुन्नति जोडिएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा निर्वाचन विगतभन्दा फरक परिस्थितिमा भएकाले यसले देशको भाग्य र भविष्य बदल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशलाई अग्रगामी रूपान्तरणतर्फ लैजाने निर्वाचन हो यो । त्यसैले प्रगतिशील र रूपान्तरणको विचार बोल्ने उम्मेदवार आउनु पर्छ । र देशको अर्थतन्त्र, शैक्षिक, सामाजिक, सांस्कृतिकसहित सबै क्षेत्रमा सुधारको थालनी हुनु पर्छ ।”
प्रतिनिधि सभा निर्वाचनपछि बन्ने संसद् र सरकारले राज्यका प्रत्येक निकायमा हुने भ्रष्टाचार न्यूनीकरण गरी सुशासनको प्रत्याभूति हुनुपर्ने मतदाताको भनाइ छ ।
मतदाता विमला महर्जनले नागरिकको अधिकार र राज्यको दायित्व बुझ्ने, समन्वय गर्न सक्ने सांसद् आए देशले निकास पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “सांसदले मतदाताको भावना बुझ्नु पर्छ । नागरिक आवश्यकता बुझेर मार्गचित्र बनाएर पाँच वर्षमा देशलाई समृद्धिको उचाइमा पु¥याउने सोच बोकेर संसद्मा प्रवेश गर्नु पर्छ ।”
महिलाको सुरक्षा र रोजगारी
माइती नेपालका अध्यक्ष अनुराधा कोइराला र रक्षा नेपालका अध्यक्ष मेनुका थापाले ५१ दशमलव ०२ प्रतिशत जनसङ्ख्या ओगटेका महिलाको सुरक्षा र रोजगारीका लागि संसद्ले काम गर्नुपर्ने बताउनुभयो । अध्यक्ष कोइरालाले भन्नुभयो, “म महिलाको सुरक्षाका लागि लडाइँ गरिरहेको छु, सङ्घर्ष गरिरहेको छु । त्यसैले बालिकाका लागि सुरक्षित वातावरण बनोस् । देशैभरिका किशोरी र महिलाको सुरक्षा सुनिश्चित होस् । हाम्रो अपेक्षा त्यही हो ।”
अध्यक्ष थापाले नीति नियम बनाउँदा महिलालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले महिलाको प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य सबल बनाउने नीति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबल महिलाको गर्भबाट जन्मिने सन्तान निरोगी र ओजिला हुने छन् । उनीहरू राष्ट्रका लागि काम गर्न प्रेरित हुने छन् । अनि मात्रै सबल जनता, समृद्ध राष्ट्रको नाम यथार्थ हुने छ । जनता निरोगी र सबल हुनु नै राष्ट्र सबल हुनु हो ।”
सक्षम नेतृत्व, राष्ट्रको उन्नति
सामाजिक अभियन्ता निरौलाले सक्षम नेतृत्व आए मात्रै राष्ट्रको उन्नति सम्भव हुने बताउनुभयो । उहाँले सार्वजनिक संस्थालाई बलियो बनाउने, गणतन्त्र संस्थागत गर्ने, सङ्घीयता कार्यान्वयन गर्न प्रहरी ऐन, निजामती सेवा ऐनसहित अत्यावश्यक कानुन बनाउने र नागरिकका अपेक्षा पूरा गर्ने संसद् चाहिने बताउनुभयो । उहाँले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका एवं संवैधानिक निकायलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा संरचनालाई संस्थागत गर्ने नेतृत्व निर्वाचनबाट आउनु पर्छ ।”
अभियन्ता मेनिका थापाले भूराजनीति र परराष्ट्र सम्बन्धमा सन्तुलन कायम गर्न सक्ने र नीति बदलेर थिति बसाल्ने सांसद् आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नवयुवा पुस्ताको भावना बुझ्ने, इमानदार, विचारप्रधान, परिपक्व, आत्मविश्वासी र देशभक्त नेतृत्वको खोजी निर्वाचनले गर्ने छ ।”
शिक्षासेवी दाहालले कर्मचारीतन्त्रलाई सन्तुलनमा राखेर राज्य सञ्चालन गर्ने नेतृत्व निर्वाचनबाट आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संसद् र सरकारले पूर्ण रूपमा डिजिटल सरकारको अवधारणामा काम गर्नु पर्छ । आर्थिक रूपमा पारदर्शी राज्य प्रणाली बन्नु पर्छ । राजनीतिक नेतृत्वसँगै कर्मचारीतन्त्रमा देखिएको विकृतिलाई पूर्णतः बन्देज गर्नु पर्छ ।”
मतदाता महर्जनले अब देशले निकास पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नीतिगत, प्रणालीगत सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिक निर्वाचनले महìवपूर्ण कार्यादेश लिँदै छ । नागरिकको विश्वासलाई काममार्फत प्रमाणित गर्नुपर्ने समय आएको छ ।”