• ११ फागुन २०८२, सोमबार

काठमाडौँ– २ मा चुनावी सरगर्मी

खानेपानी र बाढी मुख्य समस्या

blog

काठमाडौँ, फागुन ११ गते । काठमाडौँको कागेश्वरी मनोहरा वडा नं. ८ गोठाटारका राधेश्याम शर्मा भण्डारी भोट माग्न आउने उम्मेदवारलाई प्रश्न गर्नुहुन्छ, “मेलम्ची आयोजनाको खानेपानी कहिले आउँछ ?” उहाँको प्रश्न पूरा हुन नपाउँदै उम्मेवादहरूको जवाफ हुन्छ,  “निर्वाचनमा विजयी भएपछि पहल गर्छु ।”

तर गोठाटारमा स्थानीयवासी भण्डारी उम्मेदवारको प्रतिबद्धतामा विश्वस्त हुनुहुन्न । उहाँले भन्नुभयो, “हामीलाई पानीको समस्या छ । २०७९ कै निर्वाचनमा मेलम्ची आयोजनाको खानेपानीका लागि पहल गर्ने भनेका उम्मेदवार अहिलेको निर्वाचनमा आएनन् । जसले यो काम गर्छ, त्यही उम्मेदवारलाई मत दिने हो ।” तर उहाँले अहिलेसम्म कसलाई मत दिने भनेर निर्णय गरिसक्नुभएको छैन ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको सरगर्मीले काठमाडौँ क्षेत्र नं. २ का स्थानीयवासीलाई पनि छोइसकेको छ । ८८ हजार ७०८ मतदाता रहेको काठमाडौँ क्षेत्र नं. २ मा वर्षायाममा बाढीको प्रताडना सहनुपर्ने बाध्यताबाट मुक्ति चाहने स्थानीयवासीले व्यवस्थित बसोबासको मुद्दा पनि उम्मेदवारलाई ध्यानाकर्षण गराए । 

काठमाडौँ महानगरपालिका–३२ सँगै कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ८ र ९ तथा शङ्खरापुर नगरपालिका वडा नं. १ देखि ९ सम्म पर्ने काठमाडौँ क्षेत्र नं. २ का स्थानीयवासीले खानेपानी, धुलाम्मे सडक, स्वास्थ्यमा पहुँच र शिक्षामा सहुलियतसहितका विषय उठाए । 

प्रमुख दलबिच प्रतिस्पर्धा 

काठमाडौँ क्षेत्र नं. २ मा विघटित प्रतिनिधि सभाका प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित १६ दल र १२ स्वतन्त्र गरी २८ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनबाट पूर्वसभापति ओनसरी घर्तीमगर उम्मेदवार भए पनि रास्वपा उम्मेदवार सोविता गौतम निर्वाचित हुनुभएको थियो । यस पटक कांग्रेसले प्रभावशाली युवा नेता एवं क्षेत्रीय सभापति कबिर शर्मालाई उम्मेदवार बनाएको छ । ३७ वर्षीय शर्मा पहिलो पटक उम्मेदवार बन्नुभएको हो । नेकपा (एमाले) का नेता मणिराम फुयाँलले पुनः उम्मेदवारी दिनुभएको छ । ६० वर्षीय फुयाँल २०७४ मा प्रदेश सभा सदस्य र २०७९ मा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । नेपाली कम्युनिस्ट पार्टीले नीतेश पौडेललाई उम्मेदवार बनाएको छ । युवा राजनीतिज्ञ ३८ वर्षीय पौडेल पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको हो । रास्वपाले नेता सुनील केसीलाई उम्मेदवार बनाएको छ । सामाजिक कार्यमा सक्रिय ४३ वर्षीय केसीले २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभामा प्रतिनिधि गर्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृ ३८ वर्षीय कुन्तीदेवी पोखरेल (उपाध्याय) लाई पुनः उम्मेदवार बनाएको छ । 

त्यसै गरी नेकपा (संयुक्त) का उपेन्द्र कार्की, नेपाल मजदुर किसान पार्टीका शर्मिला माली, त्रिमूल नेपालका कृष्णबहादुर खत्री, आमजनता पार्टीका तिलकबहादुर मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय परिवर्तन पार्टीका अनुप बोहोरा, जय मातृभूमि पार्टीका आनन्द सिंखडा, श्रम संस्कृति पार्टीका मुकुन्द कार्की, नेकपा (माओवादी) का प्रकाश बुढाथोकी, उज्यालो नेपाल पार्टीका पवन पोखरेल, राष्ट्रिय मुक्ति पार्टी नेपालका नर्वदाकुमारी भट्टराई उम्मेदवार हुनुहुन्छ । त्यसै गरी रूपक सिंखडा, अर्जुन ढुङ्गाना, तीर्थराज पौडेल, टपबहादुर थापा, सीता तिवारी, रूपक बस्ताकोटी, राजकुमार श्रेष्‍ठ, त्रिलोकबहादुर चन्द, मञ्जु लामा, इरा श्रेष्‍ठ, विश्वास बस्नेत र वीरेन्द्रकुमार साहले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । 

स्थानीयसँगै राष्ट्रका मुद्दा 

घरदैलो कार्यक्रम र सभामा व्यस्त उम्मेदवार मतदातामाझ आफ्नो पक्षमा माहोल बनाउन प्रयासरत छन् । मतदाताका माग, गुनासा र अपेक्षा टिपोट गर्दै मत मागिरहेका उम्मेदवारहरू राजनीतिक छलफलभन्दा स्थानीय विकासका पक्षमा काम गर्ने बताइरहेका भेटिन्छन् । कांग्रेस क्षेत्रीय सभापति एवं उम्मेदवार कबिर शर्माले मतदातासँग संवाद गर्ने, गुनासा सुन्ने, नागरिकले उठाएका मुद्दामा योजना बनाउने कार्य भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मतदाताको गुनासो प्रायः उस्तै छन्, निर्वाचनमा जितेर गएपछि कोही पनि फर्किएर नआएको र विकासनिर्माणका सन्दर्भमा गरेका प्रतिबद्धता पूरा नगरेको गुनासो छ । यी विषय सम्बोधन गर्ने प्रतिबद्धताका साथ जनविश्वास जित्ने प्रयासमा छु ।” युवा नेता शर्माले दिगो पूर्वाधार विकास, स्थानीयको जीवनमा सहुलियत, मानव संसाधन विकास एवं कागेश्वरी मनोहरा नगरपालिका र शङ्खरापुर नगरपालिकालाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने, मनोहरा किनारालाई व्यवस्थित गर्ने विषयलाई प्राथमिकतामा राख्नुभएको छ । 

एमाले उम्मेदवार मणिराम फुयाँलले साँखु–जहरसिंह पौवा–नाङ्लेभारे सडकलाई रणनीतिक सडकका रूपमा निर्माण सम्पन्न गर्ने, लप्सीफेदीदेखि जहरसिंह पौवाबिचको जङ्गल क्षेत्रमा मानव क्षति रोक्न मोड सुधार गर्ने योजना बनाउनुभएको छ । उहाँले कोटेश्वर र तीनकुने सडकको ट्राफिक जामलाई सरलीकरण गर्न प्राविधिक सल्लाहबमोजिम सुरुङ मार्ग निर्माणका लागि समन्वय गर्ने बताउनुभयो । उहाँले साँखु र अन्य नगरलाई पर्यटकीय सम्पदा बस्तीमा परिणत गरी स्थानीय जनताको सुझावका आधारमा अन्य आवश्यक कार्य गरिने बताउनुभयो । 

नेपाली कम्युनिस्ट पार्टीका नीतेश पौडेलले सडक, यातायात र ट्राफिक व्यवस्थापनको सुधार, हरेक घरमा शुद्ध खानेपानी, सार्वजनिक विद्यालयको गुणस्तर वृद्धि र प्राविधिक तथा सिपमूलक शिक्षाको विस्तार, स्वास्थ्य बिमा प्रभावकारी कार्यान्वयन र सुदृढ अस्पताल सेवा र ज्येष्ठ नागरिक, महिला र बालबालिकाका लागि विशेष स्वास्थ्य कार्यक्रम र वातावरण संरक्षण, नदी व्यवस्थापन र हरित विकास प्राथमिकतामा राखेको बताउनुभयो । रास्वपाका उम्मेदवार सुनील केसीले सुशासनसँगै धार्मिक, सांस्कृतिक विकास, रोजगारी सिर्जना र कृषि क्षेत्रको विकासमा ध्यान दिने बताउनुभयो । उहाँले सडक, स्वास्थ्य, शिक्षासहित अन्य भौतिक पूर्वाधार विकाससँगै कानुन निर्माणमा ध्यान दिने बताउनुभयो । राप्रपा उम्मेदवार कुन्तीदेवी पोखरेलले नागरिकका आवश्यकता, धार्मिक पर्यटन प्रवर्धन, स्थानीय उत्पादन प्रवर्धन, कृषि क्षेत्रको प्रवर्धन र बजारको व्यवस्थापनसहितका विषयमा ध्यान दिने बताउनुभयो ।