• २६ फागुन २०८२, मङ्गलबार

तोडियो ‘बहुमत आउँदैन’ भन्ने भाष्य

blog

काठमाडौँ, फागुन २५ गते  । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्षतर्फ कुल १६५ मध्ये १६४ क्षेत्रको मतगणना हुँदा १६१ क्षेत्रको परिणाम घोषणा भइसकेको छ । निर्वाचन आयोगले घोषणा गरेको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ सिटमा विजय हासिल गरेको छ । 

आइतबार राति ११ बजेसम्मको परिणाम अनुसार रास्वपाले १ क्षेत्रमा अग्रता लिइरहेको छ । समानुपातिकतर्फ पनि रास्वपाले ५० प्रतिशतभन्दा बढी मतसहित अग्रता लिएको छ । यससँगै प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली भएकै कारण कुनै राजनीतिक दलको बहुमत नआउने भन्ने भाष्य पनि तोडिएको छ । संविधान जारी भएपछि विघटित प्रतिनिधि सभाका प्रमुख दलबिच निर्वाचनमा गठबन्धन र तालमेल हुँदै आएको थियो । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ सिटमा विजयी भएको छ । एक स्थानमा अग्रता रहेको कांग्रेस समानुपातिक मततर्फ पनि दोस्रो स्थानमै छ । नेकपा (एमाले) ले प्रत्यक्षतर्फ आठ सिटमा विजय प्राप्त गरेको छ । एमालेका एक क्षेत्रमा अगाडि छ ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फ सात सिटमा विजय हुँदै समानुपातिकतर्फ चौथो स्थानमा मत पाइरहेको छ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टी समानुपातितर्फको थ्रेसहोल्ड कटाउन सङ्घर्षरत छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा एक र एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । 

समानुपातिकमा रास्वपा धेरै अगाडि 

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ६३ लाख १८ हजार ५५७ मत गणना भएको छ । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३० लाख ८८ हजार ४५५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १० लाख ४२ हजार १७१ मत प्राप्त गरेको छ । नेकपा (एमाले) ले ८ लाख ९२ हजार ७१२ नेपाली कम्युनिस्ट पार्टीले ४ लाख ३८ हजार ६२ राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख २० हजार ५६९ र श्रम संस्कृति पार्टीले १ लाख ७६ हजार ३४९ मत प्राप्त गरेका छन् । यी छ वटा पार्टीबाहेक अन्यले कुल सदर मतको ३ प्रतिशत ल्याउने वा थ्रेसहोल्ड कटाउने सम्भावना कम देखिएको छ । किनकि समानुपातिकतर्फको करिब ५५ प्रतिशत मतगणना भइसकेको छ । यति मतगणना भइसक्दा सातौँ स्थानमा रहेका जनता समाजवादी पार्टी नेपालले ८४ हजार ९२९ र आठौँ स्थानमा रहेका राष्ट्रिय परिवर्तन पार्टीले ७३ हजार ३०२ मत पाएका छन् । जब कि यस पटक थ्रेसहोल्ड कटाउन करिब तीन लाख हाराहारी मत ल्याउनुपर्ने हुन्छ ।