• १४ कात्तिक २०८२, शुक्रबार

भिजेको धान स्याहार्दै किसान, खेतमै उम्रिने चिन्ता

blog

पानीमा भिजेको धान अग्लो स्थानमा सुकाउँदै किसान किरण श्रेष्ठ । तस्बिरः लीलाधर वली

लीलाधर वली

घोराही, कात्तिक १४ गते । खेतमा पाकेको धान काटेर घर भित्र्याउने तयारीमा रहेका किसान वर्षाका कारण भिजेपछि समस्यामा परेका छन् । मोन्था चक्रवातको प्रभावका कारण कात्तिक ११ गतेदेखि परेको पानीले काटेको धान खेतमै भिजेपछि वर्षभरको मेहनत खेर जाने हो कि भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ ।

पाकेको धान घरमा भित्र्याउन काटेर दाउने तयारीमा रहेका बेला पानीले भिजाएपछि अहिले घोराही उपमहानगरपालिका –१६ खिरिट्टे निवासी किरण श्रेष्ठलाई भिजेको धान कसरी बचाउने भन्ने समस्याले सताउने गरेको छ । 

उहाँका अनुसार १७ कठ्ठा खेतमा रोपेको धान बिहीवारदेखि भिजेको छ । पानीमा भिजेको धानलाई खेतबाट ओभानो ठाउँमा सार्ने काम गरिरहनुभएका किसान श्रेष्ठले भन्नुभयो, “पानीका कारण खेतमै धान उम्रिन्छ कि भन्ने चिन्ता थपिएको छ ।’’ पानीका कारण धान भिज्नेसँगै पराल समेत कुहिने भएका कारण पशुपालनका लागि समेत समस्या हुने बताउनुहुन्छ । 

उहाँको जस्तै घोराही –६ चोरगाउँ निवासी किसान चिरन्जीवी चौधरीको करिब १८ कठ्ठा जग्गामा काटेको धान तीन दिनदेखि पानीमा भिजिरहेको छ । तिहार मानेर हतार–हत्तार गरेर काटेको धान बिहीवारदेखि पानीको डुवानमा परेको बताउनुभयो । वर्षाका कारण खेतभरी पानी भएका कारण धानलाई अन्यत्र सार्न समेत नसकेको भन्दै किसान चौधरीले भन्नुभयो, “अहिले पानी पर्न छोडेकाले भिजेको धानलाई अग्लो ठाउँमा सारेर सुकाउनेसँगै जमेको पानीलाई कुलो बनाएर बगाउने गरेका छौ ।’’ 

ठुलो परिवार हुने र थोरै खेती गर्नेले खेतमै धानलाई एक ठाउँमा जम्मा गरेर प्लास्टिकले छोपेर बचाउने काम गरे पनि धेरै धान भएका कारण आफूले नसकेको उहाँ बताउनुहुन्छ ।

वर्ष दिनभरि परिवारका लागि आवश्यक पर्ने धान घरमा भित्र्याउने बेला परेको पानीले ठुलो समस्या गरेको घोराही –६ पन्यपुरकै किसान पूर्णबहादुर बस्नेत बताउनुहुन्छ । पाकेको धान खेतमै भिजेर उम्रिने अवस्था भएपछि मेहनत खेर जाने चिन्ता थपिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “वर्षभरि खाने अन्न स्याहार्ने बेलामा पानी पर्दा खेतमै धान उम्रिने डर छ, काटेको धानलाई कसरी बचाउने केही उपाय छैन ।’’ खेतमा भिजेको धानलाई उठाएर आलीमा राख्ने काम गरे पनि वर्षा भइरहेका कारण सुक्न नपाएको बताउनुहुन्छ ।  

कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवं कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा करिव २५ देखि ३० प्रतिशत किसानको तयारी अवस्थामा रहेको धान वर्षाका कारण भिजेको बताउनुहुन्छ । पहिले रोपेको धान किसानले भित्र्याए पनि पछि रोपेको धान किसानले तिहारपछि काटेको र लगत्तै पानी पर्दा भिज्न गएको बताउनुभयो । 

उहाँका अनुसार जिल्लामा ३७ हजार दुईसय २० हेक्टर धान खेती हुने जमिनमध्ये यस वर्ष ३६ हजार ४ सय ८० हेक्टर जमिनमा धान खेती भएको थियो ।